|

कपिलवस्तु : कपिलवस्तुको यशोधरा गाउँपालिकामा औषधि खरिदको टेन्डर गुपचुपमा खोलिएको छ। २१ लाख बढी रकमको औषधि खरिदका टेन्डर पशु विकास अधिकृत अब्दुल सलामको नेतृत्वमा गाउँपालिका अध्यक्ष ग्रिजेस पाण्डेको कक्षमा खोलिएको छ।

टेन्डर खोल्दा लेखा अधिकृत, प्रमुख प्रशासकीय अधिकृत र प्रशासनको कर्मचारीलाई पाखा लगाएर खोलिएको थियो। कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत भएको बेलामा निमित्त बन्दै सलामले टेन्डर खुलाउन सहयोग गरेका हुन्।
‘अध्यक्षज्यूले आफैँ खोल्नुभएको छ। म कार्यालयमा उपस्थित हुँदा पनि निमित्त बनाई काम गर्नुभएको छ। जुन नियमविपरीत छ’ प्रमुख प्रशासकीय अधिकृत तेजबहादुर सिंहले बताए।

सिंहले १० फारममध्ये २ वटामा तोक लगाउँदै गर्दा पशु विकास अधिकृत अब्दुल सलामले जबरजस्ती तोक लगाउन सुरु गरेका थिए। प्रशासकीय अधिकृत सिंह विना टेन्डर खुलाउन लागेपछि लेखा अधिकृतसमेत प्रकियामा समावेश भएका छैनन्।

जिल्ला प्रशासन कार्यालयबाट प्रतिनिधित्व गरेका कर्मचारी नारायण गैरेले पनि टेन्डर खोल्दा आफू सहभागी नभएको बताए। 'उहाँहरूबीच विवाद रहेको थियो। प्रक्रिया पूरा भएको देखिएन र  गाउँपालिकाको प्रशासन र लेखाको सहभागिता नभएकोले टेन्डर खुलाउँदा सहभागी नभएको हुँ' गैरेले भने।

आफैँ तोकिए निमित्त, अध्यक्षले हाजिरी रजिस्टर लुकाए 

गाउँपालिकामा कृषि अधिकृत रहेका अब्दुल सलामले आफैँ निमित्त तोकी कार्यालय सञ्चालन गरेको खुलासा भएको छ। आफैँ निमित्त भई काम सञ्चालन गरेपछि गाउँपालिकाले सूचना प्रकाशन गरी निमित्त नदिएको जानकारी गराएको छ।

कार्यालयमा विवाद बढ्दै गएपछि गाउँ पालिका अध्यक्षले हाजिरी रजिस्टरसमेत आफ्नै कार्यकक्षमा लुकाएर राख्दै आएका छन्। हाजिरी रजिस्टर लुकाएपछि कर्मचारीहरू समेत समयमा हाजिरी गर्न पाएका छैनन्। ‘हाजिरी गर्नका लागि अध्यक्ष आउने समय कुर्नपर्छ। आज १२ बजेमा मात्र हाजिरी गरियो’ एक कर्मचारीले नाम नलेख्‍ने शर्तमा बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.