|

सोलुखुम्बु : कागेलडाँडा विमानस्थलमा पुनः उडानपूर्व इन्जिनियरसहितको टोलीले बुधबार निरीक्षण गरेको छ। नेपाल नागरिक उड्डयान प्राधिकरणका इन्जिनियर, प्रदेश सांसद उत्तमकुमार बस्नेत, थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष असिम राईसहितको टोलीले उक्त विमानस्थलको निरीक्षण गरेको हो।

करिब ५ वर्षदेखि पूर्णरूपमा बन्द रहेको विमानस्थलको निरीक्षणपछि बुधबारदेखि नै रेखांकन (मार्किङ)को काम सुरु भएको प्रदेश सांसद उत्तमकुमार बस्नेतले जानकारी दिए। २०५२ सालमा निर्माण सुरु भएको विमानस्थलमा ०६२/०६३ देखि उडान सेवा सुरु भएको थियो। तर, २०७२ सालसम्म नेपाल एयरलाईन्स र तारा एयर एयरलाईन्सले पनि उडान भरेको भए पनि त्यसयता भने उडान सेवा पूर्णरूपमा बन्द भई विमानस्थल गौचरणमा परिणत भएको थियो।

उक्त विमानस्थललाई सञ्चालनको लागि जिल्लाका संघीय सांसद हेमकुमार राई (शुरवीर) प्रदेश सांसद उत्तम कुमार बस्नेत, नेकपा प्रदेश १ संसदीयदलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी तथा थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष असिम राईले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको बारम्बार ध्यानकर्षण गराउने काम गरेका बताउँदै आएका थिए।

यस्तै, पर्यटन मन्त्री योगेश भट्टराईले यहि कात्तिक २१ गते विमानस्थलको स्थलगत निरीक्षण गर्दै मंसिर दोस्रो साता उडान सेवा सुरु गर्ने गरि तयारी अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए। सोही प्रतिबद्धताअनुसार नेपाल एयरलाईन्सको विमानले उडान भर्ने सहमति भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियरको टोलीले विमानस्थलको स्थलगत निरीक्षण गरेको थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष असिम राईले बताए।

गाउँपालिका अध्यक्ष राईको सक्रियतामा मंसिर तेस्रो हप्तादेखि नेपाल वायु सेवा निगमको विमानले उडान भर्ने गरी नागरिक उड्ययन प्राधिकरणसँग सम्झौतासमेत भएको छ। विमानस्थलमा उडान सेवा सुचारु गराउन पहल गर्नुपर्ने भन्दै स्थानीयले बारम्बार माग गर्दै आएका थिए।

हाल जिल्लामा रहेका चार वटा विमानस्थलमध्ये तेञ्जिङ हिलारी विमानस्थल लुक्ला र फाप्लु विमानस्थल सञ्चालनमा छ भने स्याङ्बोचे विमानस्थलमा हेलिकोप्टरले कहिलेकाहीँ उडान भर्दै आएको छ। तर, गाउँको बीचमा रहेको कागेल डाँडामा भने पाँच वर्षयता कुनै पनि उडान भएको छैन।

नेपालको सबैभन्दा बढी विमानस्थल भएको जिल्लाको सूचीमा रहेको सोलुखुम्बुमा अहिले महाकुलुङ गाउँपालिकाको गुदेलमा पुनः अर्को विमानस्थल निर्माणको लागि डिपिआरको काम भइरहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.