|

सुर्खेत : संघीय राजधानी काठमाडौंसँग सीधा हवाई मार्गबाट जोड्ने कर्णाली प्रदेशको एक मात्र सुर्खेत विमानस्थल विस्तारका लागि प्रदेश सरकारले अग्रसरता देखाएको छ। 

कर्णाली प्रदेश सरकारले सुर्खेत विमानस्थल विस्तारका लागि अधिग्रहणमा परेका जग्गा रोक्का गर्ने तयारी थालेको छ। विमानस्थल विस्तारका लागि नेपाल सरकारले तोकेका अधिकारीमार्फत अधिग्रहण क्षेत्रको जग्गाको कित्ता विवरण संकलन गरी रोक्का प्रक्रिया बढाउन लागिएको हो।

सुर्खेत विमानस्थल विस्तारका लागि ३० बिघा जग्गा अधिग्रहणको स्वीकृति भएको छ। विमानस्थलको धावनमार्ग १ हजार ५५५ मिटर बनाई रातिको समयमा पनि उडान गर्न मिल्ने गरी विस्तार गर्न लागिएको हो। अहिले दिनमा मात्र उडान हुँदै आएको छ।

विमानस्थल विस्तार तथा स्तरोन्नतिका लागि आउन सक्ने समस्या समाधानका लागि सर्वदलीय एवं सर्वपक्षीय समिति गठन गरिने भएको छ। बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री, अर्थमन्त्री, प्रदेश योजना आयोगका उपाध्यक्ष लगायतको सहभागितामा स्थानीय सरकारका जनप्रतिनिधिसहित विमानस्थल विस्तारका विषयमा भएको छलफलका क्रममा यस्तो निर्णय गरिएको हो।

यस्तै छिट्टै जग्गा प्राप्त हुनेगरी सुर्खेतका प्रमुख जिल्ला अधिकारीका अनुसार अबको तीन दिनभित्र मूल्यांकन समितिको बैठक बोलाउने निर्णयसमेत भएको छ। विमानस्थल विस्तारका लागि अधिग्रहणमा परेका जग्गाको मुआब्जा वितरणमा लाग्ने खर्चको ५० प्रतिशत खर्च कर्णाली प्रदेश सरकारले बेहोर्ने भएको छ। जसमा  ५ प्रतिशत वीरेन्द्रनगर नगरपालिकाले बेहोर्ने छ।

विमानस्थल विस्तारको योजनालाई प्राथमिकतामा राखेको कर्णाली प्रदेश सरकारले यसका लागि यसअघि असोज १५ गते संघीय सरकारसँग  तीन सय मिटर धावन मार्ग विस्तार गर्ने गरि सम्झौता गरिसकेको छ। २०२३ सालमा स्थापना भएको सुर्खेत विमानस्थलको धावनमार्गको लम्बाइ सुरुमा एक हजार मिटर हुँदै  ६ वर्षअघि २ सय ५५ मिटर थप गरिएको थियो। 

बुद्ध एयरको ४८ सिटे जहाज मात्र काठमाडौंदेखि सुर्खेत सीधा उडान हुँदै आएको छ। अन्य साना जहाजको उडान भने प्रदेशका अन्य जिल्लामा हुँदै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.