|

बेइजिङ : चीनले चन्द्रमाको सतहमा सफलतापूर्वक अन्तरिक्ष यान अवतरण गराएको छ। चाङ्ग ई–५ नामको उक्त यान गएराति निर्धारित स्थान नजिकै अवतरण गराइएको हो।

उक्त यानले चन्द्रमाको सतहको माटो र ढुंगाको नमुना संकलन गरी जाँचका लागि पृथ्वीमा पठाउनेछ। यानमा क्यामेरा‚ राडार‚ ड्रिल मेसिन र स्पेक्टोमिटर जडान गरिएको छ। उक्त ल्याण्डरले दुई किलोसम्म ढुंगामाटो संकलन गर्ने क्षमता राख्छ।

चाङ्ग ई–५ अवतरणको ४४ वर्षअघि सोभियत संघको लूना–२४ मिशनले दुई सय ग्राम माटो पृथ्वीमा पठाएको थियो। गतसाता चिनिया टेलिभिजनहरूले चाङ्ग ई–५ प्रक्षेपणको प्रत्यक्ष प्रशारण गरेका थिए। टेलिभिजनहरूमा बुधबार चाङ्ग ई–५ ले पठाएका चन्द्रमाको सतहका तस्बीरहरू प्रशारण गरिएका छन्।

अमेरिकी स्पेस एजेन्सी नासाले चिनियाँ मिशनको सफलताका लागि बधाई दिएको छ। नासाका वरिष्ठ अधिकारी डाक्टर थोमस जरबुचेनले चिनियाँ मिशनको सफलता समस्त अन्तर्राष्ट्रिय सोधकर्मीलाई फाइदा हुने बताए।

चाङ्ग ई–५ अघि चीनले थप दुई मिशन चन्द्रमामा पठाएको थियो। चाङ्ग ई–५ मार्फत चन्द्रमाको भूवैज्ञानिक इतिहासबारे थप जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ। मिशनबाट प्राप्त हुने नमूनाको आधारमा वैज्ञानिकहरू ‘क्रोनोमिटर’ तयार गर्नेछन्‚ जसबाट सौर्यमण्डलका ग्रहहरूको उत्पत्तिको समय पत्ता लगाउन मद्दत पुग्नेछ।

चन्द्रमाबाट फर्कने चाङ्ग ई–५ को मोड्युल मंगोलियाको घाँसे मैदानमा ल्याण्ड गर्ने चिनियाँ अधिकारीहरूले बताएका छन्। यूरोपेली अंतरिक्ष एजेन्सीका वैज्ञानिक जेम्स कार्पेन्टर भन्छन्‚ ‘चाङ्ग ई–५ अत्यन्तै जटिल मिशन हो। चिनियाँहरूले शानदार काम गरेका छन्। उनीहरूले सुनियोजित तरिकाले एकपछि अर्को कदम बढाउँदै अन्तरिक्ष खोज सम्बन्धी आफ्नो क्षमतामा उल्लेख्य वृद्धि गरेका छन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.