नवनियुक्त प्रमुखले कसरी सहज बनाउलान्‌ यात्रा ?

|

काठमाडौं : केही दिनअघि मात्र महानगरीय ट्राफिक महाशाखामा प्रहरी वरिष्ठ उपरीक्षक जनकराज भट्टराई नियुक्त भएका छन्।

महाशाखा आएका भट्टराईले ट्राफिक जाम र दुर्घटना कम गर्न भएका कामलाई आफूले निरन्तरता दिने बताएका छन्। महाशाखामा आउने प्रमुखको मुख्य चुनौती नै उपत्यकामा सवारी व्यवस्थापन हो।

यसअघि करिब १५ महिना महाशाखामा प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले नेतृत्व गरे। उनले सवारी व्यवस्थापनदेखि लिएर दुर्घटना कम गर्न विभिन्न योजना ल्याए। केहीमा उनी सफल भएपनि पूर्णरुपले ट्राफिक व्यवस्थापन हुन सकेन्। उनले 'डमीबाट सवारी सतर्कतादेखि साझेदारी सवारी व्यवस्थापनका लागि स्वयंसेवाका कार्यहरू ल्याएर सचेतना फैलाउने काम गरे। यो अभियान अहिले पनि जारी छ।

यति मात्र होइन : सडकमा वरिष्ठ अधिकृतहरूको अनुहार पनि देखिन हम्मे-हम्मे पर्ने अवस्थामा ढकाल आफै| सडकमा उत्रिएर छड्के चेक गरे। ट्राफिक व्यवस्थापनका लागि चोक चोकमा पुगे। यी कामका कारण उनको निकै चर्चा पनि भयो।

ट्राफिकका नवनियुक्त प्रमुख भट्टराईले पनि यी कामलाई पूर्णरुपले कार्यान्वयन गरी अगाडी बढ्ने बताए। 'हामीले पहिल्यैदेखि हुँदै आएका कामलाई निरन्तरता दिँदै व्यवस्थापनका थप योजना ल्याउँदैछौं, यसका लागि गृहकार्य भइरहेको छ,' भट्टराईले भने, 'मेरो पहिलो ध्येय भनेको उपत्यकामा हुने ट्राफिक जाम र दुर्घटना कम गर्न भएका कामलाई निरन्तरता दिने नै हो।'

१३ सय ट्राफिकले १२ लाख सवारी व्यवस्थापन गर्न सक्लान्?

यातायात व्यवस्था विभागले तयार पारेको तथ्यांक हेर्दा काठमाडौं उपत्यकामा करिब १२ लाख सवारीसाधन छन्‌। १२ लाख सवारीसाधनलाई सडकमा व्यवस्थापन गर्न सरकारले जम्मा १३ सय ट्राफिक प्रहरी खटाएको छ।

सवारीसाधन संख्या बढ्दै जाने, तर सडकमा ट्राफिक प्रहरीको संख्या सीमित राख्दा अब सवारी व्यवस्थापन गर्न कठिन हुने पक्कापक्की छ। अब ट्राफिक प्रहरी संख्या थप्नुपर्ने आवश्यकता रहेको भट्टराई बताउँछन्‌।

'हामीसँग सीमित जनस्रोत छ। यसलाई नै उच्चतम परिचालन गर्नुपर्ने बाध्यतामा छौं', उनले भने, 'हाम्रीकहाँ ट्राफिक व्यवस्थापन पनि अलि 'म्यानुअल' प्रकृतिको छ, अहिलेसम्म हामी आफैं उपस्थित भएर ट्राफिक व्यवस्थापन गर्ने प्रणालीमा छौं, अब भने प्रविधिको प्रयोगतर्फ पनि अगाडी बढ्नुपर्ने हुन्छ, जसले विभिन्न चोकमा ट्राफिकको अनुपस्थितिमा पनि व्यवस्थापनमा काम गर्न सहजता ल्याउँछ, त्यसका लागि ट्राफिक लाइटदेखि सिसिटिभी प्रयोग बढाउनुपर्छ।'

यसका लागि छलफल जारी रहेको उनले बताए। 'यसका लागिमहानगर, सडक विभाग र निजी क्षेत्रसँग सहकार्य गर्दै व्यवस्थापन गर्नुपर्ने हुन्छ, म पहल गर्नेछु', उनले भने।

जुनियर ट्राफिकसँगको सहकार्य

हामीले राजधानीका अधिकांश चोकमा जुनियर ट्राफिक जवानहरूको संख्या देख्ने गरेका छौं। सिनियर ट्राफिक अधिकृतहरू भने सडकमा आएर सवारी व्यवस्थापनमा खटिएको देख्न मुस्किल हुन्छ। उनीहरू सडकमा उत्रिएर जुनियर ट्राफिकसँग सहकार्य गर्ने गरेको दुर्लभ नै हुन्छ।

जुनियर ट्राफिक अधिकारीलाई कामप्रति अपनत्व महसुस गराउन नसक्नु अहिले सिनियर ट्राफिकहरूको समस्या हो। तर, भट्टराई भने यो समस्या नरहेको दावी गर्छन्‌। 

'हामी कहाँ जुनियर ट्राफिकहरूको संख्या बढी छ। यसकारण सडकमा उनीहरूको उपस्थिति बाक्लो देखिने हो, उनीहरूको अनुपातमा सिनियर अधिकृतहरू कम हुनुहुन्छ, उहाँहरूले पनि सवारी व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलिरहनु भएको छ', उनले भने, 'सडकमा खटिने ट्राफिकहरूको भूमिका महत्वपूर्ण छ, उहाँहरूको मिहिनेतलाई हामीले नकार्न सक्दैनौं, यद्यपी उहाँहरू जस्तै सिनियर अफिसरहरूले कम काम गरिरहनु भएको छ भन्ने पनि होइन्, उहाँहरूको आफ्नै काम र कर्तव्यहरू छन्, पीक आवरमा उहाँहरू सडक अनुगमन गरिरहनु भएको हुन्छ, ड्युटीको प्रकृति अनुसार काम गरिने भएकोले जवानहरू मात्र सडकमा खटिएका हुन् भन्ने आम बुझाई छ, हाम्रो काम सडकमा सवारी व्यवस्थापन र सुरक्षा नै हो।'

ट्राफिक लाइटकै खोजी

शहरलाई सभ्य बनाउन र यहाँको सवारी जामले देखाउने असभ्यतालाई हटाउन ट्राफिक लाइट एक महत्वपूर्ण कडी हुनसक्ने भट्टराई बताउँछन्।

'यो सभ्यताको द्योतक पनि हो, म्यानुअल ट्राफिक प्रणालीले भन्दा प्रविधिको विकास गर्न सकियो भने थप सभ्य बनाउन सकिन्छ,'  उनी भन्छन्‌, 'चक्रपथभित्र ट्राफिक लाइट र सिसिटिभी थपेर हरेक सवारी चालकलाई ट्राफिक नियम उल्लंघन गर्नबाट रोक्न सकिन्छ।'

सभ्य र सुरक्षित शहर बनाउन हरेक नागरिकले आफूले बिना बर्दीका प्रहरी हौं भनेर चेतना फैलाउन सकियो भने अप्ठ्यारो नहुने उनी बताउँछन्‌। आवश्यक पूर्वाधार र नागरिक सहकार्यका लागि सम्बन्धित निकायमा आफूले प्रस्ताव पठाउने तयारी गरिरहेको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.