|

काठमाडौं : ठमेल काठमाडौं उपत्यकाकै पर्यटकीय केन्द्र हो। यो बाह्य तथा आन्तरिक पर्यटकको संगमस्थल पनि हो।

करिब ९ महिनासम्म बन्द भएको ठमेलको व्यवसायिक जीवनलाई अहिले निरन्तरता दिन रात्रीकालीन व्यवसायी आन्दोलित छन्। सबैतिरका व्यवसाय सञ्चालन भइरहेका छन्।

स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ भन्दै व्यवसायी आन्दोलनरत छन्। महामारीपछि ठमेललाई फेरि गुल्जार बनाउन सरकार र सरोकारवाला निकायले लिनुपर्ने पहलकदमीबारे सरकारले यसलाई माथि उठाउन के गर्नुपर्छ भनी ठमेल पर्यटन परिषदका उपाध्यक्ष राजुमान डंगोलसँग थाहाखबरले बुझ्ने प्रयास गरेको छ।

कोरोना महामारीकै समयमा मुलुकभर अन्य सेवा प्रवाह गर्न थालिएको छ, काठमाडौंकै प्रसिद्ध पर्यटकीय क्षेत्र ठमेलको व्यवसाय भने सहज रूपमा सञ्चालन भएको छैन, ठमेललाई साविकको अवस्थामा फर्काउन तपाईंहरूले के-कस्ता काम गरिरहनुभएको छ?

ठमेल नेपालको चर्चित ठाउँ हो, यसमा कुनै दुईमत छैन। यस क्षेत्रमा दिवा र रात्रीकालीन व्यवसाय उत्कृष्ट मानिन्छ। उपत्यकामा कोरोना जोखिम नहटिसकेको भन्दै दिवा सेवालाई रातको ९ बजेसम्म सञ्चालन गर्न दिने भनिएको थियो।

ठमेलजस्तो ठाउँमा निश्चित समय तोकेर व्यवसाय खोल्न दिने निर्णय गर्नु नै अव्यावहारिक हो। भाइरसको जोखिम भए अन्य क्षेत्रमा पनि हुन्थ्यो होला। तर यहाँका व्यवसायीलाई किन खोल्न दिइएन, त्यो एकदमै गम्भीर रूपमा सोच्ने बेला भएको छ। ठमेलमा मात्र कोरोना आउने भन्ने हुन्न नि !

यहाँको मुख्य आकर्षण भनेको रात्रीकालीन व्यवसाय हो। यसलाई सहज रूपमा सञ्चालन गर्न नदिएमा यो क्षेत्र जीवन्त हुन्न। दिउँसो कोरोना राती नआउने भन्ने हुन्छ र कोरोनाको नाममा व्यवसायमा विभेद गर्न हुँदैन। मुलुक र काठमाडौं क्षेत्रलाई आर्थिक रूपमा मजबुत बनाउनुछ भने ठमेलको सम्पूर्ण व्यवसाय सञ्चालन गर्न दिनुपर्छ।

व्यवसाय सञ्चालन गर्न दिएमा महामारीका बेला थलिएको ठमेल केही समयमा उठ्नसक्छ। सरकारले ठमेल क्षेत्रमा व्यवसाय सञ्चालन गर्न दिन अनुमति प्रदान गर्नुपर्छ। त्यसपछि व्यवसायीले आफ्ना व्यवसाय स्वतस्फूर्त तवरले सञ्चालन गर्छन्। थलिएको व्यवसाय र राज्यलाई तिर्नुपर्ने राजश्वले व्यवसायी थलिइसकेका छन्।

यही अवस्था कायम रहे ठमेलको भविष्य कस्तो होला ? तपाईंहरूले राज्यसँग माग मात्रै गर्ने हो कि आफ्नो भूमिका पनि प्रभावकारी ढंगले निभाउने हो ?

व्यवसाय सञ्चालन गर्न आइरहेका छन्। व्यवसाय सञ्चालन गर्ने पहिलो वातावरण सिर्जना भएमा मात्र ठमेलको पहिचान रहन्छ। अहिले यहाँ भएका व्यवसायलाई सञ्चालन गर्न दिनुपर्छ। व्यवसायीलाई दबाब र तनाव दिनुहुँदैन। मुख्य कुरा यहाँको व्यवसाय माथि उठाउनका लागि अन्तरराष्ट्रिय उडान खुलाउनुपर्छ। जबसम्म अन्तरराष्ट्रिय उडान खुल्दैन, तबसम्म ठमेललाई आन्तरिक पर्यटकले मात्र धान्दैन।

यहाँको मुख्य विशेषता के हो ? त्यो बुझेर सरकारले व्यवसाय सञ्चालन गर्न दिनुपर्छ। अब ठमेलमा स्वास्थ्य मापदण्ड अपनाएर आफ्ना व्यवसाय चलाउन सकिन्छ भनेर व्यवसायीले पनि भन्नुपर्छ र अवरोध खडा गर्न दिनुहुँदैन। तब मात्र मात्र ठमेलले श्वास फेर्न सक्छ।

ठमेल भन्नेबित्तिकै सबैले रुमानी द‌ृश्य सम्झन्छन्‌, अब त्यो रुमानी ठमेल देख्न कति समय कुर्नुपर्छ ?

