|

बागलुङ : नगरपालिकाभित्रका सार्वजनिक तथा संस्थागत विद्यालय पूर्ण रुपमा कहिले संचालन हुन्छन् भन्ने अझै यकिन भएको छैन। केही विद्यालयले नियमित संचालन गरेका छन् भने बजार क्षेत्रमा बढी समस्या भएकोले नियमित खुल्न सकेका छैनन्। संस्थागत विद्यालय भने अझै खुल्न झनै ढिलाइ भएको छ।

नगरशिक्षा समितिको बिहिबारको बैठकले पनि विद्यालय खुलाउने विषयमा छलफल गरेको नगरशिक्षा अधिकारी दण्डपाणी शर्माले बताए। ‘सबै विद्यालयका प्रअसँग जुम बैठक गरेर विद्यालय संचालन कार्ययोजना बनाउन भनेका थियौं। उहाँहरुले बनाउने योजना अनुसार विद्यालय खोलिनेछ’, शर्माले भने, ‘संस्थागत विद्यालयमा साना कोठा, धेरै विद्यार्थी भएकोले व्यवस्थापनमा चुनौती छ।’

सामाजिक दुरी कायम गर्ने, स्वास्थ्य मापदण्ड कायम गर्ने तथा मास्क र सेनिटाइजर लगाउने कामलाई अनिवार्य गराउन भनिएको पनि उनले बताए। तर कुन मितिदेखि विद्यालय खोल्ने भन्ने शिक्षा समितिले समेत निर्णय नगरेको हो। विद्यालय खोल्ने मिति र समयको निर्णय गर्ने अधिकार समितिले विद्यालयलाई नै दिने आसय बनाएको हो।

विद्यालय संचालन भएपछि वडा शिक्षा समिति र नगरशिक्षा समितिले नियमित अनुगमन गर्ने, आवश्यक सुझाव दिने लक्ष बनाइएको शर्माले बताए। यो योजनाबाट छिटै बिद्यालय खोल्न सकिने संभावना भएपनि ग्रामीण क्षेत्रको तुलनामा नगरमा चुनौती बढी हुने समितिका पदाधिकारीको ठहर छ। अनलाइन कक्षा र घरघरमा पढ्ने व्यवस्थामा पनि अभिभावक र शिक्षकले पहल गर्नुपर्ने अधिकांशको धारणा थियो। केही विद्यालयले जुम कक्षा चलाएर नियमित पढाईसमेत गरेका छन्। बिहिबारको बैठकले शिक्षा समितिमा दुई सदस्य थप्ने योजना पनि बनाएको छ। थपिने दुई सदस्यमा हुमा रिजाल र चुडामणी शर्मा छन्।

बागलुङको तमानखोला र ताराखोला गाउँपालिका तथा गलकोट नगरपालिकामा भने नियमित जसो पढाइ भैरहेका छन्। विद्यालय पोशाकमै बालबालिकाले विद्यालय गएर नियमित पढेका छन्। उनीहरुलाई कक्षा कोठामा दुरी कायम गरेर राख्ने गरिन्छ। बडिगाड गाउँपालिकामा पनि यो अभ्यास भएको हो। पहिलोपटक बडिगाड-२ को त्रिभूवन माविले यो प्रयास थालेको थियो।

कतिपय शिक्षकले भने नगर र गाउँ शिक्षा समितिको निर्णय पहिला आएमा आफ्नो जिम्मेवारीबाट उम्कन पाउने आसमा बसेको समेत भेटिएको शिक्षाका जानकारले बताए। पालिकाले चासो र जिम्मेवारी दिएमा कोरोना संक्रमण भैहालेमा जोखिम मोल्न सहज हुने शिक्षकहरुको धारणा छ।

बरेङ गाउँपालिका, जैमिनी नगरपालिकालगायतका अन्य पालिकामा विद्यालय संचालनको अभ्यास भने भएका छन्। बरेङमा नियमित जसो कक्षा चलेका छन् भने जैमिनीमा पनि धेरै विद्यार्थी भएका विद्यालयमा दुई चरणमा कक्षा चलाइएका हुन्। बजारमा धेरै बालबालिका भएपनि ग्रामीण क्षेत्रका विद्यालयमा भने थोरै विद्यार्थी छन्। प्राथमिक तहमा एकैपटकमा सबै बालबालिका बोलाएर कक्षा चलाउन सकिने र मावि तहमा समस्या पर्ने देखिएको जैमिनीका नगरशिक्षा अधिकारी खेमप्रसाद आचार्यले बताए।

बागलुङ नगरपालिकामा सबैभन्दा धेरै कोरोनाका सक्रिय संक्रमित छन्। तमानखोला, निसीखोला, ढोरपाटन, बडिगाड, बरेङलगायतका पालिकामा सुन्य सक्रिय संक्रमित छन् भने अन्य पालिकामा पनि छिटफुट सक्रिय संक्रमित भेटिइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.