यसले परिणाम नराम्रो हुने चेतावनी

|

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेका छन्। उनले वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ प्रहरीले रिहा गर्नुअघि ओलीलाई फोन गरेका थिए।

उनले पौडेललाई रिहा नगरे त्यसको परिणाम नहुने बताएका थिए। तनहुँमा पुल नवनिर्मित पुल उद्घाटन गर्न पुगेका वरिष्ठ नेता पौडेललाई तनहुँ प्रहरीले निषेधाज्ञा तोडेको भन्दै नियन्त्रणमा लिएको थियो। पौडेललाई साँझ प्रहरीले रिहा गरेको हो।

पुल उद्घाटन गर्न पौडेल आउने थाहा पाएपछि तनहुँ नेकपा कार्यकर्ताले त्यसको विरोध गरेका थिए। कांग्रेस र नेकपाका कार्यकर्ताबीच झडप हुने अनुमान गरी तनहुँ प्रशासनले आज (बुधबार) बिहानै देखि निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञाकै बीच पुल उद्घाटन गर्न जाँदै गर्दा पौडेललाई प्रहरीले घेरा हालेको थियो।   
पौडेल पक्राउ परेपछि देउवाले प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेका छन्।

‘सभापति ज्युले प्रधानमन्त्रीसँग टेलिफोनमा कुराकानी गर्नु भयो,’ देउवाका स्वकीय सचिव भानु देउवाले भने,‘प्रधानमन्त्रीसँग उहाँ (देउवा)ले किन समातेको रामचन्द्रलाई भनेर सोध्नु भयो। प्रधानमन्त्रीले स्थिति नियन्त्रण बाहिर जान लागेपछि रामचन्द्रजीकै सुरक्षाका लागि नियन्त्रणमा लिएको भनेर प्रधानमन्त्रीले भन्नु भयो। पछि सभापतिज्युले तत्कालै रामचन्द्रलाई छोड्नु नभए यसको परिणाम राम्रो नआउने बताउनु भयो।’ 

प्रधानमन्त्री ओलीले देउवालाई पौडेलकै सुरक्षाका लागि प्रहरीले नियन्त्रणमा लिएको जवाफ दिएपछि देउवाले प्रश्न गरेका थिए। ‘रामचन्द्रको सुरक्षाको लागि हो भने किन चौकीमा लगेको?’ देउवालाई उदृत गर्दै उनका स्वकीय सचिव भानु देउवाले भने।  

तनहुँमा कांग्रेसका कार्यकर्ताले पौडेलको रिहाइको माग गर्दै प्रदर्शन जारी राखेका छन्।  तनहुँ प्रहरीले नेकपाका पाँच नेता कार्यकर्तालाई पनि बिहानै देखि नियन्त्रणमा लिएको छ।  संघीय सरकारको बजेटमा बनेको पुल रामचन्द्र पौडेलले उद्घाटन गरेको भन्दै नेकपा तनहुँले विरोध गरेको हो।   

कांग्रेस सांसद गगन कुमार थापाले पनि रामचन्द्र पौडेलको गिरफ्तारी प्रधानमन्त्री ओलीलाई निकै महंगो पर्ने बताएका छन्। 'नेका वरिष्ठ नेता रामचन्द्र पौडेलको ​गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुनै सक्दैन,होइन। यो नियोजित हो,राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो। यसले यो सरकारको चरित्रलाई उदाङ्गो बनाएको छ। केपी शर्मा ओली यो तपाईँका लागि निकै महँगो पर्नेछ,' थापाले फेसबुकमा लेखेका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.