|

जुम्ला : जुम्लाको चन्दननाथ नगरपालिकाभित्र रहेको खलङ्गा बजारमा ९४ घण्टासम्म लगातार लोडसेडिङ हुने गरेको छ।

बाल्नका लागि नभइ ९४ घण्टापछि देखाउका लागि विद्युत दिने गरिएपछि स्थानीय आक्रोशित बनेका छन्‌। जुम्लाको खलंगामा बस्ने वासिन्दा तीन सातादेखि अँध्यारोमा छन्। दियालोको भरमा अँध्यारो छिचोल्ने बानी परिसकेको छ।

यहाँका नागरिकले चर्काे लोडसेडिङ मार खेप्ने गरे पछि कुनै निकायको ध्यान पुगेको छैन। घुघुत्ती साना जलविद्युत आयोजनाको दुबै मेसिन बिग्रेपछि जुम्ली नागरिकले लोडसिडङको चर्काे मार खप्नु परेको हो।

सिंजा गाउँपालिका-६ जोडु गाउँकी शान्ता बुढाले छोराको पठनपाठनका लागि सदरमुकाम खलंगामा आएको, तर यहाँ पनि बिजुली नियमित नहुँदा झन्‌ समस्या भएको बताइन्‌। 'अहिले यहाँ चार दिनमा एक दिन दुई घण्टा मात्रै बिजुली आउँछ,' उनले भनिन्, 'सहजताका लागि गाउँबाट शहर आएकी हुँ, शहरमै दियालोको भरमा रात काट्नु परेको छ।'

घुघुती विद्युत गृहमा मेसिन बिग्रिएपछि सदरमुकाम खलंगा बजारसहित सिंगो चन्दननाथ नगरपालिका अन्धकारमय बनेको छ। वैकल्पिक व्यवस्थाका ल्याइएका डिजेल प्लान्ट पनि इन्धन अभावले एक दिनमा ६ घण्टा मात्रै चलाउने गरिएको छ।

एक वर्षअघि सांसद गजेन्द्रबहादुर महतको पहलमा विद्युत् प्राधिकरणले एक करोड रुपैयाँ लगानीमा ३ सय केभीको डिजेल प्लान्ट जुम्ला पठाएको थियो। विद्युतगृहका उपकरण बिग्रिएपछि र इन्धन अभावमा प्लान्ट सञ्चालन हुन सकेन। त्यसयता खलंगा अन्धकारमय बनेको छ।

भारतीय दूतावासले ल्याएको मेसिन वर्षदिन नपुग्दै बिग्रियो 

२०४० सालमा घुघुती विद्युतगृहको मेसिन जीर्ण भएपछि ४ वर्षअघि तत्कालीन जिल्ला विकास समितिले भारतीय दूतावासको २ करोड ६३ लाख ७७ हजार रुपैयाँ र थप तत्कालिन जिविस थप रकम गरी ३ करोड ९ लाख रुपैयाँ बजेट खर्चेर नयाँ मेसिन जडान भएको थियो। तर त्यो मेसिन जडान गरेको एक वर्ष नपुग्दै पटक-पटक बिग्रिने गरेपछि जुम्लाका नागरिकले अँध्यारो खेप्नु परेको हो।

दुईवटै टर्वाइन मेसिन बिग्रिएपछि विद्युत् आपूर्ति ठप्प भएको वितरण केन्द्रका निमित्त प्रमुख हेमन्त साहुले बताए। उनले भने, ‘एउटा मेसिनमा क्वाइल जलेर समस्या आएको छ, अर्को मेसिनको बेरिङ भाँचिएको छ, मेसिन मर्मतका लागि कार्य थालनी गरिएको छ।’

डिजेल प्लान्ट सञ्चालनका लागि तेलको व्यवस्था नभएकोले प्राधिकरणसँग अनुरोध गरिएको निमित्त प्रमुख साहुले बताए। ‘मेसिन मर्मत हुन धेरै समय लाग्ने भएकाले तत्कालका लागि डिजेल प्लान्ट सञ्चालन गर्न माग गरेका छौं,’ उनले भने, ‘तर अहिले दैनिक ६ घण्टा मात्रै डिजेल प्लान्ट सञ्चालनमा छ।’

भारतीय कम्पनीले गुणस्तरहीन र नक्कली मेसिन जडान गरेपछि जुम्ली नागरिकले दुख पाएको नागरिक समाजमा अगुवा राजबहादुर महतले बताए। उनले भने, ‘एक त लोडसेडिङको चर्को मार छ, त्यसमा पनि महिनौंसम्म अँध्यारोमा बस्नुपर्ने बाध्यता छ।’ उनका अनुसार नयाँ मेसिन जडान भएपनि प्रत्येक महिना बिग्रिरहेको छ।

नियमित विद्युत माग गर्दै सर्वपक्षीय बैठक

विद्युत प्रवाह नियमित बनाउनका लागि जिल्लामा बैठक बसेको छ।

सर्वदलीय, सर्वपक्षीय बैठकले अवरुद्ध बिजुली आपूर्ति नियमित बनाउनका लागि डिजेल प्लान्ट दैनिक ६ घण्टाबाट बढाएर १२ घण्टा सञ्चालन गर्न विद्युत प्राधिकरण जुम्लासँग पहल गर्ने निर्णय समेत गरेको छ।

त्यसैगरी जुम्ला ल्याउन थालिएको ३३ केभी लाइन छिटोछरिता पुर्‍याउन ध्यानाकर्षण गराउने निर्णय भएको जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले बताए।

जवानदीबाट पाँच किलोवाट बिजुली उत्पादनका लागि सम्भाव्यता अध्ययन भैसकेको र आर्थिक वर्ष ०७२/०७३ मा सरकारको नीति तथा कार्यक्रममा परिसकेको छ। तर, सरकारले कार्यन्वयन नगरेपछि सर्वाेच्च अदालतमा रिट परेको पूर्व सांसद ललितजंग शाहीले बताए। उनले भने, 'रिट परेपछि सर्वाेच्च अदालतले तत्काल पाँच मेगावाट बिजुली उत्पादनको काम गर्नु/गराउनु भनी परमादेशसहितको आदेश गर्दा पनि सरकारले कार्यन्वयन गरेन। यस विषयमा पनि उर्जा मन्त्रालय, विद्युत विकास विभागको गम्भिर ध्यानाकर्षण गराउने बैठकमा निर्णय भएको छ।'

कनकासुन्दरी गाउँपालिकाको मालिकाबोटाबाट गाउँपालिकाको मुकाम गोठीज्यूला बिजुली ल्याउनका लागि टेण्डर भएको लामो समयसम्म पनि काम थालनी नभएकोले तत्काल कार्य सञ्चालन गर्न विद्युत प्राधिकरण जुम्लालाई ध्यानाकर्षण गर्ने निर्णय भएको छ।

त्यस्तै, विद्युत तथा सञ्चार सेवा आपूर्ति संघर्ष समितिले नियमित २४ घण्टा बिजुली आपूर्ति गर्न माग गरेको छ। जुम्लाका लागि ११ केभी र ३३ केभी राष्ट्रिय प्रसारण लाइन सम्झौता अवधिभित्रै काम सम्पन्न गर्न विद्युत प्राधिकरण जुम्लाको ध्यानाकर्षण गराइएको महतले बताए।

नगरपालिकाभित्र ४ हजार २ सय ७१ घरधुरी र २० हजार ८ सय ८४ जनसंख्या छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.