खुमलटार गुटबन्दीको हेडक्‍वार्टर बनेको आरोप

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको लिखित प्रस्तावलाई लिखित नै  जवाफ फर्काएका छन्। प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाई मोटरसाइकलको एउटा पाङ्ग्रा खुस्कायो भने अर्को पनि लड्ने जवाफ दिएका छन्। 

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच पत्रमार्फत आरोप प्रत्यारोप भइरहेको छ। कात्तिक २८ गते अध्यक्ष दाहालले सचिवालय बैठकमा राखेको प्रस्तावमा जवाफ फर्काउँदै प्रधानमन्त्री ओलीले खुमलटारमा गुटबन्दीको हेडक्वाटर बनाएका आरोप लगाएका हुन्। 

प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाई दिएको जवाफको १६ नम्बर बुँदामा भनिएका छ, 'महाधिवेशनबाट निर्वाचित अध्यक्षका रुपमा मेरो हैसियतमाथि समेत तपाईंले प्रश्न उठाउनुभएछ। त्यति मात्रै तर्क गरौँ, जतिमा अडिन सकिन्छ। यो तर्क गरिरहँदा तपाईं यो ठाउँमा आउनु भएको पनि तत्कालीन नेकपा (माओवादी–केन्द्र) को अध्यक्षकै हैसियतले हो भन्ने नबिर्सनुस्। मोटरसाइकलको एउटा पाङ्ग्रा खुस्कायो भने अर्को पनि लड्छ।'

'हामी दुई जनाले आ–आफ्ना पार्टीका अध्यक्षको हैसियत प्रयोग गरेर एकताको सहमति गर्‍यौँ, आ–आफ्नो पार्टीसमक्ष उक्त एकताको प्रस्ताव राख्यौँ। हामीलाई पार्टीले अवलम्बन गरेको सिद्धान्त र कार्यक्रम, नाम र संरचना छाड्ने जनादेश महाधिवेशनबाट प्राप्त थिएन। तर पनि दुबै पार्टीका केन्द्रीय कमिटीले अध्यक्षका प्रस्तावलाई अनुमोदन गरे। अन्य सबै संरचना अध्यक्षहरूको प्रस्तावमा केन्द्रीय कमिटीले वैधता दिएका संरचना हुन्' ओलीले भनेका छन्। 

'हामीले ‘कोर अफ द लिडर’ भनेर महत्व दिएको केन्द्रीय सचिवालयले पनि यो हैसियत यसैगरी प्राप्त गरेको हो। एकीकरणको दुई वर्षपछि आएर, कसैको ‘हामी पनि त महाधिवेशनबाट निर्वाचित थियौँ नि, हाम्रो मूल्य खोइ?’ भन्ने असन्तुष्टिलाई आफ्नो प्रस्तावमा घुसाउँदा यसको के अर्थ लाग्छ? यसले तपाईं आफैलाई, आफैले गरेको सहमति र निर्णयलाई उपहास गर्छ भन्ने कुरा कसरी बिर्सनु भयो?' ओलीले भनेका छन्।

दुवैजना कार्यकारी अधिकारसहितकै अध्यक्ष हौँ

प्रधानमन्त्री ओलीले दुवैजना कार्यकारी अधिकार सहितको अध्यक्ष भएको बताएका छन्। ‘लामो समयको अन्यौल र अस्थिरताले पार्टी काममा गम्भीर अवरोध सिर्जना भएपछि केन्द्रीय सचिवालयले गत वर्ष मङ्सिरमा नयाँ निर्णय गर्‍यो– केपी ओलीले प्रधानमन्त्रीका रुपमा पाँचै वर्ष सरकारको नेतृत्व गर्ने र पार्टीमा कार्यकारी अधिकारसहित पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी कामको नेतृत्व गर्ने। त्यस निर्णयमा मेरो कहिल्यै असहमति रहेन, छैन' उनले भनेका छन् 'तपाईंले बारम्बार चित्त दुखाउने गर्नुभएको टेलिभिजन कार्यक्रम ‘फायर साइड’ मा मैले भनेको के मात्रै हो भने– हाम्रो पार्टीमा एकजना संवैधानिक या मानार्थ र अर्को कार्यकारी अधिकारसहितको अध्यक्ष छन् भन्ने व्याख्या सही होइन।'
 
'हामी दुवैजना कार्यकारी अधिकार सहितकै अध्यक्ष हौँ, तर अहिले मैले आफूलाई कार्यकारी अध्यक्षका हैसियतले सरकारको काममा केन्द्रित गराउँछु, पार्टीको काम कार्यकारी अध्यक्षका हैसियतले अध्यक्षका रुपमा प्रचण्डले गर्नुहुन्छ।’ यसमा आपत्ति जनाउनु पर्ने कारण के छ रु के त्यस बैठकले मलाई अध्यक्ष पदबाटै निलम्बन या बर्खास्त गरेको थियो र?' उनले भनेका छन्,' के सचिवालयले विधान संशोधन गरेर पार्टीमा एकजना सेरेमोनियल अध्यक्ष, अर्को एक्जेक्युटिभ अध्यक्ष हुने व्यवस्था गरेको थियो र? साँच्चै भन्ने हो भने त्यसपछि आयोजित सचिवालय स्थायी कमिटी र केन्द्रीय कमिटीका कतिपय बैठक या सेसनमा म जाँदा पनि गइनँ, तपाईंलाई काम गर्न सहज होस् भनेर।' 

'समस्या त त्यहाँबाट सिर्जना भएको हो, जब कार्यकारी अध्यक्ष स्वयंले खुमलटारलाई पार्टीभित्रका निश्चित कमरेडहरु मात्रै बस्ने थलोका रुपमा विकास गर्नुभयो। यसप्रति मैले असहमति जनाएको हुँ। कार्यकारी अध्यक्षका रुपमा जिम्मेवारी प्राप्त व्यक्तिले आफ्नो निवासलाई निश्चित समूहका साथीहरुमात्रै बस्ने गुटबन्दीको हेडक्वार्टर बनाउनु पर्ने, मसँग छलफल गर्नु पर्दा या कमिटीमा कुनै निर्णय गर्नु पर्दा आफ्नाहरुबीच साझा धारणा बनाएर मात्रै आउनु पर्ने र कमिटी बैठकहरू गुटका निर्णय अनुमोदन गर्ने असहाय थलो जस्तो हुनु पर्ने स्थितिप्रति मैले आपत्ति जनाएको हुँ' उनले भनेका छन्। 

'आज पनि मेरो प्रश्न छ, कमिटीमा खुल्ला खुलस्त छलफल गरेर निष्कर्षमा पुगिने ठाउँ हुँदाहुँदै, नेताहरुलाई निश्चित मान्यतामा ‘खः’ गराएर मात्रै बैठकमा आउनु पर्ने यस्तो अविश्वास र दाउपेचको आवश्यकता किन पर्‍यो रु कमिटीमा विषयगत रुपमा हुने छलफल, सहमति र असहमति तथा त्यस आधारमा हुने गतिशीलतालाई बन्धित बनाउनु पर्ने आवश्यकता किन पर्‍यो ?' उनले भनेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.