काठमाडौं : पाहुना टोली भारतविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज अष्ट्रेलियाले जितेको छ। सिड्नीमा आइतबार भएको दोस्रो खेलमा भारतलाई ५१ रनले पराजित गर्दै घरेलु टिम अष्ट्रेलियाले एक खेल अगाबै सिरिज जितेको हो।
अष्ट्रेलियाले दिएको ३ सय ९० रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३८ रन मात्र बनाउन सक्यो।
भारतका लागि कप्तान विराट कोहलीले ८९ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन्। यस्तै केएल राहुलले ७६ रनको अर्धशतकीय पारी खेले।
श्रेयस अय्यरले ३८, शिखर धवन ३०, मायांक अग्रवाल र हार्दिक पाण्डयले २८-२८ रन बनाए। रविन्द्र जडेजाले २४ रन जोडे। अष्ट्रेलियाका लागि पाट कुमिन्सले ३ विकेट लिए। जोस हाजलउड र एडम जाम्पाले २-२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ८९ रन बनाएको थियो। उसका लागि स्टिभ स्मिथले शतक बनाए । उनले ६४ बलमा ११ चौका र २ छक्कासहित १०४ रन बनाए । स्मिथको यो लगातार दोस्रो शतक हो ।
सिरिजको पहिलो खेलमा उनले १०८ रन बनाएका थिए । वानडे क्रिकेटमा भने स्मिथको यो ११ औँ शतक हो। त्यस्तै, आज डेविड वार्नरले ८३, कप्तान आरोन फिन्चले ६०, मार्नस लाबुशेनले ७०, ग्लेन म्याक्सवेलले नटआउट २९ बलमा ६३ रन बनाए।
बलिङमा हार्दिक पाण्ड्या, जसप्रीत बुमराह र मोहम्मद शामीले एक/एक विकेट लिए। जितसँगै अष्ट्रेलियाले ३ खेलको सिरिजमा २-० को अग्रता समेत बनाएको छ।
यसअघि शुक्रबार भएको पहिलो खेलमा अष्ट्रेलियाले भारतलाई ६६ रनले पराजित गरेको थियो। यी दुई टिमबीचको अन्तिम तथा तेस्रो एकदिवसीय खेल बुधबार हुनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।