|

पाल्पा : मेरूदण्डको गम्भीर बिरामी परेका तानसेन नगरपालिका ६ लामडाँडाका ५१ वर्षीय पोमबहादुर विश्वकर्मालाई थप सहयोग जुटेको छ। ‘उपचार गर्ने पैसा छैन, मालिकले घर छाड्न भने, परिवारकै विचल्ली शीर्षकमा थाहा खबरमा प्रकाशित भएको समाचार पढेर अमेरिकाबाट सहयोग प्राप्त भएको हो।

स्याङ्जाको कालिगण्डकी गाउँपालिका ४ बिर्घास्थित घरबारी भन्नेठाउँमा घर भई हाल अमेरिकाको टेनेसी बस्दै आएका मोहन पाण्डेयले नगद ३४ हजार सहयोग गरेका हुन्। उनले थाहा खबर पाल्पाका समाचारदाता मिलन विश्वकर्मामार्फत सो रकम पठाएका हुन्। सानो सहयोगले उहाँको जीवनमा राहत मिल्नेछ भनी आफूले सो रकम पठाएको पाण्डेले बताए।

पाण्डेले पठाएको सहयोग रकम तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीसहित दलित अगुवाको टोली बिहीबार घरमै पुगेर हस्तान्तरण गरिएको छ। अर्काको मुलुकमा पसिना बगाएर कमाएको पैसा सहयोगस्वरूप पठाउने मोहन पाण्डेलाई नगरप्रमुख शाहीले धन्यवाद दिए।

एउटा नेपालीको दुःखमा अर्को नेपालीले सहयोग गर्नुले समाजमा अझैपनि मानवीयता जिवित छ भन्ने पुष्टि भएको उनले बताए। घर बनाउनको लागि नगरपालिकाले आवश्यक जमिन उपलब्ध गराउने शाहीले आश्वासन दिए। आर्थिक अभावले जीवनमरणको दोसाँधमा रहेका पोमबहादुर र उनको परिवारलाई थप सहयोग गर्न उनले अपिल गरे।

दलित अधिकारका लागि साझा अभियान पाल्पाका पूर्व-अध्यक्ष तीर्थप्रसाद गौतमले पाण्डेले गरेको सहयोगले पीडित परिवारलाई ठूलो राहत मिल्ने बताए।

विगत २ वर्षदेखि विस्तारमा मुढाजस्तै पल्टिरहेका पोमबहादुरको दिशा पिसाबसमेत पाइपबाट गर्नु परेको छ। श्रीमती पूर्णकुमारीले उनको रेखदेख गर्दै आएकी छन्। मेलापातमा हिड्न समेत नपाएकी पूर्णकुमारीलाई बिरामी श्रीमानसहित ४ जना साना छोराछोरी पाल्न धौधौ भएको छ।

अर्काको जमिनमा सानो छाप्रो बनाएर बस्दै आएका उनको परिवारलाई जमिनका मालिकले घर छाडेर जान दबाब दिइरहेको पूर्णकुमारीले बताइन्।

छिमेकीको घरमा दाउराको लागि रूखका हाँगा काट्नेक्रममा उनी २ वर्षअघि लडेर घाइते भएका थिए। पोमबहादुरको ढाडको मेरूदण्ड भाँचिएको छ। अहिले ढाडबाट मुनिको भाग नै चल्दैन। अण्डकोष पनि काटेर फालिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.