|

सल्यान : कुटानी-पिसानीका लागि आधुनिक मिल प्रयोग हुन थालेपछि पानी घट्ट बनाउने पत्थर शिल्पीहरूको पेशा संकटमा पर्न थालेको छ।

घट्टलाई चाहिने पत्थथरको माग कम हुन थालेपछि उनीहरूले जीविकोपार्जनमै समस्या भोग्न थालेका छन्‌। कुनै बेला घट्ट बनाउने काम गर्ने घट्ट व्यवसायीहरू अहिले फुर्सदिला बनेका छन्‌।

​सिद्धकुमाख गाउँपालिका–३, फलाटेका पुने रेउलेले पानी घट्ट बनाउने काम गर्न थालेको ४३ वर्ष भयो। उनी आजभोलि फुर्सदिला भएका छन्‌। १६ वर्षको उमेरदेखि पानी घट्ट बनाउन थालेको भएपनि अहिले काम नपाएको उनले बताए। एउटै घट्ट खानीबाट एक लाख रुपैयाँभन्दा बढी मूल्यका पानीघट्ट तयार पारी बेच्ने गरेका उनलाई अहिले परिवारको गर्जो टार्न नै हम्मे परिरहेको छ। 

फलाटेकै विक्रम रेउलेले पनि घट्ट बनाएरै घर खर्च जुटाउने गर्थे। फलाटेका सबै परिवार घट्ट पेशामा आबद्ध थिए। घर नजिकैको ढुङ्गाखानीबाट पानीघट्ट र जाँतो बनाउन बिहानैदेखि व्यस्त हुने गरेका उनीकहाँ अहिले महिनामा एउटै घट्टको माग आउने गरेको छैन।

पहिले एउटै परिवारले पत्थरबाट बन्ने सिलौटो, जाँतो र घट्ट पत्थर निर्माण गरी मासिक ५० हजार रुपैयाँभन्दा बढी कमाइ गर्थे। तर, गाउँमा अन्न कुटानी/पिसानीका लागि आधुनिक मिल थाप्न थालिएपछि यहाँका २५ परिवारले घट्ट बनाउने पेशा सङ्कटमा परेको बताएका छन्।

गाउँघरमा विद्युतीय मिलबाटै कुटानी/पिसानीको काम हुन थालेपछि पानीघट्ट लोप हुन थालेका छन्‌। घट्ट निर्माण र सञ्‍चालन गर्नेको पेशा पनि सङ्कटमा परेको छ।

यहाँ बन्ने घट्ट सल्यान, रोल्पा, रुकुम र जाजरकोटसम्म पठाउने गरिएको थियो। एक जोडा घट्टको मूल्य २० हजारदेखि ६० हजार रुपैयाँमा पर्ने गर्छ। सल्यानको फलाटेका तीन ठाउँमा पानीघट्ट बनाउने ढुङ्गाखानी छ। यहाँको ढुङ्गा निकै बलियो भएकोले घट्टको पत्थरको रुपमा प्रयोग हुने गरेको छ।

सिद्धकुमाख गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले पानीघट्ट व्यवसायीले माग गर्न आएमा सहयोग गर्न तयार रहेको र व्यवस्थित गर्नका लागि ठोस योजना बनाउने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.