काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदैछ। महासंघको एक वरिष्ठ उपाध्यक्षसहित तीन विषयगत उपाध्यक्ष र विविध ५७ कार्यकारिणी सदस्यहरु गरी कुल ६४ पदका लागि निर्वाचन हुन लागेको हो। चुनावी प्रतिस्पर्धामा वरिष्ठ उपाध्यक्षका लागि व्यवसायी चन्द्र ढकाल र किशोर प्रधान प्रतिस्पर्धामा छन्।
जिल्ला/नगरतर्फ उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारी, वस्तुगत संघतर्फ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ र एशोसियटतर्फ उपाध्यक्षमा सौरभ ज्योति र रामचन्द्र संघाई मैदानमा छन्। महासंघको २ केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन्। निर्वाचनमा एक हजार ११६ जना मतदाताहरुले मतदानमा भाग लिँदै छन्।
मतदान बेलुका ४ बजेसम्म चल्नेछ भने मतगणना पनि आजै बेलुकी सुरु गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि महासंघले तीन छुट्टाछुट्टै मतदान केन्द्र तोकेको छ। उद्योग वाणिज्य समूहका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, एशोसिएट समूहका लागि कार्की ब्याङ्क्वेट बबरमहल र वस्तुगत संघ समूहका लागि महासंघको आफ्नै सचिवालय टेकु निर्वाचन केन्द्र तोकिएको छ।
कोभिड—१९ पोजेटिभ देखिएका मतदाताहरूलाई भने सबै समूहका लागि एउटै निर्वाचन केन्द्र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीबाटै मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृत लीलामणि पौडेलले जानकारी दिए। अघिल्लो कार्यकालको वरिष्ठ उपाध्यक्ष स्वत महासंघको अध्यक्ष चयन हुने व्यवस्था छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।