संक्रमण जोखिम कम भए मन्दिर खुल्ने समय थप हुने

|

काठमाडौं : पशुपतिनाथ मन्दिरमा ५ दिनमा करिब चार लाख रकम भेटीस्वरुप संकलन भएको छ। पुष १ गतेदेखि खुला गरिएको मन्दिरमा ५ दिनमा ३ लाख ८२ हजार ८ सय ६ रुपैयाँ संकलन भएको हो।

कोरोना भाइरसको जोखिम बढेसँगै चैत ११ देखि मन्दिर परिसरमा भक्तजनलाई प्रवेशमा रोक लगाइएको थियो। ९ महिनापछि खुलेको मन्दिरमा अहिले बिहानैदेखि भक्तजनहरूको भीड लाग्न थालेको पशुपति विकास कोषका कोषाध्यक्ष मिलन थापाले थाहाखबरलाई जानकारी दिए।

थापाका अनुसार पहिलो दिन १ लाख रुपैयाँभन्दा बढी भेटी उठेको थियो। दोस्रो दिन ३८ हजार ९० रुपैयाँ, तेस्रो दिन ६७ हजार २८, चौथो दिनमा ८० हजार ५ सय ९९ र पाँचौ दिनमा ७६ हजार ५ सय ५४ रुपैयाँ संकलन भएको हो। विकास कोषलाई आठ महिना भन्दा बढी मन्दिर बन्द रहँदा ३५ देखि ४० करोड नोक्सान भएको थियो।

दैनिक २ सयको हाराहारीमा दर्शनार्थी आउने गरेको जानकारी दिए। थापाले भने,' आज १ हजार भन्दा बढी भक्तजन आएका थिए। शनिबार र सोमबार भक्तजनहरूको भीड लाग्ने गरेको छ।'

बिहान ६ बजे देखि दिउँसो २ बजेसम्म भक्तजनको लागि मन्दिर खुला गरिएको उनले बताए। पुस भरि मन्दिर खुल्ने समय थप नगर्ने उनको भनाइ छ। अहिले ९ घण्टा मन्दिर खुल्छ।

कोरोना जोखिम नघटे सम्म यहीँ समयलाई लागू गरिने उनको दाबी छ। समय थप्न संक्रमणको जोखिम कति रहन्छ त्यसमा निर्भर रहने उनले बताए।

मन्दिर परिसरमा ७ देखि ८ मिटरको दूरीमा भक्तजनलाई दर्शन गर्ने व्यवस्था मिलाइएको उनले प्रस्ट पारे। स्वास्थ्य मन्त्रालयको स्वास्थ्य मापदण्डको प्रोटोकलअनुसार सबैले स्वास्थ्य मापदण्ड अपनाइरहेका उनको भनाइ छ। मास्क नलगाउनेलाई प्रवेशमा कडाइ गरिएको उनले बताए।

मन्दिर खुला गर्न ३० गते क्षमा पूजा गरिएको थियो। १ गतेदेखि सर्वसाधारण तथा भक्तजनको लागि मन्दिर प्रवेश गर्न दिइएको थियो।

मन्दिर प्रवेश गर्ने दर्शनार्थीहरूले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गरिरहेका छन्। पहिलो चरणमा दर्शनार्थीहरूलाई पश्चिम ढोकाबाट प्रवेश दिइने छ भने त्यही ढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ।

दर्शनार्थीको लागि मन्दिर खोले पनि मन्दिरभित्र गरिने पूजा पाठ र भजन कीर्तन भने तत्काल नहुने भएको छ। चैतपछि पशुपतिनाथमा भक्तजनले विशेष पूजा र दर्शन गर्न पाएका थिएनन्।

'एक सातामा फूल व्यापारीलाई व्यवस्थापन गर्छौं'

त्यसैगरी,पशुपति मन्दिर परिसरमा रहेका फूल व्यापारीलाई एक सातामा व्यवस्थापन गरिने  थापाले जानकारी दिए। खुला रुपमा रहेका व्यापारीलाई विकास कोषले निर्माणको भवनमा लगेर राखिने उनले बताए। अव्यवस्थित तरिकाले निर्माण गरि बसेका फूल व्यापारीलाई व्यवस्थापन गरी मन्दिर परिसरको सौन्दर्य बढाउनेमा उनको विश्वास छ।

'फूल व्यापारीहरूसँग अहिले छलफल चलिरहेको छ,' कोषाध्यक्ष थापाले भने,' व्यापारीहरूलाई सहमति गराएर नयाँ भवनमा सारिन्छ। त्यहीँ बसिरहेका व्यापारीलाई राखिन्छ। विकास कोषमा नाम दर्ता भएका र राजश्व बुझाएकाले बस्न पाउँछन्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.