काठमाडौं : जोखिम भत्ता उपलब्ध नगराएको भन्दै एक महिनादेखि आन्दोलनरत कर्मचारीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र वीर अस्पतालका पदाधिकारीको कार्यकक्षमा ताला लगाएका छन्।
लामो समयसम्म पनि कोरोना जोखिम भत्ता उपलब्ध गराउन आग्रह गर्दा प्रशासनले आफूहरुको माग पूरा नगरेको भन्दै आन्दोलित कर्मचारीले न्याम्सका पदाधिकारीको कार्यकक्षमा ताला लगाएका नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले बताए। आफ्ना माग पूरा नभएसम्म ताला नखोलिने समेत उनले जनाए।
यसअघि उनीहरुले मंसिर ४ देखि न्याम्सका पदाधिकारीलाई अस्पताल प्रवेशमा रोक लगाएका थिए। आचार्यका अनुसार अस्पतालका निर्देशक, न्याम्सका उपकुलपति, रेक्टर, सहायक रेक्टर प्रशासन प्रमुख लेखापाल लगायतको कार्यकक्षमा ताला लगाइएको छ।
चिकित्सक र कर्मचारीले जोखिम भत्ता पाउनुपर्नेलगायत माग राखेर गत २८ कात्तिकदेखि दैनिक साढे १० देखि साढे ११ बजेसम्म अस्पताल परिसरमा प्लेकार्डसहित धर्ना तथा आन्दोलन गर्दै आएका छन् ।
गत २५ कात्तिकमा आन्दोलनरत चिकित्सक तथा कर्मचारीले त्यस्तै उनीहरुले कोरोना बिमा, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई दिन बाँकी सेवा विस्तार भत्ता, शैक्षिक भत्ता, तलब भत्ता, औषधि खरिद खर्च, दशैँ खर्च पनि भुक्तानी गर्न माग राख्दै आन्दोलन गरिरहेका छन्।
नेपाल स्वास्थ्यकर्मी संघ, फ्याकल्टी डक्टर्स एसोसिएसन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल नर्सिङ संघ, अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघ, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कर्मचारी युनियन, अखिल नेपाल श्रमिक संघले आन्दोलनमा समर्थन गर्दै आएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।