|

काठमाडाैं : प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई भारतसँग नजोड्न आग्रह गरेका छन।

नेपाल एक स्वतन्त्र मुलुक भएकाले छिमेकीहरुसँगको सम्बन्ध पनि स्वतन्त्र नै हुने भन्दै उनले चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेको नेपाल भ्रमणलाई भारतसँग नजोड्न आग्रह गरेका हुन्।

चिनियाँ रक्षामन्त्री फेङ्हे आइतबार नेपालको एकदिने भ्रमणमा आएका थिए। रिपोर्टस क्लबमा भएको साक्षत्कारमा डा भट्टराईले छिमेकीहरुसँग नेपालको सम्पन्ध जहिले पनि स्वतन्त्र हुने उल्लेख गर्दै त्यसलाई तेस्रो मुलुकसँग जोड्ने गल्ती गर्न नहुने बताए।

‘जहिले पनि हामी स्वतन्त्र मुलुक हौँ। अर्को स्वतन्त्र मुलुकसितको सम्बन्ध स्वतन्त्र नै हो। त्यसलाई तेस्रो मुलुकसँग जोड्ने कुरा अगाडि बढायौँ भने हामी फस्छौँ। त्यो गलत हामीले गर्नुहुँदैन। नेपाल भारतको सम्बन्ध दुई मुलुकको स्वतन्त्र सम्बन्ध हो। नेपाल र चीनको सम्बन्ध पनि दुई मुलुकको सम्बन्ध हो। अन्य जुनसुकै मित्रराष्ट्रहरुसँगको सम्बन्ध पनि हाम्रो स्वतन्त्र सम्बन्ध हुन्छ,’ उनले भने।  

डा भट्टराईले नेपाली सेनालाई वार्षिक रुपमा चीनले दिँदै आएको सहयोगको निरन्तरताबाहेक अन्य कुनै गतिविधि नभएको बताए। उनले भारतसँग सीमा विवादलगायत विषयमा परराष्ट्रमन्त्रीस्तरीय जोइन्ट कमिसनको बैठक डिसेम्बर महिनाभित्र नै सम्पन्न हुने पनि बताए।  पार्टीभित्र देखिएको विवाद समाधानका लागि सम्बन्धित कमिटीमा छलफल गरी टुंगोमा पुग्नुपर्ने बताए।

पूर्व रक्षामन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले चीन र भारत दुबै देशलाई सँगै लिएर नेपालले आफ्नो हितका लागि काम गर्नुपर्ने बताए।

चीन र भारत दुवै देशलाई आफ्नो विश्वासमा लिएर काम गर्नुपर्ने पनि उनले बताए। नेपालले युद्धको अवस्था ल्याउन दिन नहुने उल्लेख गर्दै उनले भने, ‘हाम्रो सेनाको प्रयोग र सबैभन्दा बढी सदुपयोग भनेको नै युएन पिसकिपिङमा मात्रै हो, नेपालको सीमामा सेनाले त्यति चासो दिएको छैन। त्यहाँ प्यारामिट्री फोर्स र सशस्त्र प्रहरी बस्छ। सेना डाइरेक्ट जानु पनि हुँदैन। युद्धै भएको अवस्थामा मात्रै जाने हो। नेपालले युद्धको अवस्था ल्याउन दिनु पनि हुँदैन्। सुगौली सन्धिमा हामीले धेरै गुमायौं नि। हाम्रो रणनीति भनेको नै भारत र चीनलाई विश्वासमा लिएर नै नेपालको हितमा सम्बन्ध उपयोग गर्ने हो। नेपालले एक अर्काविरुद्ध प्रयोग गर्नुहुँदैन्।’

नागरिक अगुवा सुन्दरमणि दीक्षितले नेपालका राजनीतिक दल र नेताहरुलाई आफ्नो व्यक्तिगत स्वार्थभन्दा देशको हितका लागि सोचेर बढ्न आग्रह गर्नुभयो। दुई ठूला विकसित देशबीच रहेको नेपालले दुवै देशसँग सुमधुर सम्बन्ध बनाएर बढ्न सके मात्रै प्रगति गर्न सकिने भएकाले व्यक्तिगत स्वार्थमा केन्द्रित नहुन उनले आग्रह गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.