|

जीवनदर्शन र जीवनशैली सिकाउने आफ्ना गुरू जीवनको अन्तिम क्षणमा आइपुग्न लागेको अनुभव भएपछि एउटा चेलाले नजिक गएर सोधेछ-'गुरू! अब हँजुर हामीलाई छोडेर शरीरबाट बिदा लिँदै हुनुहुन्छ, अन्तिम वाणीस्वरूप मलाई के उपदेश दिन चाहनुहुन्छ?'

सन्त मुस्कुराए र भने-'बाबु जीवनमा बिरालो नपाल्नु!'

चेलो आश्चर्यमा परेर भनेछ, 'यस्तो पनि सन्तको महावाणी हुन्छ? कतै मैले तपाईंको पछि लागेर आफ्नो जीवन बेक्कारमा त बिताइन? मलाई त दिक्क पो लाग्यो त!'

सन्तले प्रत्युत्तरमा भने-'मैले मेरो जीवनको अनुभूति बताइरहेको छु। मान्ने नमान्ने तिम्रो इच्छ!। मैले तिमीलाई किन नचाहिँदो सल्लाह दिउँला र? झन्नै बिरालो पालेर मैले मेरो जीवनको उद्देश्यलाई अस्तव्यस्त बनाउन पुगेको थिएँ, तर आफ्नै सुझबुझले म बचेँ।' 

उनले आफ्ना गुरूको महावाणी सम्झे-बिरालो नपाल्नु! बिरालो नपाल्नुको अर्थ थियो-जब जीवनमा तिमी अनेक कुरा ओगट्न खोज्छौ, तब अनेक परिस्थितिसँग तिमी थाहै नपाई बाँधिन पुग्छौ। जब अड्काउ आउँछ, स्वत: भड्काउ पनि आउँछ। मानिस किन स्वतन्त्र बाँच्ने योजना बनाउन सक्दैन?

चेलो टाउकोमा हात राखेर झोक्राउन थाल्यो। गुरूले देह त्यागे। अहिलेसम्मको जीवन गुरूको सामिप्यमा बित्यो, अब यो क्षणमा आएर विचलित हुनु भएन भन्ने सोचेर चेलो गुरूको कुटी नजिकैको एउटा छाप्रोमा ध्यानमा बस्यो। भिक्षास्वरूप प्राप्त अन्नअनाजले आफ्नो जीवन गुजारा गर्न थाल्यो। जीवनभर एक सन्त सन्यासीको साथ दिएका कारण गाउँका मानिसहरूले पनि उनलाई माया नै गर्दथे।

एकदिन आफ्नै छाप्रोमा बसिरहेका एक किसानले अलिकति चामल लिएर आए र दिँदै भने-'भिक्षु! कस्तो चलिरहेको छ हजुरको दिनचर्या? कुनै असहजता छ भने हामीलाई भन्नुहोला।'

भिक्षुले भने-'सबै ठीक छ। तर छाप्रोको वरिपरी मुसाको राज छ। कहिलेकतै प्वाल पारिदिएका छन्, कहिले भिक्षाटनबाट प्राप्त अन्न अनाज खाएर नास पारेका छन्, कहिले यता खुर्र त कहिले उता खुर्र! राति निदाउन मुश्किल नै हुन्छ कहिले त।'

किसानले भने, 'ओहो! मुसा लागेछन्‌ तपाईंको कुटीमा। म एउटा तरिका बताउँछु, त्यसो गर्नुभयो भने यो समस्याबाट मुक्ति पाउनु हुनेछ।'

'के हो किसान त्यस्तो तरिका?' भिक्षुले सोधे।

किसानले भ, 'अब तपाईंले बिरालो पाल्नुस्।'

'लौ, यो पनि कस्तो तरिका हो तिम्रो, मेरो गुरूले त अन्तिम समयमा मलाई बिरालो नपाल्नु भन्ने बचन दिएर जानुभएको छ।'

किसानले थपे, 'गुरूले कुनै अवस्थालाई ख्याल गरेर भन्नुभयो होला। तर बिरालो पाल्नु नै अनर्थ र अधर्म त होइन नि! मुसाले दु:ख दिइरहेको छ भने उपाय बिरालो पाल्ने नै हो।'

भोलिपल्टै ती किसानले गाउँबाट एउटा बिरालो ल्याएर राखिदिए।

केही दिनपछि एक बुद्धिजीवि त्यही बाटो भएर कतै जाँदै थिए, भिक्षुको हालखबर सोध्न भ्याइहाले।

भिक्षुले भने-'मुसाले सताएका थिए र एकजना किसानले बिरालो पाल्न सुझाए, खोइ यो बिरालोले मुसा मार्न त कता हो कता, मुसाको नजिक जान पनि डराउँछ।'

विद्वान हाँस्न थाले-'मुसा मार्ने बिरालो पनि गतिलो हुनुपर्‍यो नि भिक्षु जी! यति दुब्लो, पातलो छ कसरी यसले मुसालाई आक्रमण गरोस् त?'

