दृष्टिविहिनलाई सबैभन्दा सकस, व्यवस्थापन कम-गुनासो धेरै

|

अतिन आचार्य/ श्याम राई

काठमाडौं : सिंहदरबार परिसरमा रहेका बाहेक काठमाडौं जिल्लाका अन्य सरकारी कार्यालय सडकमा पार्किङ अस्तव्यस्तता निम्त्याउने अखडा बनिरहेका छन्‌ दिनहुँ सयौं सेवाग्राहीलाई सेवा दिनुपर्ने यी सरकारी कार्यालयहरूले पार्किङ न पार्किङ गर्ने ठाउँ बनाएका छन्‌, न त वैकल्पिक व्यवस्थापनमा ध्यान दिएका छन्‌। 

यी अधिकांश कार्यालयमा सवारी पार्किङ गर्नै समस्या छ। चक्रपथ र भित्री सडक आसपास रहेका कार्यालयमा मोटरसाइकल र साना सवारीसाधनलाई पार्किङ गर्न कठिन हुने गरेको छ।

सरकारी कार्यालयमा सेवा लिन आएकाहरूले सडकमै सवारीसाधन पार्किङ गरिदिँदा पैदल यात्री हिँड्ने सडक पेटी हराउँदै गएको छ। सबैभन्दा बढी सकस त द‌ृष्ट्रिविहिनहरूले भोगिरहेका छन्‌।

काठमाडौं जिल्ला अदालत र विशेष अदालत, नागरिक उड्डयन प्राधिकरणको कार्यालय, रानीपोखरीस्थित महानगरीय प्रहरी परिसर, वीर अस्पताल र बबरमहलको टंकप्रसाद घुम्ती सेवा सडकपेटी दिनभर सवारीसाधन पार्किङ गर्ने थलो बनिरहेको छ। यात्रु हिँड्न बनाइएको सडक पेटी सवारीसाधन प्रयोग गर्नेहरूले बाध्यतापूर्वक कब्जा गर्नुपर्ने अवस्था छ। यसो हुनुको प्रमुख कारण सिंहदरबार बाहिर रहेका सरकारी कार्यालयले पार्किङ सुविधा विस्तार नगर्नु नै हो। 

रत्नपार्कको सडक किनारामा पनि अव्यवस्थित पार्किङ गर्ने गरिएको छ। सवारीसाधनको बढ्दो चाप र पार्किङ क्षेत्र अभाव काठमाडौं उपत्यकाभर नै विकराल समस्या बनिरहेको छ।

काठमाडौं महानगरपालिकाले आफ्नो प्रशासनिक क्षेत्रभित्र अव्यवस्थित तरिकाले गरिएको सवारीसाधनलाई नियन्त्रणमा लिएर विभिन्न समयमा कारबाही गर्दै आएको छ। सरकारी कार्यालयमा सेवा लिने नागरिक पनि महानगरको कारबाही भोग्न बाध्य छन्‌। सरकारी कार्यालयमा पार्किङ गरौं : ठाउँ छैन। बाध्यतापूर्वक सडकपेटीमै सवारी रोक्नुपर्‍यो। यसो गर्दा महानगरको प्रहरी टोलीले झ्याप पारिहाल्छ। 

सरकारी कार्यालयमा सेवा लिन आउने/नागरिकले यस्तो सास्ती भोगेको निकै समय भइसक्यो। तर न सरकारले यो समस्या देखेजस्तो गर्छ, न त सीमित क्षेत्रफलमा लगभग भवन मात्रै ठड्याइएका सम्बन्धित कार्यालयका अधिकारीहरूले यो समस्या तत्कालै समाधान गर्न सक्छन्‌।

​आफू चढेर आएको सवारीसाधन सडक पेटीमा पार्किङ गरिरहँदा धेरै सेवाग्राहीलाई आफूले 'अपराध गरेको' बोध पनि हुन्छ। तर, सरकारी कार्यालयभित्र पार्किङ गर्ने ठाउँ नहुँदा सेवाग्राहीहरू बाध्यतापूर्वक नै यस्तो 'अपराध' गर्न बाध्य भएको बताउँछन्‌। 

