|

धनगढी : ‘रातको करिब साढे एक बजेको थियो। खाना खाएर घरमा सबै सुतिसकेका थियौ मध्यराति फोनको घण्टी बजेपछि झल्यास्स.. बिउँझिएँ र फोन उठाएँ’ बोगटान फुड्सील गाउँपालिका–७ का वडाध्यक्ष देवबहादुर बमले भने।

‘दुर्घटना ११ बजेतिर नै भएको रहेछ, ड्राभरले जिल्लातिर मात्रै फोन गरेछन्, १ बजेसम्म स्थानीय कसैलाई खबर थिएन।’ जिपमै सवार टीकाराम गिरीले दुई घण्टापछि होस आउनेबित्तिकै मलाई फोन गरे। अन्य स्थानीयहरूलाई पनि खबर गरेर सबै घट्नास्थलतर्फ गयौँ।

घाइतेहरु उद्धारका लागि चिच्याइरहेका थिए। चालकबाहेक सबै जना उठ्नै नसक्ने अवस्थामा थिए। तीन जनाको हामी नपुग्दै मृत्यु भइसकेको थियो। ‘मृत्यु हुने तीन जनामध्ये एकजना मेरै वडाका सचिव मञ्जु त्रिपाठी हुनुहुँदो रहेछ’ वडाध्यक्ष बमले भने, ‘एक हप्ताका लागि बिदा लिएर बैतडीको सुर्नया गाउँपालिका–६ खटाली घर जानुभएको थियो, घरबाट फर्किने क्रममा बाटोमै मृत्यु भयो।’

उनकी ६१ वर्षीया सासुआमा दम्बरी अवस्थीको मृत्यु भइसकेको थियो। उनीहरु दुवै जनाको शवनजिकै मञ्जुका चार वर्षीया छोरा मुकुन्द अवस्थी मम्मी....मम्मी भन्दै रुँदै थिए। वडाध्यक्ष बमले सुनाए ‘हारगुहार गर्दै गरेको दृश्य कोहीले मन थाम्न सकिने अवस्था थिएन।

उनको छोरालाई गाउँपालिका उपाध्यक्षले आफ्नै गाडीमा राखेर अस्पताल लग्नुभएको थियो, दुर्भाग्य बाँच्ने आशा राखिएका ती बालकको पनि उपचार्थ लैजाने क्रममा मृत्यु भयो।

२७ वर्षीया मञ्जु त्रिपाठीले एक वर्षअगाडि मात्रै लोकसेवामा नाम निकालेकी थिइन्। सरकारी सेवामा प्रेवश गरेपछि करिब नौ महिनादेखि बोगटान फुड्सिल गाउँपालिका–७ को वडा कार्यालयमा वडा सचिव पदमा कार्यरत मञ्जु हप्तादिनको बिदा लिएर घर गएकी थिइन्।

बिदा सक्काएर कर्मथलो फर्कंदै गर्दा शनिबार राति बाटोमै कहिल्यै नफर्किने गरी बिदा भएकी छिन्। बैतडीको दुर्गम गाउँबाट सरकारी सेवामा प्रेवश गर्ने उनी गाउँकी पहिलो महिला थिइन्।

उनीहरूसँगै ग्रामीण जलस्रोत परियोजनामा कार्यरत केआईसिंह गाउँपालिका–४ का ३३ वर्षीय हरिहर नारायण भट्टको घटनास्थलमै मृत्यु भएको छ।

दिपायलबाट बोगटान फुड्सिल गाउँपालिकाको केन्द्र खत्याडीका लागि हिडेको शैलेश्वरी यातायातको म १ च ५५० नम्बरको जीप शनिबार राति करिब ११ बजेतिर गाउँपालिका–७ को बउखेल्ले भन्ने ठाउँमा दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका छन्।

यस्तै, चार जना घाइतेहरुको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेहरुमा बोगटान फुड्सिल गाउँपालिका ७ का ३६ वर्षीय टिकाराम गिरी, वर्ष २८ की उनकी श्रीमती खेमा गिरी, कञ्चनपुरको भीमदत्त नगरपालिका १९ का २८ वर्षीय हेमन्त भट्ट र बोगटान फुड्सिल गाउँपालिका कै वडा नम्बर ६ का २६ वर्षीय चालक कैलाश बम रहेका छन्।

जिपमा चालकसहित आठजना सवार रहेका थिए। चालक निदाएका कारण जिप दुर्घटनामा परेको घाइतेहरुको भनाइ छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.