|

उदयपुर : उदयपुरगढी गाउँपालिकाका दुईवटा वडाका ६०० घरपरिवारभन्दा बढी टेलिफोनको पहँुच बाहिर रहेका छन्।

स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुले बिजुली, खानेपानी र टेलिफोनका चर्का नारा लगाए। निर्वाचन पनि जिते। तर, निर्वाचनका बेला दिएका आश्वासन पूरा नहुँदा उदयपुरगढी गाउँपालिका वडा नम्बर २ र ३ का बासिन्दा टेलिफोन सुविधाबाट बञ्चित रहेका छन्।

सरकारी तथा निजी टेलिफोन सेवा प्रदायक कम्पनीले दुर्गममा सेवा विस्तार नगर्दा टेलिफोनबाट आफन्तसँग कुरा गर्न स्थानीयको धोको पूरा हुन सकेको छैन। एक गाउँबाट अर्को गाउँमा खबर गर्नु परे डाँडा चढेर बोलाउनुपर्ने र कोही बिरामी परेर एम्बुलेन्स बोलाउनु परे बिरामीलाई डोकोमा बोकेर फोन लाग्ने ठाउँ पुग्नु पर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ। हातमा मोबाइल फोन भए पनि दुई घण्टाको पैदल हिँडेर टावर खोज्नुपर्ने बाध्यता रहेको उदयपुरगढी–२ की जानुका भुसालले बताइन्।

आफन्तलाई जरुरी फोन गर्नु परे कि गाउँपालिकाको कार्यालय जानु पर्ने नभए डाँडाकाडा पुग्नुपर्ने स्थानीय गीता मगरले बताइन्। आफूहरुले जिताएर पठाएको जनप्रतिनिधीहरुले टेलिफोनका लागि टावर राखिदिने भनेर धेरै पटक आश्वासन दिएको र कसैले पनि पूरा नगरेको उनको गुनासो छ।

यता वडा नम्बर ३ का वडाध्यक्ष मनोज कार्कीले भने आफू निर्वाचित भएपछि निरन्तर दूरसञ्चार कार्यालय र एनसेलको कार्यालयमा पुगेर टावरको माग गरेको बताउँछन्। ‘दुवै कार्यलयले हुन्छ भन्दै टारे,’ उनले भने, ‘वडा कार्यालयमा पनि टेलिफोन र इन्टरनेट नहुँदा सरकारी काम गर्न पनि गाउँपालिकाको केन्द्र पुग्नु पर्ने बाध्यता छ।’

टेलिफोट सेवाबाट बञ्चित नागरिकलाई चाँडै सेवा उलपब्ध गराउने उदयपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुरेशकुमार राई बताउँछन्। टेलिफोनका लागि पहल भैरहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.