|

काठमाडौं : सडक डिभिजन कार्यालय काठमाडौंले अनामनगरस्थित धोबीखोला पुल निर्माणका लागि २०७२ साउन २१ मा भण्डार थोडुङ–जि टेक जेभीसँग तीन करोड दुई लाख रुपैयाँमा ठेक्का सम्झौता गर्‍याे। ठेक्का सम्झौताअनुसार २०७३ माघमा पुल निर्माण सक्नुपर्ने थियो।

केही वर्षसम्म काम भयो। वारिपारि दुई पिलर ठडियो। तर २०७४ देखि काम रोकियो। त्यही पुल चार वर्षपछि फेरि निर्माण थालिएको छ। पुल निर्माणमा खटिएका कामदारका अनुसार एक महिनादेखि पुल निर्माणको काम सुरु भएको छ।

‘पुलको पिलर धेरै अग्लो भएपछि भत्काउँदै छौँ। अब चाही काम राेकिदैँन की भन्ने आशा छ‚’ एक कामदारले सुनाए।

पुल अलपत्र छाडिँदा खोलाको पानी बस्तीतिर

समयमै पुल निर्माण हुन नसक्दा वर्षा याममा स्थानीय सास्ती भोग्न बाध्य छन्। स्थानीय शुशीला चौलागाई भन्छिन्‚ ‘पुल बनाएपछि समयमै सकाउनु नि। बीचैमा अलपत्र छाडेकाले पुलको रड,पिलरमा खोलाबाट आएको कसिङ्गर त्यहाँ अल्झिन्छ, अनि खोलाको पुरै पानी बस्तीतिर जान्छ।’

सडक डिभिजन कार्यालय र ठेकदारको चरम लापारबाहीले स्थानीय मारमा पर्ने गरेको सुनाइन्। ‘अलपत्र पुल फेरि बनाइएको छ,’ चौलागाईंले भनिन्, ‘अब समयमै सम्पन्न भएन भने सबै स्थानीय मिलेर पुरै पिलर भत्काएर पानी बग्ने खोला बनाउँछौँ। एउटा सानो पुल बनाउनलाई पनि ६ वर्ष लाग्ने यो कस्तो विकास हो?’

यता डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले जग्गा विवादका कारण पुल निर्माणमा ढिलाइ भएको बताउँछन। ‘केही स्थानीयले जग्गा नदिने भएपछि पुल निर्माणको काम रोकियो,’ उनले भने, ‘अहिले फेरि स्थानीयले जग्गा दिने मञ्जुर भएपछि काम थालिएको छ। पुल डिजाइनले पनि ढिलाइ भयो।’

सबै समस्या समाधान गरेर पुन काम थालिएको भन्दै उनले सामानहरु समयमा उपलब्ध भएमा छिट्टै काम सकिने जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.