पहिलो चरणमा फ्रन्टलाइनमा र जोखिम समूहमा रहेकालाई दिइने

|

काठमाडौं : बेलायत र रुसले अर्को सातादेखि आफ्ना नागरिकलाई कोरोना भाइरस संक्रमणविरुद्ध खोप दिने घोषणा गरिसकेका छन्। चीन, अमेरिका, ब्राजिल, अस्ट्रेलिया, जर्मनीलगायत ठूला अर्थतन्त्र भएका देशले आफ्ना नागरिकलाई सन् २०२१ नलाग्दै खोप दिने बताइसकेका छन्।

तर, नेपालमा भने कहिलेसम्म कोरोनाविरुद्धको खोप आइपुग्छ भन्ने अनुमानमै छ। यद्यपि सरकारले त्यसका लागि आवश्यक तयारी गरिरहेको बताइरहेको छ। 

यसअघि सरकारले कोभिड–१९ महामारीविरुद्ध खोप प्राप्तिका लागि तेस्रो चरणको परीक्षण गरिरहेका राष्ट्रलाई कूटनीतिक नोट पठाइसकेको छ। हाल विश्वमा कोरोनाविरुद्ध तेस्रो चरणको खोप परीक्षणमा रहेका  मुलुकहरु भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, रुस र अस्ट्रेलियालगायत हुन्। 

खोप तयार हुँदा त्यसको प्रयोग गर्ने अवसर ढिला नगरी नेपालीले प्राप्त हुने हिसाबले काम बढिरहेको बताउँछन् स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका प्रमुख विज्ञ सल्लाहकार डा खेम कार्की।

उनका अनुसार हाल खोप तेस्रो चरणमा छ। आउनेबित्तिकै नेपाल ल्याइने छ र पहिलो चरणमा फ्रन्टलाइनमा रहेका र जोखिम समूहमा रहेकालाई दिने तयारी भएको छ। नेपालमा देखिएको भाइरसको प्रकृति अध्ययनका लागि राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदले पनि नेपालको भाइरस सुहाउँदो खोप ल्याइने बताएको छ।

अहिले खोप परीक्षण भइरहेका मुलुकहरूमा डिसेम्बर महिनाभित्र ती खोपहरू उपलब्ध हुने विवरणहरू आइरहेका छन्। डा कार्कीका अनुसार सरकारले कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय दातृ निकाय, कोरोना भाइरस खोप व्यवस्थापन गर्न बनेको कोभ्याक्स फेसिलिटिजसँग समन्वय गरिरहेको छ।

भने, ‘खोप तयार भइसकेको औपचारिक घोषणा भइसकेको छैन तर हामीले र घोषणा हुनासाथ नेपालमा पनि ढिला नगरी त्यो खोप ल्याउने तरिकाले काम गरिरहेका छौँ।‘

२० प्रतिशत जनसंख्याका लागि खोप सुनिश्चित

कोरोना भाइरसविरुद्ध उत्पादित खोपको व्यवस्थित वितरणका लागि विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, सामाजिक संस्था, परोपकारी संस्थाहरुको समन्वयमा एउटा साझा संस्था (कोभ्याक्स फेसिलिटिज) खोलिएको छ। यसमा विश्वका १८० भन्दा बढी मुलुकहरु आबद्ध छन्। त्यसको एउटा सदस्य नेपाल पनि बनेको छ।

यो संस्थाले गरिब र धनी मुलुकबीच खोप पाउने समयमा तलमाथि नहोस् तथा समान ढंगले एकैपटक खोप पाऊन् भन्ने योजनाका साथ काम गरिरहेको छ।

त्यसले कोरोनाविरुद्ध खोप हो भनेर अन्तिम घोषणा भएको र सूचीकृत र प्रभावकारी भएका कम्पनीका पहिलो लटमा २ अर्ब डोज खोप खरिदका लागि युनिसेफमार्फत टेन्डरसमेत आव्हान गरिसकेको छ।

डा कार्कीले भने, 'अकोभ्याक्स फेसिलिटीमार्फत पाइने  खोप ल्याउन आवश्यक गृहकार्य अहिले हामीले गरिरहेका छौँ, नेपालमा पनि छिट्टै यो खोप आउँछ। कोभ्याक्स फेसिलिटिजमार्फत हामीले  सो काम गरिरहेको छाैं।’

कोभ्याक्सले पनि हरेक देशका कुल जनसंख्याको २० प्रतिशत जनताका लागि खोप उपलव्ध गराउने भनेको छ। यसले त्यसमध्ये पहिलो चरणमा अर्थात् सुरुमै कुल जनसंख्याको ३ प्रतिशत खोप कोभिडविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुलाई दिनुपर्ने मापदण्डसमेत बनाएर पठाएको डा गौतमले बताए। उनले बाँकी १७ प्रतिशत खोप जोखिमयुक्त समूहका लागि प्राथमिकता तय गरी लगाउन भनेको छ। नेपालले भने सो समूहमा ५५ वर्ष माथिका नागरिकलाई राखेको छ।

कोरोना खोपको ‘मार्केटिङका लागि रसियन उच्चस्तरीय टोली आउने

यस्तै अर्को सातादेखि आफ्ना नागरिकलाई कोभिड–१९ विरुद्ध खोप दिने घोषणा गरेको रसियाले ‘ग्लोबल मार्केटिङ’ सँगैसँगै सुरु गर्ने भएकोले अर्को साता आफूले तयार गरेको खोप ‘स्पुतनिक भी’ को नमुनासहित उच्चस्तरीय प्रतिनिधि मण्डल नेपाल आउने भएको छ।

यसबारे नेपालस्थित रसियन दूतावासका उच्च अधिकारीले र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेट गरी सो जानकारी गराइसकेका छन्।

उनीहरुले अर्को साता आउने टोलीले ‘स्पुतनिक भी’ को ५ हजार स्याम्पल लिएर आउने भन्दै त्यसको भण्डारण व्यवस्थापन गरिदिन आग्रहसमेत गरेका छन्।

‘डिसेम्बर ९ मा टोली आउँदै छ। उनीहरुले आफूले तयार गरेको खोपको पाँच हजार थान स्याम्पलसमेत ल्याउँदैछन् लिएर आउने जानकारी गराएको छ,’ स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डा कार्कीले भने, ‘उहाँहरुले पनि आफ्नो देशमा उत्पादन भएको खोपबारे हामीलाई जानकारी दिनुहुनेछ।'

रसियन टोलीले आफूले उत्पादन गरेको खोप प्रयोगको अवस्था, यसको भण्डारणका विषयमा जानकारी गराइसकेका छन्। उनीहरुले मन्त्रालयका अधिकारीहरुलाई यो खोप दुईदेखि ८ डिग्री तापक्रम र माइनस १८ डिग्री तापक्रममा राख्न मिल्नेगरी तयार पारिएको जानकारी दिएका थिए।

नेपालमा अहिले २ देखि ८ डिग्री तापक्रममा रहने खोपको भण्डारण गर्ने क्षमता छ। पछिल्लो समय बेलायत, रसिया, क्यानडालगायत देशले खोप ल्याउने प्रतिस्पर्धा सुरु गरिसकेका छन्

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.