कार्यालय प्रमुखमाथि उजुरी गर्न जाँदासमेत कुटिए पत्रकार

|

भद्रपुर : मालपोत कार्यालयमा घुस लेनदेनको भिडियो खिचेको भन्दै झापाका एक पत्रकारमाथि कार्यालय परिसरभित्रै आक्रमण भएको छ।

मालपोत कार्यालय दमकमा मंगलबार दिउँसो ४ बजे माउन्टेन टेलिभिजनका झापा संवाददाता र अनुसन्धान मिडियाका पत्रकार खगेन्द्र घिमिरेमाथि आक्रमण भएको हो। 

कार्यालयभित्रै पत्रकार घिमिरेमाथि कर्मचारी इन्द्र राजवंशीसहित लेखापढी व्यवसायीले आक्रमण गरेका हुन्। आक्रमणमा उनलाई सामान्य चोट लागेको बताइएको छ। पत्रकार घिमिरेका अनुसार मालपोत कार्यालयमा कर्मचारी राजवंशीलाई सेवाग्राही सुरेश साहले १० हजार घुस दिँदै गरेको भिडियो खिचेको बताए।

शिवसताक्षी नगरपालिका साबिक शिवगञ्ज गाविस– १ को जग्गा रोक्का गर्ने विषयमा सेवाग्राही साहले कर्मचारी राजवंशीलाई कार्यालयभित्रै घुस दिएको उनले बताए।

'घुस दिँदै गरेको भिडियो खिचेको भन्दै मसहित क्यामेरा पर्सन भास्कर श्रेष्ठले बोकेको क्यामेरा खोस्दै आक्रमण गरे,' पत्रकार घिमिरेले भने, 'कर्मचारीले घुस लिएपछि त्यस विषयमा कार्यालय प्रमुख तारा ढुंगेलसँग बुझ्न जाँदा उनकै अगाडि कर्मचारीका नाइके राजवंशीको उक्साहटमा लेखापढीहरूले आक्रमण गर्दै अनुहारमा दुई मुक्का प्रहार गर्नुका साथै लछारपछार गरे।'

स्थानीय क्लिनिकमा उपचार गराएका पत्रकार घिमिरे अहिले इलाका प्रहरी कार्यालय दमकमा छन्। 'कर्मचारी राजवंशीसहित कुटपिट गर्ने व्यक्तिमाथि किटानी जाहेरी दिने तयारीमा छौँ,' उनले भने, 'प्रहरीमा उजुरी दिएपछि भोलि पत्रकार महासंघ  झापामा शाखामा यस घटनाबारे जानकारी दिँदै निवेदन दिन्छौँ।'   
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.