दुई वटा राष्ट्रिय गौरवका आयोजना एकै ठाउँमा परेपछि अन्योल

|

धादिङ : प्रस्तावित १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनाको मोडालिटी नटुंगिएका कारण मध्यपहाडी लोकमार्गको धादिङ जिल्लाको खण्ड निर्माण कार्य रोकिन पुगेको छ। 

बूढीगण्डकी आयोजना निर्माण भएपछि 'धादिङ र गोरखा जिल्लामा गरी करिब ८० किलोमिटर सडकखण्ड  मध्यपहाडी लोकमार्गमा पर्दछ। दुवै जिल्लाको सिमानामा रहेको बूढीगण्डकी आयोजनाले निर्माणाधीन सडक खण्ड प्रभावित हुने भएको छ।'

बूढीगण्डकी आयोजनाको मोडालिटी तयार नभएकाले लोकमार्गका लागि प्रस्तावित सडक रेखांकन क्षेत्र डुबानमा पर्ने भन्दै भौतिक तथा पूर्वाधार मन्त्रालयले पहिलेकै ठाउँमा निर्माण गर्न नसकिने बताएपछि सडक निर्माण कार्य रोकिन पुगेको हो।

दुई वटा राष्ट्रिय गौरवका आयोजना एकै ठाउँमा परेका कारण अन्योल देखिएपछि समस्या समाधानका लागि सरोकारवाला स्थानीय निकायसँग छलफल गर्न र आयोजना क्षेत्रको अवस्था अवलोकन निरीक्षण गर्न योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्प कँडेल आफैं खटिएका छन्।

डाक्टर कँडेलको नेतृत्वमा रहेको टोलीले मंसिर १२ र १३ गते मध्यपहाडी लोकमार्गको नुवाकोटको सामरीभन्ज्याङदेखि धादिङको भर्‍याङभुरुङ, भोगटेनी, कटुन्जे, लपाङफेदी सम्मको सडक अवलोकन गरेको छ।

अनुगमन टोलीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष कँडेल, धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद खेम लोहनी, जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, बागमती प्रदेश सभाका सांसद डाक्टर रामकुमार अधिकारी, मध्यपहाडी लोकमार्ग आयोजना निर्देशनालयका प्रमुख दीपक केसी, आयोजना पश्चिम क्षेत्रका प्रमुख रामकुमार गुरुङ, डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इन्जिनियर कृष्णराज अधिकारी, नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्ष दुर्गानारायण शाक्य, गंगाजमुना गाउँपालिका अध्यक्ष बलबहादुर अधिकारी लगायतको संलग्नता थियो। 

पाँचथरको चियो भन्ज्याङबाट सुरु भएको मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला छिचोल्दै सुदूरपश्चिमको नेपाल–भारत सीमानास्थित बैतडीको झुलाघाटमा पुगेर टुंगिने गरी निर्माण भइरहेको छ।

करिब १ हजार किलोमिटर पहिलेकै पुरानो चल्तीको सडक र थप ७ सय ५६ नयाँ ट्रयाक खोलेर सुरु भएको मध्यपहाडी लोकमार्गको पूर्व र पश्चिम दुई खण्डमा बाँडिएको छ।

२०७९/८० भित्रमा निर्माण कार्य सक्ने गरी निर्माण थालिएको भए पनि अहिलेसम्म कार्य प्रगति सन्तोषजनक नभएको धादिङ जिल्ला क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका सदस्य खेमप्रसाद लोहनी बताउँछन्। 

लोकमार्गको पूर्वी खण्ड चियोभञ्ज्याङदेखि नुवाकोटको पातीभञ्ज्याङसम्मलाई कायम गरिएको छ भने पातीभञ्ज्याङदेखि झुलाघाटसम्मलाई पश्चिमी खण्ड नामकरण गरिएको छ।

पुरानो नक्सांकनअनुसार पूर्वी खण्ड सात सय ७६ किलोमिटर लामो छ भने पश्चिमी खण्ड एक हजार किलोमिटर छ। दुवै खण्डमा गरी नयाँ सडक करिब सात सय ६५ किलोमिटर विस्तार गर्नुपर्ने अवस्था रहेको लोकमार्ग आयोजना निर्देशनालयका प्रमुख दीपक केसीले जानकारी दिए।

