|

पाल्पा : तानसेन नगरपालिकाभित्रका सडक धमाधम फराकिलो बनाउने काम सुरु भएको छ। जिल्ला सदुरमुकामसमेत रहेको तानसेन बजारमा प्रवेश गर्न सहज होस् भन्ने उद्देश्यले सडक फराकिलो बनाउने काम भएको हो। सडक विस्तारको कामले तानसेनवासी उत्साहित बनेका छन्।

नगरपालिकासँग जोडिएका विभिन्न गाउँपालिकाको सीमासम्म सडक विस्तार गर्ने काम भएको नगर प्रमुख अशोककुमार शाहीले बताए। सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिकाको सीमामा पर्ने गौडेपुल, बगनासकाली गाउँपालिकासँग जोडिएको राइडाँडा नजिकैको खोला र रिब्दीकोट गाउँपालिकासँग जोडिएको बाहुनडाँडासम्म धमाधम सडक विस्तार गर्ने काम भइरहेको छ। उनका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने गौडेपुल, राइडाँडा नजिकैको खोला र तानसेन गुल्मी सडकखण्डको बाहुनडाँडासम्म फोर लेनको सडक विस्तार गरिनेछ।

यस्तै, राईडाँडाबाट तानसेन बजारमा प्रवेश गर्ने गैरा गाउँसम्मको सडक १२ मिटर फराकिलो बनाइनेछ। सडक स्तरोन्नति गर्न संघीय सरकारलाई दबाब दिनको लागि राजमार्ग नै विस्तार गर्ने काम तानसेन नगरपालिकाले गरेको शाहीले बताए। ‘राजमार्ग दिनानुदिन जीर्ण बन्दै गएका छन्। साँघुरा र भत्किएका सडक सममयमा मर्मत नहुँदा सवारी दुर्घटनाको दर झन् पछि झन् बढ्दै गएको छ’ उनले भने, ‘हामीले हाम्रो नगरभित्र पर्ने राजमार्ग विस्तार गरेपछि माथिल्लो निकायलाई दबाब पर्ला नि भन्ने आशा छ।'

एक करोड विनियोजन

गौडेपुसम्मको राजमार्ग विस्तार गर्नको लागि चालु आर्थिक वर्षमा एक करोड बजेट विनियोजन भएको तानसेन नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठले बताए। उनका अनुसार यो बजेटले तानसेन नगरपालिका-८ चुच्चेबारीसम्म सडक विस्तार हुनेछ। अर्को वर्ष गौडेपुलसम्मको सडक विस्तार गर्ने काम सम्पन्न हुनेछ। तानसेन गुल्मी सडक खण्डको तानसेन नगरपालिका-११ बाहुनडाँडासम्म सडक विस्तारको काम सकिएको छ। बाँकी नाली बनाउने र पीच गर्ने काम सडक विभागले गरिरहेको छ। यहाँ करिब ७० लाख बजेट खर्च भएको उनले बताए। तीन किलोमिटर सडक विस्तार गर्ने काम भएको उनले बताए।   

राजमार्ग मिचेर बनाइएका घर फाल्न चुनौती

अहिले राजमार्ग छेउका खाली जमिन भत्काएर नगरपालिकाले सडक विस्तारको काम गरिरहेको छ। तर, सडक मिचेर बनाइएका घर फाल्न नगरपालिकालाई चुनौती देखिएको छ।

गत वर्ष पाल्पा उद्योग वाणिज्य संघको नेतृत्वमा 'घर फाल्न पाइँदैन' भने आन्दोलन नै भयो। आन्दोलन थाम्न नगरपालिकालाई हम्मेहम्मे परेको थियो। यो विषयलाई नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्यालसहित केही पत्रकारमाथि हातपात नै भयो। सडकको पक्षमा पत्रकारले समचार लेखेको भन्दै उनीहरूमाथि हातपात भएको थियो।

अहिले पनि घर कसरी फाल्ने भन्ने बारेमा नगरपालिका अन्योल अवस्थामा छ। सडक मिचेर बनाइएका घर सरकारको नीति नियमअनुरूप नै भत्किने नगर प्रमुख शाहीले दाबी गरे। यद्यपि जसको घरबास नै उठिबास हुन्छ ती परिवारलाई नगर सरकारले वैकल्पिक व्यवस्था मिलाउने उनले बताए। तर, देशका अन्य कुनै ठाउँमा जमिन वा घर भएका व्यक्तिलाई भने सहयोग गर्न नसकिने शाहीले स्पष्ट पारे।

‘अन्य ठाउँमा सामान्य घडेरी भएका तर घर बनाउन नसक्ने अवस्था रहेका परिवारलाई घर बनाइदिन्छौँ’ उनले भने, ‘सम्पन्नशाली व्यक्ति र अन्य ठाउँमा घर घडेरी भएका परिवार विकासको बाधक बन्नु हुँदैन। नगर विकासको लागि हातेमालो गर्न सबै पक्षसँग अपिल गर्दछु।’

आफूहरू विकासविरोधी नभएको पाल्पा उद्योग वाणिज्य संघका महासचिव शैलेन्द्र भट्टराइले बताए। आपसी समझदारीमा आफूहरू घर फाल्न तयार रहेको उनले बताए। सरकारको नीति नियम लादेर घर फाल्न खोजिए त्यसको विरोध गर्ने भट्टराइले बताए।

‘घर फालेर माात्र विकास हुँदैन्’ उनले भने ‘यसको विकल्पमा एक आपसमा छलफल गरेर सहमति खोज्नुपर्छ।’ व्यावहारिक छलफल गरेर निष्कर्षमा पुग्न आफूहरू तयार रहेको उनले बताए। सडक छेउमा मापदण्डविपरीत बनेका ४ हजार घर रहेको संघको दाबी छ। नगरपालिकासँग भने कति घर छन् भन्ने यकिन तथ्यांक छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.