|

सल्यान : कतिपय पढेलेखेका शिक्षित युवा स्वरोजगार हुनेभन्दा विदेश गएर तल्लो स्तरको काम गर्न तयार हुन्छन् भने कति युवा काम नपाएर भौतारिरहेका छन्।

पढेलेखेका युवा कुर्सीमा बसेर काम गर्न रुचाउँछन् तर स्वरोजगारमूलक काम गर्न पछि हट्छन्। तर, सल्यानका एक युवाले भने मूर्ति बनाएरै स्वरोजगार बन्नुका साथै मनग्य आम्दानी पनि गरिरहेका छन्। उनले मूर्तिकलाबाटै वार्षिक २० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको बताएका छन्। 

७ वर्षदेखि मूर्ति निर्माण गर्दै आएका बागचौर नगरपालिका ९ का टोपेन्द्र डाँगीले अहिले मूर्ति बनाउने पेसालाई व्यावसायिक बनाएका छन्। उनले अहिले आवश्यकताअनुसार देवीदेवता, सशस्‍त्र युद्धमा ज्यान गुमाएका शहीदहरूको प्रतिमालगायत विभिन्न आकृतिका मूर्तिहरू निर्माण गरिरहेका छन्।

 दैनिक  मूर्ति बनाउनमै व्यस्त रहने उनले अहिले मासिक ३ लाख बढी कमाई गरिरहेका छन्। उनले भने, ‘पैसा कमाउन विदेश वा सरकारी जागिर नै खानुपर्छ भन्ने केही छैन। सबै व्यक्तिमा कुनै न कुनै सिप हुन्छ उक्त सिपलाई चिन्न र प्रयोग गर्न सक्नुपर्छ।’

स्नातकोत्तर गरेका डाँगीले सुरुमा आर्टसम्बन्धी काम गरे पनि सात वर्षयता  शिक्षण पेसा छोडेर मूर्ति बनाउन थालेका हुन्। टोपेन्द्र कला केन्द्रको रुपमा सञ्चालन गरी व्यवसायमा लागेका उनलाई अहिले सल्यानलगायत रोल्पा, रुकुम, दाङबाटसमेत मूर्ति बनाउने माग आउने गरेको छ।

पढी लेखी जागिर नै खानुपर्छ भन्ने उनको मनमा त्यो भावना छैन आफूले गरेको कामप्रति उनी सन्तुष्ट छन्। हातमा मूर्ति बनाउने सीप र कला भएमा मनग्य आम्दानी गर्न कहीँ कतै जानु नपर्ने उनको भनाइ छ। 

एउटै मूर्तिको ५० हजारसम्म 

डाँगीले निर्माण गरेको एउटै मूर्तिको १५ हजार देखि ५० हजारसम्म लिने गरेका छन्। मूर्तिको आकारप्रकार अनुसार पैसा लिने गरेको उनको भनाइ छ। चाडपर्वमा देवीदेवताका मूर्ति बनाउन भ्याई नभ्याई हुने बताउँदै उनले अन्य समयमा पनि खाली समय काट्नु नपरेको बताए।

एउटा मूर्ति बनाउन एक हप्तादेखि तीन हप्तासम्म लाग्ने गरेको बताउँदै उनले प्रायजसो फिल्डमा नै गएर मूर्ति बनाउनुपर्ने भएकाले मूर्तिको मूल्य अलि बढी हुने गरेको उनले बताए। पछिल्लो समय देवीदेवताका मूर्तिभन्दा मृत्यु भएका आफन्तको सालिक बनाउन बढी माग आउने गरेको डाँगीले बताए। 

कोरोनाले थोरै समस्या 

विश्वभर फैलिएको कोभिड १९ का कारण आफ्नो पेसा व्यवसायमा पनि असर परेको उनको भनाइ छ। लामो समयसम्म बजार तथा यातायातका साधन बन्द हुँदा कच्चा पदार्थ संकलन गर्न निकै सकस परेको उनको भनाइ छ। उनले भने, ‘कोरानाले गर्दा गाउँ ठाउँमा गएर मूर्ति बनाउन पनि पाइएन। पाइएको ठाउँमा कच्चा पदार्थ नहुँदा समस्या भयो।’

दुई जनालाई रोजगारी 

उनको मूर्ति बनाउने काममा दुई जनाले रोजगारीसमेत पाएका छन्। यहाँ काम गर्ने मजदुरले डाँगीले बनाएका मूर्तिमा रंग लगाउने लगायतका काम गर्ने गरेका छन्। गाउँमै रोजगारी पाउँदा खुसी भएको एकराज डिसीको भनाइ छ। 

विदेशमा गएर श्रम खर्च गर्नुभन्दा आफ्नो सीप कला स्वदेशमै प्रयोग गर्न सके बेरोजगार भएर भौतारिनु नपर्ने डाँगीको मूर्तिकला सीपले देखाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.