तेस्रो पटकको म्याद पनि सकियो

|

गोरखा : ०७२ को महाविनाशकारी भूकम्पमा ऐतिहासिक गोरखा दरबार बारपाकसँगै ढल्यो। दरबारमा पूर्ण क्षति पुगेको ५ वर्ष पूरा भइसक्यो। भूकम्प गएको दुई वर्षसम्म त यसलाई ठडाउने कुनै प्रक्रिया नै सुरु भएन।

अन्तत: २०७४ कार्तिकमा २०७६ मङ्सिर मसान्तसम्ममा दरबारको पुनर्निर्माण सिध्याउने भन्दै कुल ४ करोड ३५ लाख रुपैयाँमा पचली सिवाको जेभी कन्सट्रक्सन कम्पनीसँग पुरातात्विक विभागले २०७४ साल कार्तिकमा ठेक्का सम्झौता गर्‍यो।

गोरखा दरबार पुनर्निर्माणको जिम्मा लिएको ठेकदारले वाहानाबाजी नगरी काम खुरुखुरु गरेको भए एक वर्षअघि नै निर्माण सम्पन्न भइसक्थ्यो। तर, विभिन्न वाहाना बनाउँदै काम नगर्ने ठेकेदारका कारण पटकपटक म्याद थप हुँदासमेत दुई वर्षमा निर्माण सम्पन्न गरिसक्नु पर्ने दरबारको काम पाँच वर्ष बितिसक्दा पनि जम्माजम्मी  ६०  प्रतिशत मात्रै सम्पन्न भएको छ।

पहिलो पटक म्याद थप्न झुटको सहायता, दास्रो पटक कोरोना

गोरखा दरबार पुनर्निर्माणको ठेक्का हात पारेको ठेकेदार कम्पनीले पुरातत्व विभागसँग गरेको ठेक्का सम्झौताअनुसार २०७६ मङ्सीर मसान्तसम्ममा दरबार पुनर्निंर्माण गरिसक्नुपर्ने थियो।

तर, सम्झौता अनुुसार काम सक्नु पर्ने म्याद सकिँदासम्म गोरखा दरबार पुनर्निर्माण अलपत्र पारेर ठेकेदार ‘फरांर’ भए, पुरातत्व विभागको सम्पर्कमा नै आएनन्।

त्यसपछि, २०७६ माघ ९ गते विभागले सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्र ठेकेदार स्वयं उपस्थित भई लिखित स्पष्टीकरण दिन माग गर्‍यो।

सूचना जारी भएको १४ औँ दिनसम्म ठेकेदार कम्पनीका कोही पनि विभागको सम्पर्कमा गएनन्।

तर, विभागले माग गरेको १५ दिने स्पष्टीकरणको अन्तिम दिन ठेकेदारले विभागसँग अबको पाँच महिनाभित्र दरबारको पुनर्निर्माण गरिसक्ने प्रतिबद्धतासहित सम्पर्कमा गयो।

निर्माण सम्पन्न गरिसक्नुपर्ने समयमा काम अलपत्र छाडेर ‘फरार’ भएका ठेकेदारको कुरालाई विश्वास गर्दै पुरातत्व विभागले २०७६ पुस ४ गते २०७७ जेठ मसान्तसम्मका लागि म्याद थप गरिदियो।

पहिलो पटक म्याद थप हुँदा उक्त निर्माण कम्पनीले करिब ३५ प्रतिशत मात्रै काम सम्पन्न गरेको थियो। तर, ठेकेदारले थप भएको म्याद भित्रै काम सम्पन्न गर्छु भनेपछि विभागले ६ महिना म्याद थप गरेको थियो।

थप भएको म्यादअनुसार २०७७ जेठ मसान्तसम्म गोरखा दरबार पुननिर्माण भइसक्नुपर्ने हो।

तर, सो समयमा पनि काम नसकेपछि गत जेठ २८ गते पुनर्निर्माण प्राधिकरणको सचिव स्तरीय निर्णयले २०७७ मंसिर मसान्तसम्मका लागि म्याद थप गरिदिएको थियो।

दोस्रोपटक म्याद थप गर्ने क्रममा ठेकेदारले लकडाउनका कारण निर्माणको काम गर्न नसकेको वाहाना बनाएको थियो। तर, जिल्ला प्रशासन कार्यालय गोरखाले लकडाउनको समयमा पनि पुनर्निर्माणको कामलाई निरन्तर अघि बढाउन निर्देशन दिएको थियो।

थप गरिएको दोस्रो म्याद पनि सकियो, काम ६० प्रतिशत मात्रै 

पुरातत्व विभागले गोरखा दरबार पुनर्निर्माणका लागि थप गरेको दोस्रो पटकको म्याद मंसिर ३० देखि सकिएको छ।

सम्झौताअनुसार काम नगरेपछि पनि दुई पटकसम्म म्याद थप भएअनुसार हिजोसम्म गोरखा दरबार पुनर्निर्माणको काम सकिसक्नुपर्ने थियो।

तर, हालसम्म करिब ६० प्रतिशत मात्रै काम सम्पन्न भएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ।

ठेकेदार कम्पनीको म्यानेजमेन्ट मिलेको छैन : दरबार हेरचाह अड्डा

दरबार हेरचाह अड्डाका प्रमुख हरी भुषालका अनुसार गोरखा दरबार पुनर्ननिर्माणको जिम्मा पाएको निर्माण कम्पनीको व्‍यवस्थापकीय कमजोरी देखिने गरेको छ।

