पुल बन्‍ने आशमा स्थानीयको वर्षाैं बित्यो

|

धनगढी : कैलालीमा वर्षौंअघि बनाउन थालिएका तीन ठूला पुल अलपत्र परेका छन्। प्रदेशको राजधानी रहेको धनगढी उपमहानगरपालिकामा मात्रै दुई र लम्कीचुहा नगरपालिकामा एक पुल अलपत्र छन्। यी सबै पुलको निर्माण अवधि समाप्त भइसकेको छ।  

२०७१ सालमा ठेक्का सम्झौता भएको धनगढी उपमहानगरपालिका–३ र कञ्चनपुरको कृष्णपुर नगरपालिका जोड्ने मोहना पुल २०७४ मा निर्माण गरिसक्नुपर्ने हो। तर पुलको भौतिक प्रगति जम्मा १५ प्रतिशतमा सीमित छ।  

यस्तै धनगढी उपमहानगरपालिका–७ स्थित शिवगंगा नदीमा निर्माणधीन पुल २०७७ जेठ मसान्तमा सम्पन्न गरिसक्नुपर्ने हो। निर्माण अवधि समाप्त भएको ६ महिना बितिसक्दासम्म जम्मा ४५ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ।

कैलालीकै लम्कीचुहा नगरपालिकास्थित पथरैया नदीमा निर्माणाधीन पुल २०७४ जेठमा दुई वर्षभित्रै काम सक्नेगरी सम्झौता भएको थियो। निर्माण अवधि समाप्त भएको तीन वर्ष बितिसक्दा समेत काम अलपत्र छ। जसका कारण स्थाानीयले बर्खामा मात्रै नभई हिउँदमा पनि जोखिमपूर्ण यात्रा गुर्न परेको छ।

यी तीन वटै स्थानमा स्थानीयले व्यक्तिगत लगानीमा डुंगा र काठको पुल बनाएका छन्। डुंगा र काठको पुलमा यात्रा गरेबापत प्रत्येक व्यक्तिले दैनिक पैसा तिर्नुपर्ने बाध्यता छ। व्यक्तिगत लगानीमा काठको पुल निर्माण गरेका स्थानीयले पुल तर्दा रकम उठाउने गरेका छन्।

मोहना पुलमा दुई वटा काठका पुल छन्। त्यहाँ पनि स्थानीयले पैदल यात्रा गरेबापत २० रुपैयाँ र सवारीमा यात्रा गरे ३० देखि एक सय रुपैयाँसम्म तिर्ने गरेका छन्। 

तीन वटै पुल निर्माणको ठेक्का एलाइड एडभेन्चर जोइन्ट जेभीले पाएको छ। पटकपटक म्याद थप गर्दासमेत काम नसक्ने ठेकेदारमाथि भने कुनै कारबाही भएको छैन। एलाइडले सुदूरपश्चिमका अन्य जिल्लामा समेत पुल निर्माणको काम अलपत्र पारेको छ।

ठेक्का पाएर अलपत्र पारेका तीन पुलको  विवरण 

मोहना पुल

२०७१ सालमा ठेक्का सम्झौता भएको मोहना पुल २०७४ मा निर्माण गरिसक्नुपर्ने हो। पटकपटक म्याद थप गर्दासमेत हालसम्म ५५ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको छ। 

लगातार दुई पटकसम्म थपिएको म्यादमा पुल नबनेपछि २०७६ असोजमा प्रशासनले एलाइडलाई कारबाही गर्ने चेतावनी दियो। कारबाहीबाट बच्न एलाइडले जेठसम्म सक्ने बाचा गरे पनि पुलको काम भने अझै अलपत्र छ।

सम्झौताअनुसार ८ करोड रुपैयाँ लागतमा एक सय मिटरको पुलका लागि हाल तेश्रो पटक पनि म्याद थप गरिएको छ। सडक डिभिजन कार्यालय महेन्द्रनगरका डिभिजन प्रमुख अर्जुन बमले कार्तिकदेखि पुलको दोश्रो स्पाम निर्माण थालेको ठेकेदारले तेश्रो स्पाम निर्माण गर्न नसकेको बताए। 

बमका अनुसार ठेकेदारले जेठ मसान्तसम्म पुल निर्माण गरिसक्ने प्रतिबद्धता जनाए पनि लकडाउनको बहाना देखाएर काम रोकेको छ। 

शिवगंगा नदी पुल 

एलाइडले नै धनगढी उपमहानगरपालिका–७ स्थित शिव गंगा नदीमा निर्माणधीन पुलसमेत अलपत्र पारेको छ। २०७४ मा तीन वर्षभित्रै पुल निर्माण गर्ने सहमतिअनुसार जेठ मसान्तमा पुल निर्माण गरिसक्नुपर्ने म्याद समाप्त भएको छ।

पुल निर्माणको जिम्मा पाएको एलाइडले निर्धारित समयमा जम्मा ४५ प्रतिशत मात्रै काम सकेको सडक डिभिजन कार्यालय साइड कार्यालय धनगढीका इन्जिनियर लक्ष्मण जोशीले बताए।

शिवगंगा नदीमा निर्माण हुने १२ करोड रुपैयाँ लागतको एक सय ५० मिटर लम्बाइको पुल निर्माण सम्झाैताको तीन वर्षसम्म पूरा हुन नसकेको इन्जिनियर जोशीले बताए।

पथरैया पुल 

कैलालीकै लम्कीचुहा नगरपालिकास्थित पथरैया नदीमा पुल निर्माणको जिम्मा पनि एलाइडले नै पाएको थियो। उक्त पुल पनि यसले अलपत्र पारेको छ। 

२०७४ जेठमा दुई वर्षभित्रै काम सक्ने गरी ८ करोड १३ लाख ७३ हजार ७ सय १५ रुपैयाँमा ठेक्का सम्झौता भएको यो पुल निर्धारित मितिसम्म २० प्रतिशत मात्रै काम भएको थियो। निर्माण कम्पनीले पटकपटक म्याद थप गर्दासमेत सम्पन्न गर्न जोशीले बताए।

जोशीका अनुसार जेठ मसान्तपछि पुल निर्माणका लागि दोश्रो पटकको म्याद समेत सकिएको छ। तर पुल निर्माण भने हुन सकेको छैन। 

एलाइडले विभिन्न समस्याका कारण पुल समयमै निर्माण गर्न नसकिएको जनाएको छ। यसका इन्जिनियर दिनेश बटालाले भने, ‘मोहनामा पहिलो प्राविधिक डिजाइन बिग्रिएपछि आधा भएको काम छोडेर पुनः थाल्नुपर्‍यो, त्यसैमा भूकम्पपछि भारतले नाकाबन्दी गर्‍यो, जसका कारण काम गर्न सकिएन।’

पथरैया नदीमा काम गर्दा लेबर नपाएको भन्दै उनले टारे। यस्तै शिवगंगा नदीमा बनाइने पुलको सम्झाैता अविध भर्खर समाप्त भएको र कोरोनाका कारण  ढिलाइ भएको उनले प्रतिक्रिया दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.