|

काठमाडौं :लामो समयदेखि रोकिएको कक्षा–१२ को परीक्षा मंसिर ९ गतेबाट सुरु भयो। गत ११ मंसिरमा भने फिजिक्स विषयको परीक्षा हुँदा परीक्षा हुनुभन्दा १३ घन्टाअघि नै प्रश्‍नपत्र बाहिरिएको समाचार केही सञ्चारमाध्यममा आए।

समाचारमा बुटवलका एक शिक्षकले फिजिक्सको प्रश्नपत्र परीक्षा हुनुभन्दा १३ घन्टाअघि नै बाहिरिएर विद्यार्थीहरूको फेसबुक ग्रुपमा आइसकेको बताएका छन्। तर, राष्ट्रिय परीक्षा बोर्डले अहिलेसम्म कुनै विषयको प्रश्नपत्र नबाहिरिएको प्रष्ट पारेको छ।

बोर्डका अध्यक्ष प्राडा. चन्द्रमणि पौडेल भन्छन्,‘प्रश्नपत्र बाहिरिएको,भिडियोबाट चिट चोरेको अहिलेसम्म केही घटना भएको छैन। त्यस्ता घटना भए आधिकारिक जानकारी आइसकेको हुन्थ्यो। सामाजिक सञ्जालमा कथा बनाइएर भाइरल बनाइएको छ।’

उनले कुनै पनि परीक्षा केन्द्र वा विद्यालयले यस्ता गैरकानुनी काम गर्ने पाइएमा कानुनी कारबाही गर्ने बताए। ‘हामीले हल्लाको पछि कोही नलाग्नु भनेर सूचनासमेत जारी गरिसकेका छौँ। कोही कसैले गलत सूचना फैलाएर सर्वसाधारणलाई भ्रममा पार्न पाउँदैन।’

अध्यक्ष पौडेलका अनुसार यस वर्ष चार लाख ३३ हजार विद्यार्थीले कक्षा १२ को परीक्षा दिइरहेका छन्। देशभर ४ हजार एक सय ५ वटा परीक्षा केन्द्र तोकिएको छ।

परीक्षा यही मंसिर १६ गते सकिनेछ। परीक्षा दिन समस्या भएका विद्यार्थीका लागि पायक पर्ने ठाउँबाट पनि परीक्षा दिन पाउने व्यवस्था बोर्डले गरेको छ।  गत वैशाख ८ गतेदेखि सञ्चालन हुनुपर्ने परीक्षा कोरोनाका कारण स्थगित भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.