|

विराटनगर : प्रदेश १ का तराईका तीन जिल्ला धान उत्पादनका हिसाबले अब्बल मानिन्छन्। मंसिर महिना भएकाले झापा, मोरङ र सुनसरीमा यतिबेला किसानलाई भित्र्याउने चटारो छ।

धान काट्न र भित्र्याउन मेसिनको प्रयोग बढेकाले विगतमा जस्तो उनीहरुलाई धपेडी भने छैन। बारीमै धान काट्नेदेखि धान झार्ने काम पनि मेसिनबाटै हुन्छ। यसले काममा सहजता मात्र होइन, समय र लागत रकम पनि बचत भएको छ। जसका कारण किसानहरु मेसिन प्रयोगतर्फ आकर्षित हुन थालेका छन्।

आधुनिक कृषि कर्मतर्फ बढदो आकर्षणले परम्परागत रुपमा हलो जोतेर खेती गर्ने पुरानो परम्परागत प्रणनलीलाई यसले विस्थापित समेत गर्न थालेको छ। किसानहरुले धान काट्न र भित्र्याउनका लागि यसपटक हार्भेस्टर कम्पाईन मेसिनको प्रयोग गरिरहेका छन्। तराईका मुख्य धान खेती हुने जिल्लाको ८० प्रतिशत किसानले मेसिनको सहायतका कृषि पेशा गर्दै आएको सरकारी तथ्यांक छ।

जसमा धान झार्ने थ्रेसर, मकै छोडाउने कर्न सेलर, बोरिङ पम्पसेट, जोत्ने हाते ट्रयाक्टर तथा तरकारी बालीतर्फ आरा, करौंती, सिकेचर र हजारीलगायतका यन्त्र उपकरणको प्रयोग बढ्दो छ।

एक बिघा क्षेत्रफलमा लगाइएको धान काट्न झण्डै १० दिन लाग्ने गरेकोमा हार्भेस्टर कम्पाइन मेसिनको प्रयोगले एक बिघा क्षेत्रफलमा लगाइएको धान एक घण्टामै काटेर सजिलै दाउनी पनि गर्न सहज हुने गरेको  किसानको भनाइ छ।

प्रदेश १ मा यस वर्ष भने ३ लाख ३२ हजार ९१७ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो। जसमध्ये यस वर्ष झापामा ८५ हजार ७५० हेक्टरमा रोपाइँ भएको थियो। यस्तै, मोरङमा ८० हजार ८०१ र सुनसरीमा ५३ हजार ९०० हेक्टरमा धान लगाइएको प्रदेश १ भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डा. राजेन्द्र उप्रेतीले जानकारी दिए।

सरकारले पनि कृषि यान्त्रीकरणमा विशेष अनुदानको व्यवस्था गरेपछि कोरोना महामारीका गत आर्थिक वर्षको तुलनामामा चालु आर्थिक वर्ष १२ हजार ७८२.६८ हेक्टर बढी क्षेत्रफलमा धान बाली लगाइएको उप्रेतीले बताए।

कृषि यान्त्रीकरणमा सरकारको जोड र किसानहरुको पनि बढ्दो आकर्षणले यस वर्ष प्रदेश १ अन्तर्गतमा पर्ने उच्च पहाडी जिल्लाहरुमा २ दशमलब ५ मेट्रिक टन, मध्य पहाडी जिल्लाहरुमा २ दशमलव ८ मेट्रिक टन र तराईका जिल्लाहरुमा ४ दशमलब ५ मेट्रिक टन प्रति हेक्टरका दरले धान उत्पादन भएको सरकारी तथ्यांक छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.