यहाँको मुख्य स्रोत भनेको बाह्य पर्यटक हुन्, त्यसका लागि अन्तरराष्ट्रिय उडान खुलाउन सक्नुपर्छ। सरकारले स्वास्थ्यका निश्चित मापदण्ड अपनाएर नेपाल भ्रमण गर्न सकिन्छ भनी प्रचार-प्रसार गर्नुपर्छ।

बाह्य पर्यटक नेपाल आउँदा ७ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यकारी नियम अव्यवहारिक रहेको छ। घुम्ने मानिस ७ दिन क्वारेन्टाइनमा बस्न यहाँ आउने होइन। नेपालमा पर्यटन बोर्ड र सरकारले ९३ प्रतिशत संक्रमित संक्रमणमुक्त भइसकेका छन भनेर नेपालका विदेशस्थित रहेका कुटनीतिक नियोगले पहल गर्नुपर्छ।

व्यवसायीको तर्फबाट भन्दा पनि सरकारले गरेको राखेका कुराहरू भरपर्दो हुने भएकोले यस्तो विषयमा सरकार गम्भीर हुनुपर्छ। अधिकांश पर्यटन व्यवसायीहरू अन्तरराष्ट्रिय उडान खुल्छ र विदेशीका लागि अध्यागमन नेपाल प्रवेशको लागि कस्तो भिसा नीति कस्तो बनाउँछ भनी पर्खिबसेका छन्।

उडान खुल्यो भनेर धेरैले मङ्सिरमा बुक गरेका थिए। होटल व्यवसायी र यहाँका ट्राभलले पर्यटकका लागि बुक गरिसकेका थिए। करिब ९ महिनासम्म बन्द रहँदा एकपटक पर्यटन क्षेत्रसँग सम्बन्धित निकायसँग छलफलमा बस्नुपर्ने थियो। पर्यटन क्षेत्रमा काम गर्नेहरूले महामारीको कारण उठ्न सक्न नसक्ने भएका छन्। अन्य व्यवसायलाई जस्तै पर्यटन व्यवसायलाई पर्यटन व्यवसायलाई सहजीकरण गरिदिनुपर्छ।

बाह्य पर्यटक तत्कालै आउने सम्भावना एकदमै कम छ, ठमेल क्षेत्रमा आन्तरिक पर्यटकलाई भित्र्याउन परिषद्‌ले के-कस्तो योजना तयार पारेको छ?

अहिलेको अवस्थामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न मेला र भीडभाडयुक्त कार्यक्रम गर्ने अवस्था छैन। यो ठाउँ आफैँमा ब्रान्ड हो यो क्षेत्रमा पर्यटक आकर्षित गर्न कुनै पनि कार्यक्रम गर्नुपर्दैन। यस क्षेत्रमा व्यवसाय गर्नलाई सरकारले अनुमति दिएमा आन्तरिक पर्यटक आफैँ आउँछन्।

ठमेलमा व्यवसाय सञ्चालन हुनासाथ यो क्षेत्र आफैँ जीवन्त हुँदै जान्छ। दिनभर अन्य व्यवसाय सञ्चालन हुँदा कोरोना नसर्ने रात्रीकालीन व्यवसाय हुँदा कोरोना सर्ने भन्ने कसरी हुन्छ।

मनोरञ्जन क्षेत्रको लागि ठमेल ब्राण्ड भइसकेको ठाउँ हो। कोरोनाको कारण मानिस आफैँभित्र थुनिएका छन्।‌ यहाँ खुला मात्र गर्ने हो भने पनि आन्तरिक पर्यटकको संख्या बढ्दै जान्छ।

मनोरञ्जन क्षेत्र मात्र सञ्चालन भएपनि ठमेलको अस्तित्व जोगिइन सक्छ। यहाँको आकर्षणको केन्द्रबिन्दु भनेको नै रात्रीकालीन मनोरञ्जन व्यवसाय हो।

ठमेलमा नियमित आउने बाह्य पर्यटकलाई आकर्षित गर्नको लागि के कस्ता काम भइरहेका छन्?