जब सडक पेटीमा हिँडिरहेका पैदलयात्री त्यहाँ पार्किङ गरिएका सवारीसाधनमा ठोक्किने भएपछि अति व्यस्त सडकतिर लाग्छन्‌, द‌ृष्ट्रिविहिनहरू आफ्ना लागि छुट्याएको ट्रयाकमा रोकेर राखिएका सवारीसाधनमा ठोक्किन्छन्‌, तब लाग्छ : राज्य र सरकार स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने नागरिकको अधिकार मिच्न खप्पिस छ।

शहरी सौन्दर्यमा असर

अव्यवस्थित पार्किङले शहरको सौन्दर्यमा पनि ह्रास आएको छ। वृक्षारोपण गरिएका ठाउँमा मोटरसाइकल पार्किङ गर्दा बिरुवा मासिएका छन्, सडक पेटीबाट हिँड्दैगर्दा निकै विरक्तलाग्दो र अव्यवस्थित द‌ृश्य देख्नुपर्छ।

महानगर क्षेत्रमा भरपर्दो पार्किङ नहुँदा अव्यवस्थित पार्किङको समस्या पनि बढ्दै गएको हो। महानगरले नयाँ सडकमा बनाउन लागेको ६ तले पार्किङ भवनको काम थाल्ने सुरसार अझै छैन। काममा भइरहेको ढिलाइबारे जिज्ञासा राख्दा महानगरका अधिकारीहरूको जवाफ हुन्छ : 'उपयुक्त परामर्शदाता र निर्माण कम्पनी पाएनौं।'

महानगरले कहिले 'भनेजस्तो' निर्माण व्यवसायी र परामर्शदाता पाउला या सरकारले सरकारी कार्यालयहरूका लागि पार्किङ बनाइदेला, त्यो त थाहा छैन। तर, सरकारी अकर्मण्यताकै कारण संघीय राजधानी काठमाडौंका सडक पेटीमा अझै लामो समयसम्म यात्रुले सास्ती खेप्नुपर्ने पक्कापक्की छ।

काठमाडौं जिल्ला अदालतले पार्किङ सहितको भवन बनाएपनि सेवाग्राहीलाई पार्किङ गर्न दिएको छैन। पार्किङको लागि स्थान नपाएपछि सेवाग्राही फुटपाथमा पार्किङ गर्न बाध्य छन्। कतिपय सेवाग्राहीले अन्य कार्यालयमा पुगी सवारीसाधन पार्किङ गर्ने गरेका छन्।

'अव्यवस्थित पार्किङ हटाउँछौ'

नागरिक उड्डयन प्राधिकरण कार्यालय अगाडिको सडक पेटीमा दैनिक सयौं मोटरसाइकल पार्किङ गरिएका हुन्छन्। जिल्ला अदालतमा आएका सेवाग्राहीले अगाडि साना सवारीसाधन पार्किङ गर्ने गरेका प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री बताउँछन्‌।

'हाम्रो कार्यालयमा आएका सेवाग्राहीको सवारीसाधनहरू कार्यालय परिसरमा राख्ने गरिएको छ,' उनले भने, 'अव्यवस्थित पार्किङलाई चाँडै व्यवस्थापन गर्न सम्बन्धित निकायलाई अनुरोध गर्छौं। महानगर र ट्राफिक महाशाखालाई यस विषयमा पटक-पटक जानकारी गराइसकिएको छ।'

पहिले-पहिले सडक पेटीमा सवारी पार्किङ गर्ने सवारीधनीलाई कारबाही गर्ने गरिएपनि अहिलेहाल त्यसो गर्न छाडिएको उनले बताए।

'ट्राफिक र महानगरपालिकासँग छलफल गरिरहेका छौं'

काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार भिम बहादुर निरौलाले पछिल्लो समय सवारी धनीलाई त्यहाँ पार्किङ नगर्न भनिएको बताए। उनले भने, 'केही दिनयता अव्यवस्थित तरिकाले सवारीसाधन पार्किङ गर्नेहरूलाई सम्बन्धित निकायले कारबाही गर्न थालेको छ।' महानगरपालिका र ट्राफिक प्रहरीसँग समन्वय गरी व्यवस्थित पार्किङ क्षेत्रको खोजी गरिने उनले जानकारी दिए।

