अवस्था सामान्य बन्दै, पहिलेझैं हुनेछ हरेक समय

|

काठमाडौं : राजधानीको ठमेलमा करिब नौ महिनापछि रात्रिकालीन व्यवसाय सुरु भएको छ। सधैं रुमानी हुने ठमेल कोरोना महामारीपछि सुनसान बनेको थियो। बुधबारदेखि भने ठमेलका क्लब, रेस्टुरेन्ट र बाटोमा मानिसको चहलपहल देख्न पाइने छ। 

व्यवसाय संकटमा पर्न लागेको भन्दै ठमेलका व्यवसायीले आन्दोलन गर्नसमेत थालेका छन्। पर्यटकीय पसल, रातमा खुल्ने रेष्टुरेन्ट,क्याफे तथा क्लब खुल्न थालेका छन्। महामारी सुरु भएपछि देशव्यापी गरिएको लकडाउनले यो ठाउँ पूरै प्रभावित बनेको थियो। अहिले भने ठमेलमा भीडभाड क्रमश: बढदै छ। 

ठमेलको चर्चित नाइट क्लब 'एलओडी' पनि गएराति देखि खुलेको छ। क्लबको रुपमा सञ्चालन नगरी रेष्टुरेन्टको सेवा थालेको उसले जनाएको छ। जहाँ पूर्वराजा ज्ञानेन्द्रका परिवार गएर नाचेका थिए। क्लबले निश्चित सामाजिक दूरी, स्यानिटाइजर र शरीर तापमान जाँची भित्र प्रवेश गर्न दिइने व्यवस्था मिलाएको छ।

अधिकांश व्यवसायले वातावरण सहज हुँदै गएपछि चहलपहल बढाएका छन्। स्वास्थ्य मापदण्ड अपनाएर धेरैजसो पसल, क्लबलगायत खुल्न थालेका 'एल ओडी' क्लबका सिइओ रवीन श्रेष्ठ बताउँछन्। 

प्रशासनकै अनुमति लिएर रेष्टुरेन्टमा राति ९ बजेसम्म संगीतिक कार्यक्रम गरिएको श्रेष्ठले बताए। १० बजेभित्र सबै हललाई स्यानिटाइज गरी बन्द गरिने उनले जनाए। प्रवेशद्वारमा मानिसको तापक्रम जाँचेर मात्र भित्र छिर्न दिइएको उनको भनाइ छ। उनका अनुसार प्रवेशद्वारमा बाहिरी लुगामा पूर्ण रुपमा स्यानिटाइजर गरिन्छ।

‘पाहुनाहरूले अनिवार्य मास्क र सामाजिक दूरी कायम गर्नुपर्ने छ,’श्रेष्ठले भने,’ क्लबका कर्मचारीहरुले पन्जा, मास्क र फेस लगाएका छन्। ‘५ मिटरको दूरीमा टेबल राखिएको छ। पहिलो दिन रेष्टुरेन्टमा १ सय ५० हाराहारीमा ग्राहकको उपस्थिति थियो।

कोरोना जोखिम बढेमा पुनः बन्द गरिने र संकटमा कसरी व्यवसाय सञ्चालन गरिन्छ भनेर बिस्तारै अभ्यास गर्न थालिएको पनि उनले बताए। 

लकडाउनको १-२ महिना सम्म क्लबका सम्पूर्ण कर्मचारीलाई मासिक तलब दिएको उनले जानकारी दिए। 'महामारी कहिलेसम्म लम्बिने थाहा छैन, व्यवसाय बन्द हुन लागेकाले सबै सरोकार निकायसँग छलफल गरी व्यवसाय सुचारु गर्न लागेको छौं, 'उनको तर्क छ। लकडाउनयता क्लबले भाडा मात्र करिब ७० लाख तिर्न बाँकी छ।

त्यस क्लबमा १ सय ६० जना कर्मचारी छन्। सुरुवातमा स्टाफलाई राहतस्वरुप रकम र खाद्यान्न वितरण गरिएको उनले बताए। उनीहरुकै रोजीरोटीका लागि जोखिम मोलेर व्यवसाय खोलिएको पनि श्रेष्ठ तर्क गर्छन्। 

नियमित व्यवसाय सञ्चालन हुँदा एलओडीले दैनिक ८ देखि १० लाख रुपैयाँसम्मको कारोबार गर्ने गरेको उनले जानकारी दिए। थोरै समय ३ देखि ४ घन्टा खुल्छ लयमा फर्कन पनि समय लाग्ने उनको भनाइ छ। 

कोरोना कहर सामान्य नभएसम्म क्लबमा प्रवेश निशुल्क गरिने उनले जानकारी दिए। महामारीअघि प्रवेश शुल्क १ हजार र क्यान बियरसहित महिलालाई निशुल्क प्रवेश गराइएको थियो।

करिब २ वर्षअघि १६ करोडको लागतमा क्लब स्थापना भएको थियो। एलओडीलाई नेपालकै उत्कृष्ट क्लबमध्ये लिइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.