|

बर्दिया : पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भुरिगाउँ बजारको मुख्य चोकस्थित सडकमा परेका खाडलमा धेरै पटक ग्राभेल त हालियो। तर, खाडल पुरिनुको साटो झन्‌ फैलँदै गएको छ।

राजमार्गको रम्वापुरदेखी कर्णाली चिसापानीसम्म यस्तै सयौँ साना-ठूला खाल्डाखुल्डी छन्। चुस्त र दुरुस्त राख्नुपर्ने राजमार्ग धेरै समययता खाडलमार्गको हालतमा छ। तर, सरोकारवाला निकायले मर्मत-सम्भारमा अझैसम्म चासो दिएको छैन।

सडक डिभिजन कार्यालयले महिनौं अघि नै मर्मत भइरहेको बताउने गरेको थियो, तर खाल्डामा माटो हाल्ने बाहेक अरू काम भएको देखिँदैन। बर्दियाको रम्बापुर देखी भुरिगाउँ हुँदै कर्णाली चिसापानी खण्डमा पर्ने राजमार्गमा जताततै खाडल छन्। सवारीसाधन चलाउन निकै सकस पर्ने गरेको छ। 


पूर्व-पश्चिम राजमार्ग अत्यन्तै व्यस्त सडक हो। यहाँ दिनहुँ सयौँ सानाठूला सवारीसाधन चल्ने गर्छन्। खाडल परेको महिनौंसम्म पनि राजमार्ग मर्मत भएको छैन, दुर्घटना जोखिम उत्तिकै छ। 

एउटा खाडल पार गर्न नपाउँदै अर्को खाडल आउँछ। खाल्डाखुल्डीका कारण सवारी दुर्घटनामा परेर ज्यानै जानसक्ने खतरा छ। राजमार्गमा भएका सयाैँ खाल्डाखुल्टीका कारण सवारीसाधनमा सवार यात्रुहरू झस्किन्छन्‌। 

'राजमार्गमा आफ्नै गतिमा सवारीसाधन चलिरहेका बेला एक्कासी बस घच्याक्क भएको आवाज आउँछ, दुर्घटना नै भयो कि भनेर तर्सिन्छौं,' बसमा सवार एक यात्रुले भने। बजार क्षेत्रका यात्रुहरू पनि त्यस्तो आवाज आउदा झसङ्‌ग हुन्छन्।

राजमार्ग बिग्रेको लामो समय भैसक्दा पनि मर्मत नहुँदा आफूहरू समस्यामा पर्ने गर्ने यात्रुहरू बताउँछन्‌। राजमार्गको अवस्था भोग्दा सवारी चालकहरू पनि दिक्क भैसकेका छन्। सवारीसाधन चलाउन निकै सकस हुने गर दिउँसोभन्दा रातीको समयमा चल्ने सवारीसाधन दुर्घटना जोखिममा रहेको सवारीचालकहरू बताउँछन्। 

राजमार्गमा केही तीव्र गतिमा सुरक्षितसाथ सवारीसाधन कुदाएर गन्तव्यमा पुग्ने चाहना सबैको हुन्छ। तर सडकमा सवारी साधन कुदाउन त के, चलाउनै डरलाग्दो अवस्था छ। सडक मर्मतसम्भार गर्ने जिम्मेवारी सडक डिभिजन कार्यालय नेपालगन्जको हो। तर सडक डिभिजनले सडक मर्मतमा कुनै चासो दिएको छैन। स-साना खाल्डामा माटो हाल्ने काम मात्र भएको छ। केही समय अघि टालटुल पारेको ठाउँ पनि फेरी उस्तै खाडल परेको छ। 

भुरिगाउँ बजार चोकमा पनि केही समय पहिले स्थानीय पालिकाले ग्राभेल ल्याएर खाल्डाखुल्डी पुरेजस्तो गरेको थियो। अहिले त्यही ठाउँमा पहिलाको भन्दा ठूला खाल्डा भएका छन्।

'आफ्नै पालिकाको मुख्य बजारमा रहेको सडकका खाल्डाखुल्डी पुरिदिनु त पालिकाको पनि दायित्व हो नि!' एक व्यापारीले थाहाखबरसँग कुरा गर्दै भने, 'तर पालिकाले पनि आखाँमा छारो हालेजस्तै गर्‍यो।' 

'करोडौं बजेट ल्याउने पालिकामा बजार क्षेत्रकै खाडल पुर्ने क्षमता नहोला त?' एक स्थानीयले प्रश्न गर्दै भने, 'आफ्नै पालिकाको मुख्य बजारमै त्यत्रा खाल्डाखुल्टी हुँदा पनि सडक बिभागको मुख ताकेर बस्नुपर्ने भयो।'

सडकमा जताततै खाल्डाखुल्डी हुँदा सवारीसाधन चलाउन निकै सास्ती हुने गरेको सवारी चालकहरूले बताउँदै आएका छन्। कालोपत्रे नगरे मसिनो ग्राभेल हालेर भएपनि खाडल पुरिदिन स्थानीय सरकारसँग नगरबासीले माग गरिरहेका छन्। 

प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले चाँडै सडक मर्मत गर्न सडक डिभिजन कार्यालयलाई निर्देशन दिइसकेको बताए। उनले मानखोलादेखि सम्मापुर क्षेत्रका खाल्डाखुल्डी पुरिसकेको र अब चाँडै रम्बापुर-चिसापनी खण्डमा भएका खाल्डाखुल्डी पनि पुरिने जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.