|

दैलेख :  जिल्लाको नारायण नगरपालिकाले जागिरका लागि सञ्चालन गरेको एक परीक्षामा आफन्त राख्ने नाममा घोटाला भएको पाइएको छ। मंसिर १२ गते(शुक्रबार) सञ्चालन गरेको सामुदायिक मनोसामाजिक संयोजक र सामुदायिक मनोसामाजिक कार्यकर्ताका लागि लगिएको परीक्षामा यस्तो पाइएको हो।

मानसिक स्वास्थ्य परामर्श केन्द्र (सी.एम सी.नेपाल) र नारायण नगरपालिका दैलेखको समझदारीमा सामुदायिक मनोसामाजिक संयोजक १ जना र सामुदायिक मनोसामाजिक कार्यकर्ताका ८  जना गरी नौ जना कर्मचारी माग गरेको थियो। 

नगर कार्यपालिका सदस्‍य रमेश केसीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नगरपालिकाले १२ गते लगेको उक्त परीक्षामा चरम लापरबाही र घोटाला भएको देखिएकाले परीक्षा पुनः लिन भनेका छन्।

उनले राज्यको नीतिअनुसार लोकसेवा आयोगमा जातीयताका आधारमा कर्मचारी भर्ना गर्ने गरिएको भए पनि नारायण नगरपालिका छुट्टै सरकार भएझैँ प्रमुख र कर्मचारीहरूको मिलेमतोमा आफ्ना आसेपासेहरूलाई भर्ना गर्ने थलो हो भन्दै प्रश्न गरेका छन्।

के.सीले सामाजिक संजालमा अहिले पास भएका व्यत्तीहरुलाई परीक्षा हलमा सिकाउने र प्रश्न खालि छोड्न लगाई चेक गर्ने बेला टिक लगाई आफ्ना र आफन्तहरूको नाम निकालिएको र पुनः परीक्षा लिनु पर्ने माग गरेका छन्।

यता एक परिक्षार्थीले पनि आफन्त राख्ने नाममा परीक्षामा घोटाला भएको बताएकी छन्। नाम उल्लेख नगर्ने स्वार्थमा उनले परीक्षा हलमा नगरपालिकाका कर्मचारी आएर आफ्नालाई सिकाउने र नलेखेको खण्डमा खालि छोड्न भनी पछि चेक गर्ने बेला आफैँ टिक लगाई पास गराएको बताएकी छन्।

नगरपालिकाले लिएको परीक्षाको विषयमा अहिले दैलेखका विभिन्न व्यत्तिहरुले सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गरेका छन्। उनीहरूले आफन्त आसेपासे भर्ती गर्ने नाममा नियम मिचिएको आरोप लगाएका छन्।

अर्थहीन विरोध :  संयोजक 

पदपूर्ति समितिका संयोजक तथा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रेसमबहादुर बुढाले अर्थहीन विरोध मात्र भएको बताएका छन्। आफ्ना मान्छे नभएपछि सामाजिक सञ्जालमा आएको कुरा गलत भएको बताए।

उनले आफैँ पदपूर्ति समितिको संयोजक भएका हिसाबले परीक्षा आफ्ना पराई नभनी निष्पक्ष रूपमा लगिएको बताए। कसैले आफ्ना मान्छे पास भएनन् भनेर विरोध गर्ने कुरा गलत भएको बताए।

नगरप्रमुख रत्नबहादुर खड्काले अहिले बाहिर आएको कुरामा सत्यता नभएको बताएका छन्। तर, नगरपालिकाका कर्मचारीले परीक्षा हलमा सिकाउने आफैँ टिक लगाई आफ्ना मान्छे पास गराएको भन्ने जसरी बाहिर आएको छ त्यसो भएको भए कर्मचारीको नियत ठिक नभएको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.