भिक्षुले भने-'अब के गरेर यसलाई मोटो बनाउँ त म?' विद्वानले भने-'एउटा गाई पाल्नुस्। गाईको दूधले तपाईंलाई पनि पोषण मिल्छ, बिरालोले पनि खान्छ, अनि मोटाइहाल्छ नि!'

'अर्को लफडा लगाउनु भो फेरि तपाईंले, गाई कहाँबाट ल्याउनु मैले?' भिक्षुले आश्चर्य मान्दै भने।

'गाई ल्याउने जिम्मा मेरो भयो, गाउँमा यतिका गाई छन्। सबले तपाईंलाई आदर पनि गर्छन्। भिक्षुका लागि भनेपछि कसले गाई दिँदैन?' नभन्दै भोलिपल्ट ती विद्वानले गाई ल्याएर भिक्षुको छाप्राको एउटा कुनामा बाँधिदिए।

एक-दुई दिन गाई दुहेर भिक्षुले आफू पनि खाए, बिरालोलाई पनि खुवाए। ती विद्वान फेरि भिक्षुको हाल बुझ्न आए। भिक्षुले भने, 'यो गाईले दूध दिन मानेको छैन, के गर्नु अब?'

'गाईलाई घाँस खुवाउनुपर्‍यो। गाउँका सबै मानिस आफ्नै खेतिपातीमा व्यस्त छन्। कसले घाँस काटेर ल्याईदेला र खोइ?'

उनले यसो सम्झे-'गाउँमा एकजना विधवा छिन्। उनका सन्तान पनि छैनन्, एक्लै छिन्। उनलाई यही कुटीको एउटा कुनामा राख्नुस्, खाना पनि पकाउँछिन्, हजुरलाई पनि खुवाउँछिन्‌, गाईको स्याहार पनि गर्छिन्। यही नै उत्तम उपाय हुन्छ हजुर!' भिक्षु अलमलमा परे।

'ओहो! तिमीहरूले त मलाई एकपछि अर्को तरिका बताउँदै के गर्न लाग्यौ?' भिक्षुले सशंकित हुँदै सोधे।

विद्वानले भने, 'यसमा के आपत्ति छ र हजुर? सहज तरिका हो यो!'

भिक्षुले अब ती विधवालाई सँगै छाप्रोमा राख्न थाले।

चार वर्षमा विधवाले दुई सन्तान जन्माइन्। सनातन भएपछि अब भिक्षुको घरबार, व्यवहार, जिम्मेवारी सबै बढ्यो। भिक्षु ध्यानपछि एकछिन घाममा टोलाउँदै थिए। छोराछोरीलाई स्कूल पठाउने समय भयो भन्ने संवाद निस्कियो।

उनले आफ्ना गुरूको महावाणी सम्झे-'बिरालो नपाल्नु!'

बिरालो नपाल्नुको अर्थ थियो-'जब जीवनमा तिमी अनेक कुरा ओगट्न खोज्छौ, तब अनेक परिस्थितिसँग तिमी थाहै नपाई बाँधिन पुग्छौ। जब अड्काउ आउँछ, स्वत: भड्काउ पनि आउँछ। मानिस किन स्वतन्त्र बाँच्ने योजना बनाउन सक्दैन?'

