सामाजिक सुरक्षा कर र कर्मचारी सञ्चय कोषमा समेत अनियमितता

|

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित रामजानकी माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखाशाखा मिलेर शिक्षकहरुको तलब भत्ता अनियमिता गरेको पाइएको छ। 

शिक्षकको कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कर जम्मा नगरेको र तलब भत्ता नपाएको भन्दै शिक्षकहरुले प्रेस विज्ञप्ति जारी गर्दै प्रशासनमा उजुरी गरेका छन्। राज्यले दिएको सेवा सुविधा जम्मा नगरी बैंकको नक्कली भौचर बनाएर लेखापालले विद्यालयमा पेस गरेका शिक्षकहरुले बताएका छन्। 

शिक्षकहरुको सेवा सुविधा निकासा गर्दै प्रधानाध्यापक देवनाथ चौधरी र लेखापाल रामशेखर राजधामीले अनिमियता गरेको शिक्षकहरु बताउँछन्। असोज महिनाको तलब र दसैं खर्चसमेत नआएको र लेखापालले आउँछ आउँछ भन्दै टारेका शिक्षक दुर्गा प्रसाद भट्टराईले दुखेसो पोखे। 

रामजानकीका १८ जना शिक्षकको २ वर्षदेखि सामाजिक सुरक्षा कर र कर्मचारी सञ्चय कोषसमेत विद्यालयले नतिरेको र करका लागि शिक्षकहरुको तलबबाट कटौती गरेको शिक्षक खगेन्द्र प्रसाद पोख्रेलले बताए।

सामाजिक सुरक्षा कर, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमा पैसा जम्मा गरेको भनेर लेखापालले बैंकको नक्कली भौचर बनाएर ल्याएको थाहा पाएपछि शिक्षकहरुले काठमाडाैं, विराटनगर गएर ‘स्टेटमेन्ट’ हेर्दा पैसा जम्मा नगरेको पाइएको शिक्षक पोख्रेलले बताए।

शिक्षक पोख्रेलले भने, 'लेखापालले लकडाउन भएको बेला चैत १३ गतेको किर्ते भौचर ल्याए अनि हामी बैंकमा बुझ्न जाँदा बैंकका म्यानेजरले त्यो समयमा बैंक बन्द भएको र कुनै पनि बैंकिङ कारोबार नभएको बताएपछि हामीले लेखापाललाई सोध्दा आलटाल गर्दै केही दिनमा जम्मा हुने भनेर टारेको बताए थिए।'

सेवा सुविधा नपाएका शिक्षकले पटकपटक विद्यालय व्यवस्थापन समिति र शिक्षक अविभावक संघलाई निवेदन दिँदासमेत समाधान नभएपछि प्रेस विज्ञप्ति जारी गरेर कानुनी प्रक्रियामा गएको शिक्षक युवराज दाहाल बताउँछन्। 

शिक्षकहरुले आफूले पाउने सेवा सुविधा पाऊँ भन्दै निवेदन हालेपछि किन निवेदन गरेको भन्दै धम्कीसमेत आउने गरेको उनले बताए। कानुनी प्रक्रियाका लागि सबै ठाउँ चहारेको र मिडियाको पनि सहयोग चाहिने भएकाले प्रेस विज्ञप्ति जारी गरेको बताएका छन्।

आर्थिक परिचालन गर्ने ठाउँमा र आर्थिक अनियमिता छानबिन गर्ने ठाँउमा समेत सहायक प्रअ अष्टबहादुर राई रहेकोले झन् समस्या आएको शिक्षकहरुले गुनासो गरे।

किर्ने भौचर आउँदा समेत बिद्यालयको कुनै गल्ति नभएको बैंकको गल्ती भएको भन्दै सहायक प्रअ राई पन्छिने गरेका शिक्षकहरुको गुनासो छ। 

२०७५/०७६ को स्रेस्तामा दोस्रो र तेस्रो चौमासिकको सञ्चय कोष, नागरिक लगानी कोष र कर दाखिलाको भौचर पेस गरेको नदेखिएको त्रियुगा नगरपालिका लेखा अधिकृत विनया बस्नेतले जानकारी दिइन्। 

शिक्षकहरुको समस्यालाई पटकपटक प्रअसँग राख्दा आलटाल गरेको शिक्षक अविभावक संघ अध्यक्ष मेघनाथ दाहालले भन्ने। यी समस्यामा छलफल गर्दा लेखाबाट सबै कागजी प्रक्रिया मिलेर आएकोले सार्वजनिक लेखापरीक्षण पास भएको उनले बताए। 

'पछि समस्या झन जटिल बन्दै गएको र बैंकको नक्कली भौचर पत्ता लागेपछि प्रअसँग बुझ्दा प्रअले लेखापाललाई देखाउने अनि लेखापाल नबोल्ने भएपछि घटना बाहिर आएको हो,' अध्यक्ष दाहालले बताए।

उनका अनुसार समस्या प्रअ र लेखापालमै छ। देवनाथ चौधरी प्रधानाध्यापक भएको ४ वर्ष भएको तर कहिले पनि कर्मचारी मिलाएर राख्न नसकेका पनि उनले गुनासो गरे।

आवश्यक कागज पत्र लिएर ३ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा प्रअ र लेखापाललाई पत्राचार गरिएको र यो विषयमा छानबिन गरेर दोषीलाई कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी शशी कुमार लम्सालले जानकारी दिए।

 प्रधानाध्यापक चौधरी उमेर हदबन्दीका कारण यही १६ गते अनिवार्य अवकाज लिँदै छन्। चौधरी र लेखपाल राजधामीलाई कार्यालयमा भेट्न जाँदा भाग्ने गरेका र टेलिफोनमा सम्पर्क गर्दा 'पत्रकार बोलेको' भन्नेबित्तिकै फोन काट्ने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.