सीमा सुरक्षा गर्नेहरु त्रिपालको भरमा

|

कञ्चनपुर : दोधारा-चाँदनी नगरपालिका-१० कञ्जभोजमा आइतवार सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ। सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण थापाले बिओपीको उद्घाटन गरेका छन्।

बिओपी उद्घाटन कार्यक्रममा बोल्दै उनले मातृभूमिको रक्षाका लागि सशस्त्र प्रहरी सीमा क्षेत्रमा २४ सै घण्टा तैनाथ रहेको बताए। 

विगतमा सीमाको रक्षा आमनागरिक र प्रहरीको सीमा चौकीले मात्रै गर्दै आएको चर्चा गर्दै उनले हाल सीमा सुरक्षाको जिम्मा सशस्त्र प्रहरीको काँधमा आएको बताए।

‘खुला सीमा क्षेत्रको सुरक्षा गर्नु निकै संवेदनशिल कार्य हो’, उनले भने, ‘अन्तर सीमा अपराध, मानव तस्करी, वन्यजन्तुको तस्करी र अवैध क्रियाकलाप नियन्त्रण गर्ने कार्य प्रभावकारी रुपमा अगाडी बढेको छ।’

सीमा क्षेत्रको सुरक्षाको जिम्मेवारी आएपछि आवश्यकताका आधारमा बोर्डर आउट पोष्ट राख्ने कार्य भइरहेको उनले बताए। दार्चुलाको छाङग्रुदेखि तराईका सीमावर्ती क्षेत्रसम्म सशस्त्र प्रहरीले सीमा सुरक्षा कार्यलाई अगाडि बढाएको उनले बताए।

‘पहिलेको तुलनामा सीमाको सुरक्षा व्यवस्था सुदृढ हुँदै गएको छ’, उनले भने, ‘सीमा सुरक्षालाई प्रभावकारी बनाउने कार्यमा आम नागरिकको समेत साथ मिलेको छ।’ 

नेपाल प्रहरीमा प्रहरी निरीक्षक हुँदा दोधारा चाँदनी आएको स्मरण गर्दै उनले विगतमा सीमा क्षेत्रका नागरिकले मात्रै सीमा क्षेत्रका रक्षा गर्दै आएकोमा अब सीमा सुरक्षाको ठूलो जिम्मेवारी सशस्त्र प्रहरीको काँधमा रहेको बताए। 

दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख वीरबहादुर सुनारले सीमा पारिपट्टि बस्दै आएको भारतीय सीमा सुरक्षा बल एसएसबीसँग प्रयाप्त भौतिक पूर्वाधार भएपनि बिओपीमा बस्ने सशस्त्र प्रहरीसँग बस्नका लागि त्रिपाल समेत नभएको बताए।

‘नेपाल सरकारले बिओपीमा बस्ने सशस्त्र प्रहरीका लागि प्रयाप्त बजेटको व्यवस्था गरी भौतिक पूर्वाधारका लागि संरचना निर्माण गर्नु पर्छ,’ उनले भने, ‘नगरपालिका संग प्रयाप्त बजेट नभएकाले सहयोग गर्न पाएका छैनौं।’

प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जिल्लाको शान्ति सुरक्षा र विपद् व्यवस्थापनको कार्यमा सशस्त्र प्रहरीले प्रभावकारी रुपमा कार्य गरिरहेको बताए। सीमा स्तम्भको सुरक्षासँगै सीमा अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले अग्रणी भूमिका खेलेको उनको भनाई थियो। 

कार्यक्रममा विओपी स्थापनाका लागि पाँच कट्टा जग्गा दान गर्ने खडकबहादुर बस्नेत र उनकी आमालाई सम्मान पत्रसहित दोसल्ला ओढाएर कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण थापाले सम्मानित गरेका छन्।

सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा रहने गरी उद्घाटन गरिएको बिओपीमा २५ जना जवान तैनाथ छन्। तत्काल बस्नका लागि तीन वटा छाप्रा निर्माण गरिएका छन। 

सीमा स्तम्भ नं ७७९ देखि ७९५ सम्मको नगरपालिका वडा नं ८,९,१० को सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बिओपीमा कार्यरत सुरक्षाकर्मीको जिम्मामा आएको छ। 

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक गणपति वीरेन्द्रबहादुर ऐरका अनुसार कञ्चनपुरमा १२९ दशमलव ५ किलोमिटर नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीका १८ ओटा बिओपी स्थापना भएका छन्।

यहाँ २५ वटा बिओपी स्थापना गर्ने लक्ष्य रहेको छ। छ वटा बीओपीका लागि स्थायी भवनका लागि टेण्डर अघि बढेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.