|

पाल्पा :  प्रायः सरकारी संस्था र व्यापार व्यवसाय गर्ने मानिसहरू जिल्लाको सदरमुकामका बजारमा ठूला ठूला महल ठड्याएर बसेका हुन्छन्। घर नबनाएकाहरूले पनि कोठा भाडामा लिएर आवश्यक सुविधाको उपभोग गरेर बसेको पाइन्छ।

अझै बढी गैरसरकारी संघ संस्थाको नेतृत्वदायी भूमिकामा रहेर काम गरेकाहरूको जीवनयापनको शैली उच्चस्तरको हुने भइहाल्यो। गैरसरकारी संस्थामा मेहनत बढी गर्नुपर्छ। सेवा सुविधा पनि राम्रो नै हुन्छ। उनीहरूले दावी गरेको सुनिन्छ।

दलित महिला संघ (फेडो) पनि एक गैह्रसरकारी संस्था हो। प्रधान कार्यालय काठमाण्डौमा रहेको यस संस्थाले देशका विभिन्न जिल्लामा करोडौंका कार्यक्रम सञ्चालन गर्दै आएको छ। सदियौंदेखि पछाडि पारिएका दलित समुदाय। त्यही समुदायभित्रका अति विपन्न, निरक्षर, कुनै पनि सीप नजानेका महिलालाई लक्षित गरेर संघले कार्यक्रम सञ्चालन गर्दै आएको छ।

संघले चेतनामूलकदेखि सीपमूलक तालिम र व्यवसाय गर्न चाहेका महिलालाई आर्थिक तथा भौतिक सहयोग गर्दछ। यिनै कार्यक्रमको नेतृत्व गर्छिन् तानसेन नगरपालिका ६ भोटेचौपारीकी ४२ वर्षीय शान्ति गहतराजले। उनी दलित महिला संघ (फेडो) पाल्पाकी अध्यक्ष हुन्।

२०५९ सालदेखि उनी सामाजिक संघ संस्थामा आवद्ध भएर काम गर्दै आएकी छिन्।  फेडो पाल्पाको उपाध्यक्ष भएर ८ वर्ष कार्यभार सम्हालेकी उनी हाल अध्यक्षको जिम्मेवारीमा छन्। यसअघि उत्पीडित उत्थान विकास केन्द्रको सदस्य, भूमिअधिकार मञ्च पाल्पाको उपाध्यक्ष लगायत अन्य सामाजिक संस्थामा समेत पाएको जिम्मेवारी इमान्दारपूर्वक पूरा गरिसकेकी छन्।

गैर सरकारी संस्थामा काम गर्ने जीवनशैली अनुमानका बिच यिनै शान्तिको आफ्नै जमिनमा बनेको घर छैन्। बजारमा कोठा भाडामा लिएर पनि बसेकी छैनन्। अरूको बारीमा सानो छाप्रो बनाएर गाउँमा बस्दै आएकी छिन्। सानै उमेरमा आमा गुमाएकी उनलाई जीवनमा दुखका तगाराले छेकिरह्यो। राम्रोसँग पढ्नसमेत पाइनन्। २०६१ सालमा परिवारलाई साहारा दिने उनका दाइ लिलाबहादुरको दुर्घटनामा परेर मृत्यु भयो। त्यही दिनदेखि शान्तिलाई झन दुःखका पहाडले थिच्यो। दाइको मृत्यु भएको एक वर्ष पछि बस्दै आएको लामिडाँडास्थित घर पनि वर्षाले भत्कियो।

भत्किएको घर बनाउन नसकेपछि यहाँबाट वृद्धा बुवालाई साथमा लिएर अन्यत्र बास खोज्दै हिंड्नु परेको उनले सुनाइन्। उनलाई साथ दिने अविवाहित एउटी दिदी थिइन्। भौतारिंदै हिंडेका ति दिदी बहिनीले भोटेचौपारीमा झाडी फाँडेर सानो छाप्रो बनाइ बसे। "केही वर्षपछि बुवा बिरामी पर्नुभयो।

बिरामी बुवाको उपचारको लागि भएको सम्पत्ति पनि बेच्नु परेको थियो। उपचार गर्दा गर्दै दुइ वर्षमा बुवा बित्नुभयो। अलिअलि भएका सम्पत्ति पनि सकियो', भक्कानिदै शान्तिले भनिन्।

अहिले शान्तिसँग उनकी अविवाहित ४५ वर्षीया दिदी सुकमाया र माइली दिदीका दुइजना नातिनी छन्। शान्ति पनि अविवाहित हुन्। वृद्धा बुवा र अविवाहित दिदीलाई साथ दिन उनले बिहे नगरेको बताउँछिन्। आमा र बुवाले छाडेर हिंडेपछि बेवारिसे बनेका ती दुइ बालिकालाई समेत शान्तिले नै स्याहार गर्नु परेको हो। शान्तिसहित ४ जना अर्कैको बारीमा सानो छाप्रो बनाएर बस्दै आएका छन्। स्याङ्जाको मालुङ्गा निवासी पार्वती पाण्डेको जमिनमा छाप्रो बनाएर बसिरहेका हुन्।

