चिकित्सकको खाजा र खाना खर्चसमेत बिरामीबाटै उठाउँछन्

|

विराटनगर : भोजपुर हतुवागडी नगरपालिका–४ का ४० वर्षीय कोरोना संक्रमितको पुरुषमा स्वासप्रश्वास समस्या भएपछि मोरङ बुढीगंगा गाउँपालिका–१ विराट टिचिङ हस्पिटलको कोभिड अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ।

आर्थिक अवस्थामा नाजुक भएको ती संक्रमित पुरुषको उपचार गर्न छोरी हस्पिटलमा छिन्। संक्रमित बाबुको उपचारका लागि अस्पतालले धरौटी रकम तीन लाख रुपैयाँ बुझाएपछि मात्र अहिले उपचार भएको उनले बताइन्। 

उनले विरामीलाई अस्पतालमा भन्टिलेटरमा राखेर उपचार गरेको अस्पताललाई दिनको ५० हजार रुपैयाँ बुझाउँदै आएको जानकारी दिइन्। थप उपचारका लागि पैसा छैन। कहाँबाट लिएर आउनु ?’ संक्रमित ती पुरुष ८ मंसिरदेखि विराट टिचिङि हस्पिटलको भेन्टिलेटरमा उपचाररत छन्। 

सुनसरी इनरुवा नगरपालिका–४ का त्रिलोचन्द्र गुप्ताको समस्या पनि उस्तै छ। ६५ वर्षीय कोरोना संक्रमित बाबुको उपचार गरेको चार दिनमा पाँच लाख रुपैयाँ सकिएको उनले बताए। उनले भने, ‘तर यतिका पैसा सकिए पनि बुवाको स्वास्थ्यमा कुनै सुधार भएको छैन। अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।’

संक्रमितका छोरा गुप्ताले भने, ‘दैनिक भेन्टिलेटरमा राखेको मात्र २० हजार रुपैयाँ तिर्दै आएको छु।’ नोबेल अस्पतालले विविध शीर्षकमा चर्को शुल्क लिएका कारण उपचार गराउन नसक्ने अवस्थामा पुगेको उनले बताए। 

बाबुको उपचारमा सुधार नभएपछि घर लैजाने तयारी गरेको उनले बताए। ‘भएको पैसा पनि बुवाको उपचारमा सकियो, ’थप उपचार गर्ने पैसा पनि छैन,’ उनले पीडा पोखे।

नोबेलमा बिरामीका आफन्तले बेहोर्नुपरेको दुःखदेखि मनोमानी शुल्कको असरबारे अधिकांशले गुनासो गरिसकेका छन्। उनीहरु जस्तै प्रदेश १ मा कोरोना संक्रमितले उपचारका लागि निजी अस्पतालमा अहिले महँगो उपचार गर्न बाध्य छन्। सरकारले कोरोना उपचार नगर्ने भनेर हात झिकेपछि नागरिकले निजी अस्पतालमा भए पनि महँगोमा उपचार गराउन बाध्य भइरहेका छन्। 

प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार हाल ४ सय ४९ जना कोरोना संक्रमितको विभिन्न कोभिड अस्पतालका आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको छ।

जसमा विराट मेडिकल कलेजमा आइसियुमा ४ र भेन्टिलेटरमा ५ जनासहित ९ जना, नोबेल मडिकल कलेजको भेन्टिलेटरमा ४, त्यसैगरी विराटनगर न्युरो अस्पतालको आइसियुमा पाँच र दुईसहित ७ जना उपचाररत छन्। अन्यको सरकारी अस्पतालमा उपचार भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

नेपाल सरकारको स्विकृति लिएर प्रदेशमा अहिले तीन शिक्षण अस्पताल र एक निजी अस्पतालमा कोरोनाको उपचारका गरिरहेका छन्। विराटनगरका नोबेल, विराट र झापाको बिएण्ड बी अस्पतालमा कोरोनाको उपचार गदै आएका छन्। 

