मुख्यमन्त्रीको वडामा २६ करोडको पुल

|

हेटौंडा : बागमती प्रदेश राजधानी हेटौंडाको मुख्य बजारबाट चितवनतर्फ (पूर्वपश्चिम राजमार्गबाट) जाँदा राप्ती पुल तरेपछि ठूलो बस्ती छ।

थानाभर्‍याङ र नवलपुरमा प्रदेश प्रहरीदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यालयसम्मका कार्यालयहरु छन्। हेटौंडा उपमहानगरपालिकाको ११ नम्बरको ठूलो बस्ती भएको क्षेत्र हो यो।

त्यसको ठीक पारि छ– हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरी (साविकको पदमपोखरी गाविस)। यी दुई ठूला बस्ती राप्ती खोला वारिपारि भए पनि यातायात पहुँच नहुँदा टाढाको चिनजान जस्तै रहेको स्थानीयहरु बताउँछन्। 

हिउँदमा राप्तीबाट ट्याक्टर वारपार हुन सके पनि अधिकांश समयमा १२ नम्बर वडाबाट सवारी साधन ११ नम्बर वडामा आउन नसक्ने अवस्था थियो। २०४६ सालको जनआन्दोलनभन्दा अघिदेखि नै ११ र १२ नम्बर वडा जोड्ने पुल बनाउन स्थानीयहरुले माग गर्दै आएका थिए।

पञ्चायतकालमा पनि पटक पटक उक्त क्षेत्रमा पुल बनाउन आफूले माग गर्दै आएको राप्रपा मकवानपुरका सल्लाहकार तथा अगुवा नेता सीताराम बर्तौला बताउँछन्। उनका अनुसार बहुदलको समयमा बारम्बार चर्चा भएर सेलाउँदै आएको पुल लामो समयपछि बल्ल उद्घाटन भएको छ। 

हेटौंडा–१२ का वडाध्यक्ष ललित घलानले पुल निर्माणको योजना ल्याएर उपमहानगरभित्रै भएर पनि विकट क्षेत्रका रूपमा रहेको पदमपोखरी पुल निर्माणले ठूलो सहयोग पुग्ने बताए। उनले साबिकको पदमपोखरीका जनताले पटक पटक प्रयास गर्दा पनि नसकेको काम बल्ल सम्भव भएको बताए।   

यस्तै हेटौंडा–११ का वडाध्यक्ष गोकर्ण पराजुलीले पुलको निर्माणपछि हेटौंडाको मध्यबजार क्षेत्रको सवारी चापलाई कम गर्न पदमपोखरीको बाटो हुँदै पास गर्दा सहयोग पुग्ने बताए। उनले दुई वटा ठूला बस्तीबीच पुलले सम्बन्धसमेत प्रगाढ बनाउने बताए। 

मुख्यमन्त्रीको आफ्नै वडामा सर्वाधिक लागतमा पुल

मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार उद्घाटन गरेको पुल बागमती प्रदेशको अहिलेसम्मकै ठूलो लगानीको हो। पौडेलको स्थायी निवास नजिकै प्रदेशको २६ करोड ४१ लाख ८७ हजार २ सय रुपैयाँ लागतमा निर्माण हुन लागेको पुलको आफैंले उद्घाटन गरेका हुन्।  

२१५ मिटर लामो र ११ मिटर चौडाइ हुने पुलमा ४ वटा स्पाम हुने छ। यस्तै पुलको गाडी हिँड्ने भाग ७.५ मिटर तथा फुटपाथ १.५ मिटरको रहने भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत बागमती यातायतात पूर्वाधार निर्देशनालयका निमित्त निर्देशक डा. सहदेव भण्डारीले बताए।

भण्डारीका अनुसार पुलसँगै दायाँबायाँ ३ सय ५०, मिटर गरी ७ सय मिटरको सडक निर्माण हुनेछ भने दुवैतिर गरी ७ सय मिटर लामो तटबन्ध निर्माण हुने छ। पुल निर्माणको ठेक्का काठमाडाैंको एलिट कन्स्ट्रक्सन प्रालिले पाएको भण्डारीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.