‘छाप्रो भत्किएको छ, बाघ चितुवाको डर लाग्छ’

शान्तिसँगै दुइ बालिका र एक दिदी बस्दै आएको सानो छाप्रो समेत भत्किएको छ। छानो र ढोकासमेत मजवुत छैन्। गएको असोजमा परेको वर्षाले घरको दुइ पाखाको गारो भत्किएको छ। अहिले भत्किएको गारोमा गुन्द्रीले छेकेर उनीहरू त्यही घरमा दिन रात कटाइरहेका छन्। ‘एकान्त ठाउँ छ।बाघ चितुवा आउँछन्। मोटरबाटो नजिकै भएकाले जस्तो मानिस पनि हिंड्ने गर्छन्। दिन जसोतसो कटेपनि रातीमा निर्धक्क भएर निदाउन सक्दिन्’, भत्किएको घरको गारो देखाउँदै शान्तिले भनिन्।

 महिला मात्र भएको घरमा केही घटना घट्ने हो कि? भन्ने चिन्ताले पिरोलेको उनी बताउँछिन्। यही घर पनि जमिनका मालिकले छाड्न भनेको शान्तिले बताइन्। यो घर बनाउँदा १० हजार ऋण लागेको छ। अन्य ठाउँमा गएर घर बनाउन सक्ने अवस्था नभएको उनले सुनाइन्।  कतैबाट सहयोग जुटेमा अन्यत्रै सानो घर बनाएर बस्ने उनले बताउँछिन्।

 

सिदा उठाएको चामलले जसोतसो दुइछाक टरेको छ

शान्तिको परिवारमा आम्दानीको कुनै स्रोत छैन्। परिश्रम गरेर खाने जमिन पनि छैन्। तानसेनमा रहेको कार्यालयमा समेत उनी दैनीक हिडेर पुग्ने गर्छिन्। कार्यालयसम्म पुग्न राजमार्गको पहुँच छ। तर भाडा तिर्न पैसा नभएकाले हिडेर जान आउन बाध्य भएको उनी बताउँछिन्। कार्यालय नपुगे अध्यक्ष पद गुम्ने र भत्ता पनि नपाइने उनले बताइन्।

फेडोको अध्यक्ष भएकाले बैठक भत्ता पाउने गरेको उनले सुनाइन्। ‘महिनामा २ देखि ४ वटा बैठक हुन्छ। प्रति बैठक ५ सय भत्ता पाउँछु’, उनले भनिन्, ‘भत्ताबापत पाएको पैसाले सामान्य तरकारी किन्न पुग्छ।' दिदीले सिदाको रुपमा उठाएको चामलको भात खानु परेको उनले सुनाइन्। आफूले काम गर्दै आएको संस्थाबाट अहिलेसम्म कुनै सहयोग नमिलेको उनले बताइन्। ‘मेरो अवस्था संस्थालाई थाहा छ’ उनले भनिन् ‘मैले मागेकी छैन् उनीहरूले केही सहयोग गरेका पनि छैनन्।’ इमान्दार र पारदर्शी काम गरेकाले संस्थामा पद पाएको उनले सुनाइन्।

आफूले ओमशान्तिबाट ल्याएको चामलको भात खाँदै आएको दिदी सुकमायाले बताइन्। ‘म नियमित ओमशान्तिको कार्यक्रममा सहभागी हुन्छु’, उनले भनिन्, ‘त्यहाँ उठाएको सिदा अर्थात् मुठी दान (चामल) दिन्छन्। त्यही चामलले जेनतेन दुइछाक टरेको छ।’ महिनामा १२ किलोसम्म चामल दिने गरेको सुकमायाले सुनाइन्।  कहिलेकाहीँ पेटभरी खान नपाएको उनले दुखेसो पोखिन्।

गहभरी आँशु लिंदै सुकमाया भन्छिन्,'अविवाहित हामीले एकल महिलाले जस्तो भत्ता पाए दुइछाक खान राहत मिल्ने थियो।' सिलाइ पेशामा रूची भएकी सुकमायाले आधुनिक खालको कपडा सिलाउने तालिम र कपडा सिलाउने मेशिन पाएमा जिविकोपार्जनमा सहज हुने आशा गरिन्। ४५ वर्षीया सुकमायाले भनिन्, 'दुई जना नातिनीलाई पढाउन र विद्यालयमा नास्ता पठाउनसमेत समस्या भइरहेको छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.