ठमेललाई जीवन्त दिने भनेका विदेशी पर्यटक हुन्। जबसम्म विदेशी पर्यटक आउँदैनन्, ठमेलको अवस्था फरक रहन्छ। अहिले केही ट्राभल व्यवसायीले विदेशस्थित विभिन्न ट्राभल कम्पनीसँग आफ्नो देशको पर्यटनसँग सम्बन्धित कुराहरू प्रचारप्रसार गरिरहेका छन्।

महामारीले विश्वका पर्यटन व्यवसायी थलिएका छन्। नेपाल पनि त्यसबाट अछुत नरहने कुरा भएन। पहिले-पहिले आएकासँग निरन्तर सम्पर्कमा काम गरिरहेका छन्।

पर्यटकलाई आकर्षित गर्नको लागि यहाँको व्यवसाय सञ्चालन गर्न दिनुपर्छ, जुन कुरा पर्यटकसँग सम्बन्धित छन्। मुख्य कुरा सबैले मनोरञ्जन चाहेका छन्, त्यसको लागि अब कार्यविधि बनाएर यहाँको मनोरञ्जनात्मक व्यवसायलाई सहज रूपमा सञ्चालन गर्न दिनुपर्छ।

ठमेलका पर्यटन व्यवसायीहरूले ठूलो मात्रामा आर्थिक नोक्सान भोगेका छन् भनिएको छ, यो नोक्सानीबाट जोगिएर अघि बढ्न के गर्ने?

लकडाउन हुनुभन्दा चार दिन अगाडि विभागीय मन्त्रालयमा कोभिडका कारण विश्वभर पर्यटन क्षेत्रमा असर परेको देखिँदै छ, त्यसको लागि राहत स्वरुप केही सहयोग गरियोस्‌ भनी गएका थियौं। महामारीले ६/७ महिनामा आर्थिक क्षेत्रमा व्यापक असर गर्ने भनेर जानकारी गराएका थियौं।

व्यवसायमा व्यापक असर पर्ने भएपछि सरकारको तर्फबाट राहतस्वरुप सहयोग हुन्छ कि हुन्न भनेर हामीले प्रस्ताव पनि गरेका थियौं। अहिलेसम्म केही भएको छैन। आम्दानी नभएपछि सरकारलाई कसरी राजश्व तिर्ने हो भन्ने समस्या भइरहेको छ।

घरभाडा तिर्न समस्या छ, यो समस्याबाट मुक्ति पाउन सरकारले कसरी हेर्ला, त्यसको पनि प्रतिक्षामा छौं। नेपाल सरकारले व्यवसायीलाई सहुलियत दरमा कसरी कर्जा उपलब्ध गराउने हो, त्यो सोच्नुपर्ने बेला आएको छ।

अब सरकारले पहिलो प्राथमिकतामा ठमेल क्षेत्रका व्यवसाय सञ्चालन गर्न दिनुपर्छ। व्यवसाय कसरी सञ्चालन गर्ने त्यसको कार्यविधि बनाउनुपर्ने सरकारको काम हो।

महामारीको कारण व्यवसायी विस्थापित भए भन्ने छ, अहिले रहेका व्यवसायीलाई प्रोत्साहन गर्न के गरिरहनु भएको छ?

बाहिर हल्लामा आएको जस्तो व्यवसायी विस्थापित भएका छैनन्। केहीले छोडेका छन्। अनलाइन व्यवसाय गरेका केहीले छोडेर गएका छन्। तर, त्यस्तालाई गएका भन्न मिल्दैन। सहज हुनासाथ भोली पनि सञ्चालन गर्ने गरी आउन सक्छन्। सधैंभरी यसरी बन्द गरेर बस्न मिल्दैन। व्यवसाय सञ्चालन गर्दा केही फरक पर्दैन।

नेपालमा संक्रमण दरभन्दा निको हुने दर बढिरहेको छ। महामारी कहिलेसम्म जाने हो, कसैलाई थाहा छैन त्यसैले अब सरकारले समय र कार्यविधि निर्धारण गरी व्यवसाय सञ्चालन गर्न दिनुपर्छ। सामाजिक दूरी, मास्क अनिवार्य र स्यानिटाइजरको प्रयोग गर्नुपर्छ।

काठमाडौंका मुख्य-मुख्य चोकमा मानिसको अत्यधिक भीड छ, त्यहाँ केही पनि सामाजिक दूरी छैन, तर ठमेलको व्यवसायलाई मात्र किन बन्देज लगाइन्छ, यो बुझ्न सकेको छैन।

व्यवसायीलाई राहत दिने भन्ने थियो, राहत पाएपछि त्यसमा के कस्तो प्रभाव परेको छ?

घरधनी र व्यवसायबीच केही सहमति भएकै हो। महामारीको समयमा सबैले सबैको समस्या बुझेका छन्। त्यसैले पनि राहतस्वरुप ६ महिनादेखि १ वर्षसम्म घरभाडा छुट दिएका छन्।

कतिपय घरधनीहरूले घरभाडाबाटै आफ्नो व्यवहार चलाइरहेका थिए, उनीहरूको समस्या समेत बुझेर सरकारले केही गर्नुपर्ने अवस्था आइसकेको छ। त्यसको समाधान भनेको नै यहाँका सम्पूर्ण व्यवसायलाई सहज रूपमा सञ्चालन गर्न दिनु हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.