सडक पेटीमै सवारीसाधन पार्किङ गर्नुपर्ने बाध्यता खेपेकालाई प्रहरीले कारबाही गर्न थालेपछि सम्बन्धित कार्यालयहरूमै सेवाग्राहीले गुनासो गर्न थालेका छन्‌।  जिल्ला अदालतमा पनि यस्तो गुनासो गर्ने सेवाग्राहीको संख्या बढिरहेको श्रेष्तेदार निरौलाले बताए। केही दिनपछि काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीसँग पार्किङको विषयबारे वार्ता गर्न लागिएको उनले जानकारी दिए।

ट्राफिक प्रहरी पनि सवारी चालकका व्यवहारबाट आजित भएको बताउँछन्। सडकमा पार्किङ नगर्न भन्दा सेवाग्राहीले अन्य ठाउँ देखाइदिने आग्रह गर्ने, तर आफूहरूले विकल्प दिन नसक्ने स्थिति रहेको ट्राफिक प्रहरीहरू बताउँछन्‌। 

'अव्यवस्थित पार्किङ गरिएका सबै सवारीसाधनमाथि कारबाही'

महानगरभित्र रहेका सरकारी कार्यालय अगाडि अव्यवस्थित तरिकाले पार्किङ गरिएका सवारीसाधनलाई कारबाही गरिने काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले बताए।

उनले भने, 'जनगुनासो बढिरहेको छ, जथाभावी पार्किङ गरिएका सवारीसाधनलाई कारबाही गरिन्छ।' हरेक दिन पार्किङ गरिएका सवारीसाधनलाई कारबाही गरिएको उनले बताए।

द‌ृष्ट्रिविहिनलाई सकस

अव्यवस्थित सवारी पार्किङले सडकपेटी भरिभराउ हुन्छ। हिँड्ने बाटो (ट्रयाक टाइल) मै सवारी पार्किङ गरिदिँदा द‌ृष्ट्रिविहिनहरू बढी मारमा पर्ने गरेका छन्।

राजधानीमा गीत गाएर जीवनयापन गर्दै आएका झापाका दृष्टि विहीन जेठा ममु सन्देश यसरी दुखेसो पोख्छन्, ‘उपत्यकाको सडकका फुटपाथ अपांगमैत्री नहुँदा बाहिर हिँड्डुल गर्न सकिन्न। लट्ठीको सहारा लिएर हिँड्नुपर्छ। कहिले त हिँड्दा-हिँड्दै लडिन्छ।’

 

सडक अपांगमैत्री नहुँदा फरक क्षमता भएकाहरूलाई समस्या हुने गरेको भन्दै तत्काल मर्मत गर्नुपर्ने माग उनको छ।

फरक क्षमताका मात्रै होइन उपत्यकाका सडक किनारामा अस्तव्यस्त गरी सवारीसाधन पार्किङ गर्नाले सपांग व्यक्तिले समेत समस्या भोग्न बाध्य छन्।

'महानगरपालिकाभित्र पार्किङ स्थल छैन'

नयाँ सडकका सविन महर्जनले अस्तव्यस्त सवारी पार्किङ गरिँदा हिँड्डुल गर्ने बाटो नै नहुने बताए। ‘यहाँ मात्रै होइन, जताततै सडकमा सवारीसाधन पार्किङ गरिएको छ। पाइला टेक्ने ठाउँ समेत हुँदैन। तर, पनि महानगरपालिका मौन बस्छ।’ अव्यवस्थित सवारी पार्किङ गरिएको स्थानतर्फ देखाउँदै उनले भने।

काठमाडौं महानगरपालिकाले उपत्यकाका खाली ठाउँ खोजेर पार्किङ गर्ने योजना सँधै कागजमा सीमित हुने गरेको पनि उनले सुनाए। उनले थपे, ‘महानगरपालिकाले दुई वर्ष अघिदेखी नै अव्यवस्थित पार्किङलाई छिट्टै व्यवस्थित बनाउने भन्ने सुनेको, खै! अहिले सम्म समस्या ज्यूँकात्यूँ छ।’

कारबाही र गुनासो मात्र समाधान होइन भन्ने कुरामा ध्यान दिएर उपत्यकाका सबै नगरपालिकाहरूले पार्किङको व्यवस्थापन नगर्ने हो भने राजधानी उपत्यका नै कुरुप र अव्यवस्थित शहरको नमुना बन्ने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.