|

बागलङ :  धवलागिरि क्षेत्रका पुराना टेबल टेनिस खेलाडी एवं पूर्वसहायक प्रशिक्षक सुख शाक्यको ६० वर्षको उमेरमा सोमबार निधन भएको छ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा उनको निधन भएको जिल्ला खेलकूद विकास समितिका सदस्यसचिव भीमसेन शाक्यले जानकारी दिए। बागलुङ नगरपालिका–३ नौबीसेटोल निवासी सुख निमोनियाबाट पीडित थिए।

टेबल टेनिसको सहायक प्रशिक्षक पदबाट शाक्यले गत वर्ष भदौमा अनिवार्य अवकाश पाएका थिए। सुख आफू खेलाडी छँदा तत्कालीन धवलागिरि अञ्चलको प्रतिनिधित्व गर्दै थुप्रै राष्ट्रिय प्रतियोगिता खेलेका थिए।

टेबल टेनिस खेलेर पहिलोपटक धवलागिरिमा सुखले पदक भित्र्याएको सदस्यसचिव शाक्यले बताए। ‘धेरै राम्रो खेलाडी हुनुहुन्थ्यो, पछि उहाँको प्रशिक्षणबाट उत्पादन भएका खेलाडी पनि राष्ट्रियस्तरमा चिनिए,’ शाक्यले भने। उनले सुखलाई अनुशासित र मिलनसार व्यक्तित्वका रूपमा स्मरण गरे।

खेल प्रशिक्षणका सिलसिलामा सुख केही वर्ष कैलालीमा समेत बसेका थिए। उनले जिल्ला खेलकूद विकास समितिमा लामो समय सेवा गरे। सुखको निधनले जिल्लाको खेलजगत् स्तब्ध बनेको खेलाडी तथा प्रशिक्षक सङ्घ बागलुङका अध्यक्ष राजनकुमार पाइजाले बताए। सुखका एक छोरा र एक छोरी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.