एकै दिन ५ देखि ५० हजार रुपैयाँसम्म असुली

२ कार्तिकमा सरकारले संक्रमितको उपचार खर्च नबेहोर्ने निर्णय गरेपछि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र विराट शिक्षण अस्पतालले कोरोना संक्रमित बिरामीको उपचारमा चर्को रकम असुल्ने गरेको छ।

यी अस्पतालहरुले कोरोना संक्रमितको उपचारमा प्रतिदिन ५ देखि ५० हजार रुपैयाँसम्म शुल्क निर्धारण गरि संक्रमितका आफन्तसँग असुली गर्दै आएका छन्।विराट टिचिङमा जनरल बेडको प्रतिदिन ८ हजार, अक्सिजनसहितको बेडको प्रतिदिन ३५ हजार र भेन्टिलेटरको ५० हजार रुपैयाँ रहेको अस्पतालले जनाएको छ। बिरामीको खाना, खाजा त छँदै छ चिकित्सकको चार्जसमेत बिरामीबाट उठाइने अस्पतालले जनाएको छ।

यता विराटनगरकै न्युरो अस्पतालले भने जनरल बेडको प्रतिदिन ४ हजार ६ सय २५ रुपैयाँ, आइसियुको १५ हजार र भेन्टिलेटरसहित आइसियुको ३० हजार रुपैयाँ लिने गरेको छ।

गरिबको निःशुल्क उपचार नगर्नेलाई कारबाही : मुख्यमन्त्री

मुख्यमन्त्री शेरधन राईले निजी अस्पतालहरुले संक्रमित भएका आर्थिक अवस्था नाजुक, असहाय र ज्येष्ठ नागरिकको निःशुल्क उपचार नगरे कारबाही गर्ने चेतावनी दिनुभएका छन्।

सरकारले निर्णय सच्याउँदै अहिले आर्थिक अवस्था नाजुक, असहाय र ज्येष्ठ नागरिकको उपचार निःशुल्क गर्ने भएकोले यसको कार्यान्वयन निजी हस्पिटलले पनि गर्नुपर्ने मुख्यमन्त्री राईले बताए।

मुख्यमन्त्री राई सहितको मन्त्रीको टोलीले विराटनगरका अस्पतालको अनुगमन गदै मुख्यमन्त्री राईले निजी अस्पतालहरुमा के कसरी लागू भएको छ यी कुरालाई हेरेर त्यसलाई कडाइसाथ पालना गराउन निर्देशन दिएका छन्। ‘अहिले नियमित अनुगमन हुनेछ। कार्यान्वयन नगर्नेलाई कारबाही हुनेछ,’ उनले भने। 

निजी अस्पतालले संक्रमितको उपचारमा धरौटी लिनेलाई पनि कारबाही गरिने उनले चेतावनी दिए। ‘हामीसँग बिरामीका आफन्तले गरेका गुनासोका आधारमा तत्काल केही निर्णय लिनेछौं,’ मुख्यमन्त्री राईले भने, ‘नागरिकको स्वास्थ्य सुरक्षामा सरकार सधैं तत्पर छ।’ 

मुख्यमन्त्री राईले सरकारकै निर्णयका कारण केही समय नागरिकले उपचार असुविधा बेहोर्नुपरेको पनि स्विकारे। ‘सरकारले नागरिकको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ, तोकिएको अस्पतालमा पुगेर सेवा लिन हार्दिक अपिल गर्दछु,’ मुख्यमन्त्री राईले भने।

विराटका सञ्चालक डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीले उपचार राम्रो भएकाले सरकारले भनेकै शुल्कमा सम्भव नहुने बताए। उनले आफ्नो संस्था चलाउने विषयमा समेत सरकारले सोच्नुपर्ने बताए।

कार्कीले सरकारले नागरिकको उपचारबाट हात झिकेर तिर्नसक्नेसम्म लिनू भनेकोले रकम लिने गरेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.