मौन छ जिल्ला प्रशासन

|

गोरखा : देशमा दिनप्रतिदिन कोरोना संक्रमण फैलिरहेको भन्दै सरकारले अत्यावश्यक कामबाहेक भिडभाड नगर्न सबैलाई आग्रह गरेको छ।

पछिल्लो समय नेपालमा समुदायस्तरमै कोरोना फैलिन थालेपछि यतिबेला एकसँग अर्को व्यक्ति तर्केर हिँड्नुपर्ने अवस्था छ।

तर, यस्तो समयमा पनि नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडी, नेपाली कांग्रेस गोरखाका सचिव नन्दप्रसाद न्यौपाने लगायतको उपस्थितिमा गोरखामा नेपाली कांग्रेसमा पार्टी प्रवेश गराउने कार्यक्रम भइरहेको छ।

बुधबार दिउँसो अजिरकोट गाउँपालिका-४ मा नेपाली कांग्रेसले एक कार्यक्रम गर्दै सयौँ युवालाई पार्टी प्रवेश गराएको हो। कार्यक्रममा उपस्थित नेता कार्यकर्ताले न त सामाजिक दूरी नै कायम गरको देखिन्छ, न त सबैसँग मास्क छ। न त सेनिटाईजर प्रयोग गरकै देखिन्छ।

पार्टी प्रवेश गर्ने गराउने ध्याउन्नमा कांग्रेसका नेता, जनप्रतिनिधि अनि सयौँ युवाहरुले कोरोना रोकथाम तथा न्यूनीकरणका लागि विश्व स्वास्थ्य संगठनले तोकेको न्यूनतम स्वास्थ्य मापदण्डसमेत पालना गरेनन्।

यो दृश्यले कोरोना संक्रमणलाई र यसको रोकथाम न्यूनीकरणको जिम्मा लिएका सम्बन्धित निकायलाई गिज्याएको छ। सांसद दवाडीले गत कात्तिक २५ गते पनि आफ्नो निर्वाचन क्षेत्रमा पार्टी प्रवेश गराउने कार्यक्रम गरेका थिए।

उनले गत कात्तिक २५ गते बिहान आठ बजेर १४ मिनेट जाँदा फेसबुकमा एक स्टाटस लेख्दै आफूले आफ्नो निर्वाचन क्षेत्रमा एक सय ६० जना भन्दा बढीलाई पार्टी प्रवेश गराएको घोषणा गर्दै केही फोटो सार्वजनिक गरेका थिए। त्यस समयमा पनि उनीहरूले स्वास्थ्य मापदण्ड अपनाएका थिएनन्।

प्रशासन मौन!

कोरोनाको समयमा अनावश्यक भिडभाड गरेमा कारबाही गर्नका लागि सरकारले अहिले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

तर, न्यूनतम स्वास्थ्य सुरक्षा मापदण्डसमेत पालना नगरी भिडभाड जम्मा गर्दै पार्टी प्रवेश गर्ने गराउने काम भइरहँदा जिल्ला प्रशासन कार्यालय गोरखाले कुनै वास्ता गरेको छैन। सांसद दवाडी भन्छन्, ‘मापदण्ड पालना गरेका छौँ तर कमीकमजोरी भएको हुनसक्छ।’

गण्डकी प्रदेशसभा सदस्य दवाडीले भने सुरक्षा मापदण्ड अपनाएरै कार्यक्रम गरेको दाबी गरेका छन्। तर, उनै सांसदले फेसबुकमा पोष्ट गरेको फोटोमा भने स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएको देखिँदैन।

‘हामी सबैले स्वास्थ्स्य सुरक्षा मापदण्ड अपनाएर कार्यक्रम गरेका हौँ।  तर, कोही सकैले मापदण्ड उल्लङ्घन गरेका होलान्, त्यस्तो लाग्न सक्छ। हाम्रो पनि कहीँकतै कमजोरी भएका होलान् तर यस्तो कार्यक्रम गोरखामा मात्रै हैन अन्य जिल्लाहरुमा पनि भइरहेका छन्’, सांसद दवाडीले टेलिफोन सम्पर्कमा भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.