भ्रष्ट कर्मचारीलाई जनकारबाही गर्ने विप्लवको चेतावनी

|

भद्रपुर : पत्रकारलाई कुटपिट गर्ने कर्मचारीलाई तत्काल पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय झापाले प्रहरी कार्यालय झापालाई आदेश दिएको छ। 

पत्रकार खगेन्द्र घिमिरेलाई कुटपिट गर्ने मालपोत कार्यालय दमकका कर्मचारी इन्द्र राजवंशीलाई पक्राउ गर्न झापा प्रशासनले बिहीबार अनुमति दिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

कर्मचारीको नाममा मुद्दा दर्तासँगै पक्राउ पुर्जी जारी भइसकेको बताउँदै डिएसपी थापाले भने, 'शुक्रबार कर्मचारीलाई पक्राउ गर्ने छौँ, कार्यालयभित्र भएको घटनाको विषयमा सिसी क्यामेरा कैद भएको दृश्यबाट थप अनुसन्धान गर्छौं र दोषीलाई कानुनबमोजिम कारबाही हुन्छ।'

मालपोत कार्यालय दमकमा मंगलबार दिउँसो ४ बजे माउन्टेन टेलिभिजनका झापा संवाददाता र अनुसन्धान मिडियाका सम्पादक घिमिरेमाथि कर्मचारी राजवंशी र केही लेखापढी व्यवसायीले कुटपिट गरेका थिए। 

 

​कर्मचारी राजवंशीले सेवाग्राही सुरेश साहसँग १० हजार घुस लिएको र सो विषयको रिपोटिङ गर्न घिमिरे कार्यालय पुगेका थिए। पत्रकार घिमिरे घुस लिँदै गरेको दृश्य क्यामेरा कैद गरेपछि उनीमाथि कर्मचारी राजवंशीले नियोजित रुपमा आक्रमण गर्दै कुटपिट गरेका थिए।

कर्मचारी राजवंशीले शिवसताक्षी नगरपालिका साबिक शिवगञ्ज गाविस–१ को जग्गा रोक्का गर्न कामका लागि सेवाग्राही साहसँग घुस लिएका थिए। पत्रकार घिमिरे र उनीसँग गएका क्यामेरा पर्सन भास्कर श्रेष्ठमाथि आक्रमण भएको थियो।

कर्मचारीले कुटपिट गरेपछि सोही दिन बेलुका पत्रकार घिमिरेले कर्मचारी राजवंशीविरुद्ध इलाका प्रहरी कार्यालयमा अभद्र व्यवहार भन्दै किटानी जाहेरी दिएका थिए।

यता पत्रकार घिमिरेलाई कुटपिट गरेको घटना बाहिरिएसँगै नेपाल पत्रकार महासंघ झापा शाखासहित विभिन्न पत्रकारहरूको छाता संठनले विज्ञप्ति जारी गर्दै भ्रष्ट कर्मचारीलाई कारबाही नगरे सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। 

विप्लवले दिए जनकारबाही गर्ने चेतावनी 

मालपोत कार्यालय दमकमा पत्रकारमाथि कुटपिटको भएको विषयमा नेत्र चन्द्र विक्रम विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनकारबाही गर्ने चेतावनी दिएको छ। आज एक विज्ञप्ति जारी गर्दै पार्टीले दमक मालपोतमा भएको लज्जास्पद घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टीका तर्फबाट दमक नगर कमिटी सेक्रेटरी समरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘घटनासम्बन्धी सम्पूर्ण प्रमाण बाहिर आउँदासमेत भ्रष्ट कर्मचारीलाई आनाकानी गरिरहेको प्रशासनप्रति खेद प्रकट गर्दै अविलम्ब कारबाही गर्न हाम्रो पार्टी अनुरोध गर्दछ।’ अन्यथा जनताको जनसत्ताद्वारा भ्रष्ट कर्मचारी माथि खुलेआम जनकारबाही गरिने निश्चित रहेको कुरा अवगत गराउँदछौँ, विज्ञप्तिमा उल्लेख गरिएको छ।

मालपोत दमकले माग्यो माफी

मालपोत कार्यालय दमकले मंगलबार कार्यालयभित्र भएको घटनाप्रति दु:ख प्रकट गर्दै यसको निष्पक्ष छानबिन गरेर दोषीउपर कारबाही गर्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ।

मालपोत कार्यालयका प्रमुख तारानाथ दंगालले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन्। सेवाग्राही तथा पत्रकारहरू प्रतिको घटना दुखद् भएको भन्दै यसबाट पर्न गएको असुविधाप्रति मालपोत कार्यालयले माफी मागेको छ।

यस विषयलाई गम्भीर रुपमा लिएका छौं, विज्ञप्तिमा भनिएको छ। मालपोत कार्यालय दमकका कर्मचारीलाई सेवाग्राहीले १० हजार घुस दिएको भिडियो खिच्न जाँदा पत्रकार घिमिरेमाथि हातपात तथा दुर्व्यवहार भएको थियो। यस विषयमा मुछिएको कर्मचारी इन्द्र राजवंशीलाई कार्यालयले २४ घण्टे स्पष्टीकरण पनि सोधिसकेको मालपोत स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.