बैतडी : जिल्ला अस्पताल बैतडीमा भेन्टिलेटरसहितको दुई शय्याको आइसियु कक्ष स्थापना भएको छ।
कोरोना भाइरसका जटीलका खालका बिरामीलाई मध्यनजर गरेर भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापना गरिएको अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले बताए। जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापना भए पनि दक्ष जनशक्ति नहुँदा तत्काल सञ्चालनमा समस्या भएको डा. जोशीले बताए। आइसियु सञ्चालनका लागि विशेषज्ञ चिकित्सकको आवश्यकता पर्दछ।
यस्तै, अस्पतालमा कार्यरत डाक्टर र नर्सहरुलाई पनि आइसियु सञ्चालनका लागि तालिमको आवश्यकता पर्ने भए पनि अहिलेसम्म कसैले तालिम नलिएको जोशीले बताए। आसियु कक्ष सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा स्थापना गरिएको हो। कोरोनाका गम्भीर बिरामीहरुलाई सेवा दिने उद्देश्यले प्रदेश सरकारले जिल्ला अस्पतालहरुमा भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापनाका लागि उपकरण पठाएको थियो।
संक्रमितको संख्या ५७० पुग्यो
बैतडीमा शुक्रबार थप एकजनामा कोरोना पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५७० पुगेको छ। जसमध्ये ६५ जना मात्रै सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए।
सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ४२ जना रहेका छन्। यस्तै, डिलाशैनी गाउँपालिकामा १६, पाटन नगरपालिका चार, पुर्चौंडी नगरपालिकामा दुई र दोगडाकेदार गाउँपालिकामा एकजना सक्रिय संक्रमित रहेका छन्। बैतडीमा ५०४ जनाले कोरोना जितेका छन् भने एकजना संक्रमितको मृत्यु भइसकेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।