आयोजना प्रमुख केसीका अनुसार पूर्वपश्चिम जोड्ने १७ सय ६५ मिलोमिटर लामो उक्त लोकमार्गमा झण्डै ८ सय ७९ किमी नयाँ सडक निर्माण कार्यका साथै आयोजना स्थापना हुनुअघि निर्माण भएर सञ्चालनमा रहेका सडकलाई मध्यपहाडी राजमार्गस्तरमा स्तरोन्नति भइरहेको छ।

बूढीगण्डकीका कारण अझै द्विविधा

लोकमार्गको पश्चिम खण्डको धादिङ जिल्लामा बूढीगण्डकी आयोजनाका कारण रोकिन गएको सडक निर्माण कार्य अब नयाँ रेखांकन गरेर जाने कि पुरानैलाई मान्यता दिइने भन्नेबारे केही दिनमै टुंगो लाग्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष कँडेलले बताए। 

जलाशययुक्त बूढीगण्डकी जलविद्युत आयोजना कसरी बन्ने भन्नेबारे मोडालिटी तयार हुन नसकेकाले सडक निर्माण कार्य रोकिन नहुने नेत्रावती डबजोङका अध्यक्ष दुर्गाकुमार शाक्यको भनाइ छ। मध्यपहाडी लोकमार्गको धादिङ खण्डको लामो दूरी नेत्रावती डबजोङमै पर्छ। 

तराईका जिल्ला जोड्ने पूर्वपश्चिम राजमार्गको विकल्पको रुपमा यसलाई लिइने गरेको छ। ०६४/६५ देखि यो निर्माण कार्य थालिएको हो।  निर्माण थालेको ७/८ वर्षभित्र उक्त लोकमार्गको निर्माण सकिने योजना बनाइएको भए पनि भौतिक प्रगतिको लक्ष्यमा पुग्न नसकेको योजना आयोगका उपाध्यक्ष कँडेल बताउँछन्। 

लोकमार्गको पूर्वी खण्डको तुलनामा पश्चिम खण्डको सडक निर्माणमा धेरै कठिनाइ रहेको आयोजनाले जनाएको छ। पश्चिम खण्डमा कडा चट्टान रहेको र सडकको दूरी पनि बढी भएकाले पूर्वको तुलनामा पश्चिमको काम सक्न बढी समय लाग्ने मध्य लोकमार्ग आयोजना निर्देशनालयका प्रमुख केसी बताउँछन्।

मध्यपहाडी लोकमार्गले पूर्वका पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, काभ्रे र सिन्धुपाल्चोकलाई जोड्ने छ। त्यस्तै काठमाडौंभन्दा पश्चिमका नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, रुकुम, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा, बैतडीलाई मध्यपहाडी लोकमार्गले जोड्नेछ।

यो मार्गको मध्यविन्दू नुवाकोटको पातीभन्ज्याङलाई बनाइएको छ। नेपाल सरकारको आन्तरिक स्रोत साधनबाटै सम्पूर्ण खर्च बेहोरिने गरी बनिरहेको यो लोकमार्गमा हाल सञ्चालनमा रहेका राष्ट्रिय तथा  साना राजमार्ग र सडक खण्डहरु जोडिनेछन्।

​कुल १ हजार ७ सय ६५ किलोमिटर लामो मध्यपहाडी लोकमार्गको चौडाइ साढे ८ मिटरको दुई लेन हुनेछ। यो लोकमार्गमा चल्ने सवारी साधनको गति ५० किलोमिटर प्रतिघण्टा तोकिनेछ।

नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी लोकमार्गका लागि सरकारले बजेटमा कञ्जुस्याइँ गरेको छैन। तर, पनि काम भने सोचेजस्तो हुन नसकेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष कँडेल बताउँछन्। मध्यपहाडी लोकमार्ग बनेपछि पहाडी जिल्लाका केही बस्ती ठूला सहरमा परिणत हुने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.