|

भद्रपुर :  भद्रपुर नगर क्षेत्रमा ट्राफिक नियमको धज्जी उडाइँदैछ। भारतीय सीमा नाकासँग जोडिएको भद्रपुरमा सीमा नाका सिल भएको अवस्थामा अहिले पनि भारतीय नम्बर प्लेटको सवारीसाधन निर्वाधरूपमा गुडिरहेका छन्।  नेपालका सवारीसाधनले ओभरलोड सरसामान बोक्नुका साथै कृषि प्रयोजनका लागि भन्सार छुटमा भित्र्याइएका ट्याक्टरले ढुंगा, गिट्टी र बालुवा पनि जथाभावी बोकिरहेका छन्।

सीमा नाका सिल भएका कारण अहिले भन्सार कार्यालयले मालवाहक सवारीसाधनबाहेक निजी प्रयोजनमा प्रयोग गरिने कुनै पनि भारतीय नम्बर प्लेट भएका कार, जिप, मोटरसाइकल, स्कुटरको सुविधा वा भन्सार राजश्व शुल्क लिन पाउँदैनन्।

भन्सारको सुविधा र राजश्व नतिरेका भारतीय नम्बर प्लेटका सवारीसाधन ट्राफिक प्रहरीका आँखा अगाडिबाट गुड्दासमेत ट्राफिक प्रहरी रमिते बनेका छन्।

त्यति मात्र नभएर अहिले नेपाली नम्बर प्लेट भएका भ्यान, जिप, ट्रक, ट्याक्टरले पनि ओभरलोड सरसामान बोकेर कुदिरहेका छन्। ती सवारीसाधनले ओभरलोड सरसामान बोकेमा ट्राफिक प्रहरीले ठाउँका ठाउँका कारबाही गर्नुपर्ने हो। तर चालकहरूले जरिवाना काट्नु साटो प्रहरीलाई पाँच सयदेखि एक हजार रुपैयाँसम्म घुस दिएर काम चलाइरहेको एक चालकले स्वीकारेका छन्। ट्राफिक नियम उल्लघंन भएको भन्दै भद्रपुरमा दैनिक ट्राफिक चेकजाँच गरिन्छ।

राज्यलाई कर तिरेर नेपाली नम्बर प्लेट भएका सवारीसाधनलाई मात्र ट्राफिक प्रहरीले चेकजाँच गरी काम गरेको देखाइरहेका छन्। ती सवारीसाधनका चालकले लाइसेन्स र बुलबुक, हेलमेट नलाउँदा जरिवाना कटाइन्छ। 'भारतीय नम्बर प्लेटका सवारीसाधनलाई ट्राफिक प्रहरीले छुट दिएको देख्दा अच्चम लागेर आउँछ', चालक उमेश राईले गुनासो पोखे,‘राज्यलाई कर तिर्न यहाँका गाडीलाई मात्र ट्राफिक प्रहरीले दुःख दिन्छ। भारतीय गाडीलाई चाहिँ छुट, यो कस्तो कानुन हो नेपालको, ओभर लोड सामान बोक्ने सवारीसाधन पनि कुदिरहेको छ।’

सीमा नाकामै ट्राफिक नियमको धज्जी

सीमा नाका सिल भए पनि भारतबाट सरसामान नेपाल भित्रिरहेका छन्। भारतको गलगलियाबाट भद्रपुर नाका हुँदै दिनहुँ सरसामान भन्सार कार्यालय भित्रिरहेका छन्। ती सरसामान भारतीय नम्बर प्लेटको सवारीसाधनले बोकेर ल्याउने गरेको छ।

भारतीय नम्बर प्लेटको सवारीसाधनले ट्राफिक नियमको धज्जी उडाउँदै ओभर लोड सरसामान बोकेर ल्याउँदा पनि ट्राफिक प्रहरी र वडा प्रहरी कार्यालय भद्रपुर रमिते बनेका छन्। भन्सार नजिकै वडा प्रहरी कार्यालय र ट्राफिक प्रहरी बस्छन्।

नाकाबाट ओभर लोड सरसामान ल्याउने भारतीय नम्बर प्लेटका सवारीसाधनलाई प्रहरीले अहिलेसम्म कारबाही गरेको छैन। भद्रपुरका कारोबारी र व्यापारीले ती सरसामान भन्सार सम्म ल्याउने गरेका प्रहरीले पनि चाडपर्व अफर भन्दै भारतीय सवारीसाधन छुट दिएको दृश्य देख्न सकिन्छ।

त्यति मात्र नभएर भन्सारमा काम गर्ने यहाँका कारोबारी र व्यापारीले पनि भारतीय नम्बर प्लेटको सवारीसाधन चलाउँदा पनि प्रहरी मूकदर्शक भएर बसेका छन्।

रकम असुल्दै ट्राफिक प्रहरी

सानालाई ऐन, ठुलालाई चैन भन्ने उखान जस्तै देखिएको छ ट्राफिक प्रहरी। चिनजान र महिनावारी रकम असुल्ने व्यक्तिले जतिपनि ट्राफिक नियम उल्लघंन गरे पनि उनीहरूलाई कारबाही हुँदैन। भद्रपुरमा दुई स्थानमा ट्राफिक प्रहरी खटाइएको छ। भद्रपुर र चन्द्रगढीमा। ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले यहाँ खटाएका ट्राफिक प्रहरीहरूले अहिले महिनावारी रकम असुल्न व्यस्त छन्।

प्रहरीले ट्याक्टर, टिपरबाट मासिक एकदेखि दुई हजार, अटो, जिप, कारबाट मासिक पाँच सयदेखि एक हजारसम्म रकम असुल्ने गरेको फेला परेको छ। कारबाही गर्नु नपरोस् भन्दै ट्राफिक प्रहरीले सवारीसाधनका चालक तथा व्यवसायीहरूबाट पाँच सयदेखि तीन हजारसम्म रकम असुल्नका साथै हाकिमलाई मदिराजन्य पदार्थ चाहिन्छ भन्दै थर्काउँदै समेत हिँडेका थिए।

भारतीय नम्बर प्लेटका सवारीसाधन कुदाएका धनी बापत पनि प्रहरीले उनीसँग सेटिङ मिलाएको गुनासाहरू आइरहेका छन्।

दशैका बेला एक ट्र्याक्टर व्यवसायीले भद्रपुरका एक ट्राफिक प्रहरीलाई दुई हजार दिँदा पनि उनले सो रकम लिन मानेनन्। उनलाई थोरै रकम भएको भन्दै नलिएको ती व्यवसायीले गुनासो पोखेका छन्।

मेरो नाम नछाप्नु होला भन्दै ती व्यवसायीले भने, ‘गरिखाने बाटो नै यही हो, समाचारमा नाम आएमा प्रहरीले मलाई टार्गेट बनाउँछन्।’ यता, ट्राफिक प्रहरी भद्रपुरका इन्चार्ज दिलीप राईले कोरोना महामारीका कारण ट्राफिक चेकजाँच हुन नसकेको स्वीकारेका छन्। अन्य विषयमा फोनमा भन्दा भेटेरै कुराकानी गर्नुछ भन्दै अहिले काम विशेषले बाहिर रहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.