सेवाग्राहीले अझै पनि सास्ती भोग्नुपरे कार्यालय बन्द गर्ने चेतावनी

|

सोलुखुम्बु : जिल्ला मालपोत र नापी कार्यालय सोलुखुम्बुले जनउत्तरदायी सेवा प्रवाह गर्न नसकेको सेवाग्राहीले गुनासो गरेका छन्। सेवाप्रवाहको शैली असहज तथा अत्याधिक ढिलासुस्ती रहेको सेवाग्राहीले गुनासो गर्दै आएका छन्।  

कार्यालयमा सबैभन्दा बढी नामसारीसम्बन्धी समस्या रहेको लेखापढी व्यवसायी बताउँछन्। असोज २१ गते कर्यालयमा नामसारीका लागि निवेदन दिएको र कागजात पूरा भए पनि अझै काम नभएको सेवाग्राही दावा तामाङले गुनासो गरे। महिना दिनभन्दा बढी भए पनि सेवा नपाउँदा दुःख लागेको तामाङ बताउँछन्। प्रविधिको युगमा पनि नागरिकले सास्ती खेप्नु दुःखद भएको उनको भनाइ छ। 

नामसारीका लागि कर्मचारी नभएकै कारण समस्या भएको बुझिएको छ। मालपोत प्रमुख सूर्यप्रसाद कोइरालाले नामसारीबाहेक काममा खासै हस्ताक्षर नगर्ने हुँदा अन्य कर्मचारीलाई कामको बोझ थपिएको लेखापढी व्यवसायीको भनाइ छ। एक दिनमा सकिने कामसमेत अहिले ३ दिन लाग्ने गरेको सेवाग्राही बताउँछन्। 

यस्तै एक हप्ताअघि श्रीमानबाट जग्गा नामसारीका लागि कार्यालयमा निवेदन दिएको भए पनि काम नभएको शारदा कटुवालले गुनासो गरिन्। मालपोत अधिकृत खुम्बु क्षेत्र गएपछि नामसारीसम्बन्धी काम ठप्प बनेको हो। 

कार्यालयमा सेवा प्रवाह, नागरिक बडापत्रमा समेत समस्या भएको लेखापढी व्यवसायी कुन्जाङ शेर्पा बताउँछन्। भने, 'मालपोतका हाकिमसाब दुईवटा कम्प्युटर राखेर बस्नुहुन्छ, उहाँले एउटामा शेयर कारोबार गरिरहनुुहन्छ तर कार्यालयको कम्प्युटरचाहिँ सधैं बन्द हुन्छ।'

कोरोना कारण देखाउँदै सेवाग्राहीलाई कार्यालयभित्र प्रवेश निषेध गरिएको छ। जसका कारण असह तवरले सेवा लिन बाध्य हुनपरेको छिण्डिल्हमु शेर्पाले बताइन्। 

'कुलेसोमा बसेर सेवा लिनुपर्ने, सेवाग्राही लाइन लाग्ने ठाउँ पनि छैन, होचो मान्छेले त कर्मचारी छन् कि छैनन् भन्ने पनि देख्न मुस्किल पर्ने रहेछ, उता नापीको हालत पनि उस्तै रहेछ,' कांग्रेस जिल्ला नेता समेतरहेकी शेर्पाले भनिन्, 'यही विषयमा सिडिओको ध्यानकर्षणसमेत गराएका छौं, केही दिनसम्म सेवा प्रवाह सहज भएन भने तालाबन्दी गर्ने भन्नेसम्म हाम्रो सभापतिज्यूसँग छलफल भएको छ।'

कोरोनाका कारण कार्यालय प्रवेशमा निषेध गरिएको भए पनि पहुँचवालाहरु भने भित्र पसेर सेवा लिइरहेका सेवाग्राही भीमबहादुर कटुवालले बताए। 

सेवाग्राहीको अत्याधिक गुनासोपछि नेपाल लेखापढी कानुन व्यवसायी जिल्ला समिति सोलुखुम्बुले शुक्रबार अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको भए पनि कर्मचारीको उपस्थिति नभएको समितिका अध्यक्ष आङ्जाङबु शेर्पाले बताए।

अध्यक्ष शेर्पाले मालपोत र नापीका कर्मचारीको व्यवहारले सेवाग्राहीले सास्ती खेप्नुपरेको बताए। कतिपय अवस्थामा अबेरसम्म सेवा प्रवाह गर्ने कार्यालयका कर्मचारीले व्यवसायी र सेवाग्राही हेरेर सेवा प्रवाह गर्ने गरेको गुनासो पनि बढेको छ।

कार्यालय प्रमुख लामो समयसम्म कार्यालयमा नबस्ने हुँदा अधिकांश समस्या भएको कार्यालयका कर्मचारीकै गुनासो छ। नापी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी सिकेस कोइरालाले अनलाइन प्रणाली नभएका कारण सेवा प्रवाहमा केही ढिलासुस्ती भएको स्वीकार गरे भने मालपोत अधिकृतसँग सम्पर्क हुन सकेन।

मालपोत अधिकृत र नापी अधिकृत केही दिनअघि खुम्बु क्षेत्र गएका बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.