|

म्याग्दी : संघ र प्रदेशका नेताहरुको पहुँच र संरक्षणमा रहेका निर्माण कम्पनीहरुले ठेक्का लिएका म्याग्दीका विकास निर्माणका योजना अलपत्र परेका छन्।

कोरोना, वर्षात् र अन्य बहाना बनाएर ठेकेदारहरुले म्याग्दीका ठूला विकास आयोजनाहरु समयमा सम्पन्न नगरी अलपत्र अवस्थामा छोडेका हुन्। विकास आयोजनाहरु अलपत्र छोड्ने निर्माण कम्पनीका ठेकेदारहरु राजनीतिक दलका ठूला नेताहरुको पहुँच र संरक्षणमा रहेको पाइएको छ।

२०७७ साल भित्र र २०७८ सालको जेठ महिनाभित्र नै निर्माण सम्पन्न गरिसक्नु पर्ने म्याग्दीका पाँचवटा ठूला आयोजनाहरुको भौतिक प्रगति न्यून छ। 

बेनी–बागलुङ, बेनी दरवाङ, बेनी–गलेश्वर, गलेश्वर–राखु भगवती, पोखरेबगर– चित्रे लगायतका मुख्य सडक सरकारले बजेट विनियोजन गरेर काम सुरु भए पनि निर्माण व्यवसायीको लापरबाहीले समयमै काम सम्पन्न हुन सकेका छैनन्।

जिल्लाका मुख्य सडक, जलविद्युत, प्रसारण लाइन, सबस्टेशन, भवन र मोटरेबल पुललगायत पूर्वाधार समयमै सम्पन्न नहुँदा म्याग्दी विकस निर्माणको क्षेत्रमा पछि परेको छ। प्रदेश र संघ सरकारबाट संचालित सडकलगायत योजना निर्माण व्यवसायीको लापरबाहीले अलपत्र छन्।

२०७७ साल असोज मसान्तसम्म सक्नुपर्ने बेनी– बागलुङ सडक खण्डको ठेक्का नागार्जुन देवेन सायर बिएन जेभी कम्पनीका नारायण जिसीले निर्माणको जिम्मा लिएका थिए। १३ करोडमा ठेक्का सम्झौता भएको सो सडकको गत वर्ष ९० प्रतिशत भौतिक प्रगति भएको भनिएको थियो। तर, सडक बर्सात र पहिरोले हाल सो सडकको अवस्था हेर्दा ९० प्रतिशत भौतिक प्रगति देखिँदैन।

त्यस्तै २०७८ साल जेठ मसान्तसम्म सम्पन्न गर्नुपर्ने बावियाचौर दरवाङ खण्डको सडकको  भौतिक प्रगति ४० प्रतिशत रहेको छ। ५ महिनामा सो सडक निर्माण सम्पन्न हुने कुनै छाँटकाँट देखिएको छैन। विरुवा क्याराभान जेभीका निर्माण व्यवसायी चन्द थकालीले सो सडक निर्माणको जिम्मा लिएका हुन्।

त्यस्तै अवस्था छ ४७ करोडमा ठेक्का सम्झौता भएको बेनी बाबियाचौर सडकको पनि।  साढे १३ किलोमिटर दुरीको उक्त सडकको भौतिक प्रगति जम्मा ५० प्रतिशत मात्र छ। २०७७ असोज मसान्तमा सम्पन्न गर्ने लक्षसहित लामा समान्तर जेभी कम्पनीका संचालक जीप सिरिङ लामाले ठेक्का लिएको सो सडकको निर्माण अवधि सकिइसकेको छ। केन्द्रका ठूला नेताहसँग पहुँच भएका लामाले जिल्लाका जनप्रतिनिधि र स्थानीय प्रशासनको कामप्रतिको गुनासो र सुझावलाई समेत बेवास्ता गर्दै आइरहेका छन्।

उता गलेश्वर–पिप्ले–भगवती–बेग सडकको भौतिक प्रगति ४३ प्रतिशत मात्र छ। ऋाठ किलोमिटर दुरीको सो सडक स्तरोन्नतिको म्याद २०७८ साल जेठ मसान्तसम्म सम्पन्न गर्ने थियो। सडक स्तरोन्नतिको ठेक्का एपेक्स खड्का कृष्ण जेभी काठमाडाैंका निर्माण व्यवसायी रत्न खड्काले लिएका थिए। १८ करोड ४१ लाख ८३८ रुपैयाँमा ठेक्का सम्झौता भएको सो सडकका लागि ६ करोड २४ लाख ३९ हजार ६ सय रुपैयाँ भुक्तानी भइसकेको पुर्वाधार कार्यालयका इन्जिनियर सन्तोष अर्यालले जानकारी दिए।

यसैगरी ४ करोडमा ठेक्का सम्झौता भएको बेनी–गलेश्वर सडक आयोजना गत कात्तिक मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने लक्षसहित गौरी पार्वति रुपल जेभी कम्पनीले लिएको थियो। आर्थिक बर्ष २०७४÷०७५ मा सुरु भएको योजना म्याद सिद्धिए पनि भौतिक प्रगति ७५ प्रतिशत भएको पुर्वाधार कार्यालयले जनाएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ म्याग्दीले १८ किलोमिटर दूरीको पोखरेबगर–चित्रे सडक कालोपत्रे गर्न मोतिदान–जयमाता जेभीसँग २७ करोड ९१ लाख ३५ हजार रुपैयाँमा ठेक्का सम्झौता छ।

आयोजनाको भौतिक प्रगति ३८ प्रतिशत मात्र छ, कम्पनीले योजनाप्रति बेवास्ता गरेको छ। त्यस्तै सदरमुकाम बेनीमा रहेको खुलामञ्च निर्माणमा बजेट अभावले अलपत्र छ,बेनी नगरपालिकासहित प्रदेश र संघका जनप्रतिनिधिहरुले बजेट विनियोजनमा ध्यान नदिदाँ गुरुयोजना अनुसार काम भइरहेको खुलामञ्च अलपत्र जस्तै हिउँदमा काम रोकिएको छ। 

त्यसैगरी राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक आयोजना पनि अलपत्र अवस्थामा नै छ। अहिलेसम्म निर्माण सम्पन्न भइसक्नु पर्ने सडकको जम्मा भौतिक प्रगति ५० प्रतिशतमात्र छ। गत चैतदेखि आयोजनाको काम रोकिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.