|

काठमाडौं : व्यवसायी अजेयराज सुमार्गीविरुद्ध प्रकाशित समाचार सत्यतामा आधारित नरहेको ठहर्याउँदै काठमाडौं जिल्ला अदालतले कान्तिपुर पब्लिकेसन्सले खण्डन छाप्नुपर्ने ठहर गरेको छ।

आर्थिक सौदाबाजी गरी आफूबाट अनुचित लाभ लिने नियत राखी आधारहीन समाचार छापेको भन्दै सुमार्गीले कान्तिपुर पब्लिकेसन्स, अध्यक्ष कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया र प्रधानसम्पादक सुधीर शर्मालाई विपक्षी बनाई गाली बेइज्जती मुद्दा दायर गरेका थिए।

सोमबार गरिएको अन्तिम फैसलामा न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले कान्तिपुरले खण्डन छाप्नुपर्ने फैसला गरेको हो।

विवादको चुरो तीनकुनेको जग्गा

सुमार्गी र सिरोहियाले २०७० सालमा आपसमा जग्गाको कारोबार गरेका थिए। सिरोहिया सञ्चालक रहेको काठमाडौं मार्ट प्रालिको नाममा रहेको तीनकुनेस्थित प्राइम प्रोपर्टी सुमार्गीको मुक्तिश्री सिमेन्ट प्रालिले खरिद गरेको थियो।

सुमार्गीका अनुसार‚ आफ्नो व्यवसायिक संकटको अवस्था दर्शाउँदै सिरोहियाले जग्गा खरिद गरिदिन अनुरोध गरेपछि उक्त कारोबार भएको थियो। तर‚ कारोबारको केही समयपछि सिरोहियाले पुरानै मूल्यमा जग्गा फिर्ता मागेपछि समस्या सुरू भएको सुमार्गी बताउँछन्।

त्यसपछि कान्तिपुर दैनिक, काठ्माडौं पोष्ट, कान्तिपुर टेलिभिजन आदिमार्फत सुमार्गी परिवार र सुमार्गी परिवारको स्वामित्वमा रहेका कम्पनीबारे आधारहीन समाचार सम्प्रेषण गर्न थालिएको पत्रकार सम्मेलनमा सुमार्गीले बताएका थिए। आफ्नो व्यवसायिक जीवनमा ठेस पुर्‍याउने उद्देश्यले राष्ट्रिय–अन्तर्राष्ट्रिय जगतमा बदनाम गर्नेगरी भ्रामक सामग्री निरन्तर रुपमा प्रकाशित हुन नछाडेको भन्दै सुमार्गी अदालत गएका थिए।

जग्गा विवादको लहरो तानिँदै जाँदा आफू र आफ्नो परिवारविरुद्ध भौतिक आक्रमण हुनसक्ने भय उत्पन्न भएको भन्दै सुमार्गीले प्रहरी–प्रशासन गुहार्नुपर्ने अवस्था आएको थियो।

‘झुटो सामग्री छापियो‚ खण्डन पठाउँदा छापिएन

कान्तिपुरले २०७४ पौष ९ गते ‘सुमार्गीको २२ अर्ब अबैध’ शीर्षकको सामग्री छापेको थियो। उक्त सामग्रीमा सुमार्गीको कारोबारबारे प्रहरी प्रधान कार्यालयको अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको र प्रारम्भिक प्रतिवेदन समेत तयार भएको दाबी गरिएको थियो।

त्यस्ता भ्रामक सामग्रीबारे खण्डन पठाउँदा समेत स्थान नदिइएको सुमार्गी बताउँछन्। पत्रकारिताको धर्मविपरीत सरोकारवाला पक्षको अभिमत समेत नलिइकन एकोहोरो शैलीमा ‘अनुमान’‚ ‘सम्भावना’ ‘हुनसक्ने’ जस्ता शब्दको सहाराले सौदाबाजीको नियतले पत्रिकाको दुरूपयोग हुन थालेपछि अदालत जानुपरेको सुमार्गी बताउँछन्।

काठमाडौं अदालतको सोमबारको फैसलामा अदालतले कान्तिपुर पब्लिकेसन्सबाट क्षतिपुर्ति भराइपाऊँ भन्ने मागलाई भने दाबी नपुग्ने ठहर्‍याएको छ।

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.