 निर्माण कम्पनीको व्‍वस्थापकीय कमजोरी भएकै कारण समयमा नै काम सम्पन्न हुन नसकेको उनले तर्क गरे।

 ‘ठेकेदारले जुन गतिमा निर्माणको काम गर्नुपर्ने थियो त्यो गतिमा गरेको छैन’, उनले भने, ‘कहिले एक-दुई जना कामदार हुन्छन्, कहिले आठ-दस जना हुन्छन् अनि कहिले कोही पनि हुँदैनन्। त्यसैले समयमा नै काम सम्पन्न हुन नसकेको हो। ठेकेदारको म्यानेजमेन्ट कमजोर भयो।’

अब गर्ला त पुरातत्व विभागले कारबाही?

विगतमा ठेकेदारले विभिन्न बहाना बनाउँदै समयमा काम गरेका छैनन्’, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले कामचोर ठेकेदारलाई ६ महिना म्याद थप गरिदिएको जानकारी दिँदै गत माघ २५ गते टेलिफोन सम्पर्कमा भनेका थिए, ‘तर, अब कुनै बहानाबाजी चल्दैन। जुनसुकै हालतमा पाँच महिनाभित्रै काम सक्नुपर्छ।  नत्र कारबाही हुन्छ।’

पहिलो पटक थप भएको म्यादअनुसार २०७७ जेठ मसान्तसम्म गोरखा दरबार पुननिर्माण भइसक्नुपर्ने हो। तर, पनि ठेकेदार कम्पनीले समयमा नै काम सम्पन्न गर्न सकेन।

यदि, उक्त समयमा काम सम्पन्न नगरे ठेकेदारलाई कारवाही गर्ने महानिर्देशक गौतमले चेतावनी नै दिएका थिए। यद्यपि, समयमै काम सम्पन्न नगर्ने ठेकदारलाई कारवाहीको सट्टा २०७७ जेठ २८ गते पुनर्निर्माण प्राधिकरणको सचिव स्तरीय निर्णयले २०७७ मंसिर मसान्तसम्मका लागि म्याद थप गरिदिएको थियो।

दोस्रो पटक थपिएको म्याद पनि आजदेखि सकियो, तर, काम सकिएन। अब, विभागले पुन: म्याद थप गर्छ या कारबाही?

समयमा काम सम्पन्न गर्न ठेकेदारलाई कसले रोक्यो?

सम्झौताअनुसार समयमा नै काम सम्पन्न नगरेपछि दुई पटकसम्म थपिएको म्याद पनि सकिँदासम्म निर्माण सम्पन्न नगर्ने पचली सिवाको जेभी कन्सट्रक्सन कम्पनीका सञ्चालक ससुलबाबु श्रेष्ठलाई हामीले समयमा नै काम सम्पन्न गर्ने तपाईंहरुलाई कसले रोक्यो? भन्दा उनी भन्छन्, 'सुरुमा सम्झौता भएअनुसार काम गर्न नपाएको र पछि दरबार पुनर्निर्माणको डिजाइन चार पटकसम्म परिवर्तन भएकाले समयमै काम गर्न नसकिएको बताउँछन्।

पूरातत्‍वले सहयोग गरे अबको चार महिनामा काम सिध्याउँछौँ

सञ्‍चालक श्रेष्ठले भने, 'पहिलो पटक म्याद थप हुँदा कोभिडले गर्दा कामदारलाई साइटमा ल्याउन सकेनौँ। त्यसले गर्दा काम प्रभावित भयो। तर, कोभिडका कारण म्याद थप भएको हैन, पानीको समस्या, काठको समस्याहरुले गर्दा काम सम्पन्न गर्न नसकेको भनेपछि म्याद थप भएको हो।

दोस्रो पटकको म्याद थप गरेपछि हामीले काम गरिरहेका छौँ। देस्रो पटक म्याद थप हुँदा दशैँ, तिहारमा काम रोकियो नत्र रोकिएन।  तर, दरबारमा प्रयोग हुने डिटेल्स ड्रोइङहरू आजसम्म पनि मलाई दिइएको छैन अनि कसरी काम अघि बढाउने?'

मुख्य समस्या काठको छ, हामीलाई। नेपाल सरकारले सालको काठका लागि पुर्जी नदिएको कति भयो? अनि हामीले कहाँबाट काठ ल्याउने ? कसरी काम गर्न सकिन्छ? गोरखामा उत्पादित काठ प्रयोग गर्न पाइँदैन बाहिरबाट ल्याउनु पर्छ भनेको बेला भनेजस्तो पाईदैन अनि के गर्ने?

विभागले आवश्यक डिसिजन समयमा नै नदिँदा हामीले कति पटक बनाउँदै भत्काउँदै गर्नु परेको छ। त्यसले पनि ढिला भएको हो। हामीले विभागलाई हाम्रो समस्याहरू राखिरहेका छौँ।

पुरातत्व विभागले पनि हामीलाई समयमा नै डिसिजन दिएको छैन। विभागले आवश्यक डिसिजनहरू समयमा नै गर्दियो भने अबको तीन-चार महिनाभित्रै काम सम्पन्न गर्नेछौँ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.