|

सोलुखुम्बु : सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हमु गाउँपालिका घाटमा वि.सं २०३० साल जेठमा जन्मिएका ङवाङ ओङ्छु शेर्पाले सगरमाथा आरोहण पाँचपटक गरे।

सामान्य परिवारमा जन्मेका शेर्पाले चार कक्षा माथि अध्ययन अघि बढाउन सकेनन्‌। माथिल्लो तहसम्मको शिक्षा लिने रहर हुँदाहुँदै पनि बाध्यताका पहाडले थिचेपछि १८ वर्षकै उमेरदेखि ट्रेकिङ पेशामा लागे। ओङ्‌छुले यसो नगरे परिवारको भरणपोषण मुस्किल पर्थ्यो।

ट्रेकिङमा पहिलोपटक जाँदा भारी बोक्ने अवसर मिल्दा उनमा हर्षको सिमा रहेन। अनुभवले खारिँदै गएपछि ट्रेकिङ गाइड बने, पर्यटकले राम्रै मान्न थाले, अनि त नाम र दाम लगायत सबै हुन थाल्यो।

भरियाबाट पर्यटन क्षेत्रमा प्रवेश गरेका शेर्पाले पाँच पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेका छन्। विदेशी पर्यटकलाई पथ प्रदर्शन गर्दैगर्दा सन १९९९ मा पहिलोपटक सफलतापूर्वक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरे।

शेर्पा त्यसपछि पनि पाँचपटक सगरमाथाको चुचुरोमा पुगे। सन् २०००, २००१, २००३ र २००४ मा क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ पटक सफलतापूर्वक सगरमाथा आरोहण गरेका शेर्पाले नामसँगै दाम समेत कमाए।

शेर्पा सगरमाथामा मात्रै सीमित भएनन्‌, नेपालमा रहेका आठ हजार मिटरभन्दा माथिका धौलागिरि, चोयु, सिसापोंमा, ल्होत्से, आमादब्लम लगायत एक दर्जन भन्दा धेरै हिमालको शिखरमा पाइला टेके।। यस्तै फ्रान्सको माउन्ट ब्ल्यान्स शिखर समेत दुईपटक आरोहण गरिसकेको उनले बताए।

शेर्पाले आफ्नो देशका विभिन्न भूभाग र हिमाली क्षेत्रसहित विश्वका धेरै देशहरूको भ्रमण गरिसकेका छन्‌। विदेश र नेपालबीच तुलना गर्दा उनलाई यस्तो लाग्छ : देशमा धेरै सम्भावना छ, तर धेरै पछि परेको छ। 

सोलुखुम्बुदेखि अमेरिकासम्म

विभिन्न देश घुम्ने क्रममा शेर्पा सन् २००२ मा अमेरिका पुगे। केही समय त्यहाँ भ्रमण गरी नेपाल फर्केपनि उनलाई अमेरिकी विकास र समृद्धिले तानिसकेको थियो। 

त्यही अमेरिकी सम्मोहनले सन् २०१४ मा उनी परिवारसहित पुनः अमेरिका गए। अब नेपालमा कमै समयमात्र बस्ने उनले निधो गरिसकेका छन्‌। 

अहिले उनी अमेरिकाको कोलोराडो राज्यको लङ्मन्ट शहरमा बस्छन्‌। साथमा दुई छोरा र श्रीमती छन्‌। सन्ततीको भविष्य निर्माणका लागि आफू अमेरिका आएको र यो रहर नभई बाध्यता भएको उनको तर्क छ।

संभावना छ, तर नेतृत्वको भूमिका कमजोर

नेपालमा थुप्रै संभावना भएपनि यहाँको व्यवस्था र परिवर्तनमा नेतृत्वको भूमिका कमजोर भएको ओङ्छुलाई पनि लागेको छ। यसैकारण हजारौँ नेपाली विदेसिनुको विकल्प नभएको उनको बुझाई छ।

देशको आम्दानीको मुख्य श्रोत पर्यटन भएपनि दीगो व्यवस्थापन र यस क्षेत्रमा संलग्न भएकाहरुको सम्मान गर्न नसक्नु राज्यको कमजोरी रहेको शेर्पाको भनाई छ।

'म जस्ता थुप्रै युवा तथा पर्यटन व्यवसायी बाध्यताले अर्काको देशमा आएर काम गर्नुपरेको छ,' शेर्पाले भने, 'स्वदेशमा बस्ने वातावरण निर्माण गर्ने हो भने गुणस्तरीय जनशक्तिले नेपाललाई केही वर्षमै स्वीटजरल्यान्डसरह बनाउन सक्छन्‌।'

पर्यटकीय क्षेत्र पहिचान तथा प्रवर्द्धन  कार्यक्रम सञ्चालन गर्नेदेखि संलग्न जनशक्तिलाई स्वास्थ्य सुरक्षाको ग्यारेण्टी लगायतका कार्यमा सरकारको ध्यान जानुपर्ने उनी बताउँछन्‌। प्रदेश र स्थानीय सरकारले पनि सोहीअनुसारका कार्यक्रम ल्याउन आवश्यक रहेको उनी सुझाउँछन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.