काठमाडौं : चिसो मौसम। यतिखेर धेरै मानिसहरू सिरकभित्रै बिहान गुजार्छन्। तर, निरुता राईको दैनिकी भिन्न छ। चिया र तरकारी बनाएर बिहान ६ बजे ग्राहकलाई पुर्याउन पुग्छिन्। त्यसो त उनलाई बिहानको ५ बजे नै निन्द्राले छोड्छ।
१६ वर्षीय निरुता सुकुम्बासी हुन्। यी उमेरका जो कोही युवायुवती यसरी बाहिर चिया बोक्दै बेच्न लजाउँछन्। तर,निरुता लाजभन्दा पनि कामलाई भोको पेट र जीवनको लक्ष्यप्राप्तिका अर्थमा बुझ्छिन्।
आइतबार उनी कोटेश्वरको जडिबुटीस्थित सुकुम्बासी बस्तीमा चिया बेचिरहेको बेला भेटिइन्। भनिन्, ‘चिसोयाममा चाँडै उठ्न मन त लाग्दैन नि! तर, के गर्नु? काम गर्नैपर्याे।’
उनी बिहानै चिया, दुनोट, अन्डा र चना बनाउँछिन्। त्यसलाई बेच्न सुकुम्बासी बस्तीतिर लाग्छिन्।
त्यही ठाउँका फोहोरमैला व्यवस्थापन गर्ने कर्मचारी र सुकुम्बासीहरू नै उनले बनाएका खानेकुरा खाने ग्राहक हुन्। उनी चिया बेच्दै हिँडेकी तीन साता भैसकेको छ।
‘चिया बेचेर दैनिक ५ सय रुपैयाँसम्म कमाई हुन्छ’, उनले भनिन्, 'त्यही पैसाले भोलीका लागि समान ल्याउँछु। बाँकी आफूलाई चाहिने कामकाजमा खर्च गर्छु।’
पढेर विदेश जाने र नर्स बन्ने सपना
निरुता श्रम मात्रै गर्दिनन्। कामसँगै अध्ययनलाई पनि अघि बढाउँदै छिन्। माध्यमिक तहपछि उनले डिल्लीबजार कन्या क्याम्पसमा पढ्ने योजना बनाइसकेकी छिन्। कलिलो उमेरकी भएपनि उनले जीवन र संघर्ष के हो भन्नेबारे व्यवहारबाट जानिसकेकी छिन्।
नर्स बन्ने लक्ष्य उनको छ। बुबा आमाले छोडेपछि भने उनी एक्लै छिन्। तर, उनलाई साथी सुजता राईले साथ दिइरहेकी छिन्। उनीहरू अहिले सुकुम्बासी बस्तीनेर बस्छन्।
‘साथीलाई बिहान चिया ल्याउन सघाउँछु,’ उनले सुनाइन्, ‘पढ्दै गर्दा कक्षामा भेटघाट भएपछि साथी बनेका हौँ। यहाँ चिया बाँडिसकेपछि फेरि सँगै मिलेर बङ्गुरको लागि दाना छान्ने काम गर्छौँं।’
उनी पनि डिल्लीबजार कन्या क्याम्पसमा कक्षा ११ मा भर्ना हुँदैछिन्। भनिन्,‘प्लस टु पास गरेपछि विदेश जाने सोच छ। भाग्यले हेरौँ कत्तिको साथ दिन्छ।’ उनी ९ वर्षदेखि अनेक हण्डर खादैँ सुकुम्बासी बस्तीमा बस्दै आएकी छिन।
कुनै पनि काम सानो-ठूलो नहुने भन्दै अरु साथीहरूलाई पनि सकेको जति परिश्रम गर्न उनी सुझाव दिन्छिन्। ‘काम कुनै पनि सानो-ठूलो हुँदैन,’ उनले भनिन्, ‘त्यसैले जस्तोसुकै उचित काम पनि गर्नुपर्छ लजायो भने भोकै हुने डर छ, संघर्षबाट हरेक कुरा सिकिँदोरहेछ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।