भिक्षुले मात्र होइन आज प्रत्येक व्यक्तिले बिरालो पालेको छ। स्वतन्त्र भएर आफ्नो आत्मसम्मान र स्व-सत्तामा मात्र बाँच्न सक्दैन। देशको सत्ता, राजनीतिक सत्ता, खिचातानी, पद, प्रतिष्ठारूपी बिरालोले उसलाई नजानिँदो गरी बाँधेर राखेको छ।

राजनीतिक बिरालोलाई आफ्नो बनाउन कति दाउपेच, भागबण्डा, मिलाप, बिछोड, प्रशंसा, गालीके के हो के के! त्यसो त युनानी दार्शनिक अरस्तूले भनेका छन्-‘मानिस एक राजनीतिक प्राणी हो।राजनीतिक प्राणीको अर्थ हो मानिसमा अरू प्राणीमा भन्दा अलग स्वाभाविक क्षमता  , जसले राजनीतिको माध्यमबाट आफ्नो मात्र नभइ नागरिकको उत्तम जीवन आत्म सिद्धिमा मद्दत गर्नसक्छ

तर, हामीले हाम्रो देशको राजनीतिक इतिहास हेर्दा पनि आफ्नो महत्त्वाकांक्षा पूरा गर्न लाग्ने नेतृत्व सबै नै देख्यौँ। उत्तम विचार र कर्मका साथ राजनीतिक भूमिका निभाउने नेतृत्व हक मै मात्र पायौं। वर्तमानमा त्यहि राजनीतिक कटाक्ष भोगिरहेका छौं, यही कटाक्षबीच देशले कहिल्यै स्थिरता महसुस गर्न पाएको छैन। किनकी राजनीतिमा पनि भौतिक उत्थान, आत्मिक ज्ञान, नैतिक दृष्टिकोण र आध्यात्मिक चिन्तन इत्यादि आवश्यक छ।

धनको बिरालोले त्यसैगरी जोड, घटाउ, भ्रष्टाचार, नैतिकता, अनैतिकता अनेक परिस्थितिलाई आफ्नो काबुमा ल्याउन खोज्दाखोज्दै आर्जन गरेको धन उपयोग गर्न नभ्याउँदै इहलिला समाप्त हुने क्षण आउनसक्छ। प्रतिष्ठा होस् या सम्मान, व्यापाररूपी बिरालो होस् या अहंकारको, त्यसलाई स्याहारसुसार गर्ने परिपाटी मिलाउँदा मिलाउँदै जीवनको उद्देश्य के थियो? अन्तिम क्षण आइसकेको हुन्छ आत्म बोधको।

मानिस तपस्याबाट तातेका छैनन्, तपस्याको ऊर्जाबाट माथि उठेका छैनन बरू दु:खको तापले ग्रस्त छन्I समय बितेको होइन, बरू समयसँगै आफैं व्यतीत भैरहेका छन्I मानिसका तृष्णा जीर्ण (वृवृद्धद्द) भएका हुँदैनन्‌, बरू तृष्णा मै जीर्ण भएका हुन्छन्I

स्वतन्त्र भएर, जीवनलाई जे आवश्यक छ-त्यो मात्र काबुमा लिन प्रयास गर्नेले किन अनेक झमेला व्योहर्नुपर्छ र? मानिस धनको लागि नक्कली नोट निकालेर संसारलाई झुक्याउन समेत माहिर बनिसकेको छ। तर उसलाई थाहा छैन-त्यही धनको कारण ऊ आफैं नक्कली मानिसको रूपमा प्रस्तुत भइरहेको हुन्छ।

मानिसको सोचाई यही छ कि धन नै सबै कुराको समाधान हो, के कहिल्यै सोचेको छ समस्याको कारण नै धन हो कि? व्यक्ति धन आर्जन गरेको भरमा धनी बन्दैन, उसले त्यो धन कति पुण्य काममा प्रयोग गर्न सक्यो त्यो आधारमा धनवान कहलाउँछ।

पाब्लो पिकासोले धनीहरूप्रति व्यंग्य गर्दै भनेका छन्-‘मैले प्रशस्त धन साथमा लिएर बसेका गरिबहरू देखेको छु।‘ स्पाइक मिलिगनले भनेका छन्-‘भगवानले मलाई यस्तो मौका पनि दिएका छन् कि पैसाले म खुसी हुन सक्दिनँ भन्ने प्रमाणित गरिसकेको छु।‘

काम, क्रोध, लोभ, मोह, ईर्ष्या र द्वेषको बिरालो पालेर त्यसलाई स्याहारसुसार गर्न अपनाएका विधि र प्रक्रियाले जीवनको उत्तरार्द्धमा धेरैलाई पश्चातापमा लगेको पाइन्छ। अव्यवस्था, अवैधानिकता, अनाचार, अधर्म, अविवेक र अपेक्षा सबै यीनै रिपुहरूका साथ बाँच्नु र कर्म गर्नुका परिणाम हुन्। थोरै मात्र सजग र सचेत हुने हो भने भृतहरिले भनेझैं थोरै ज्ञान र विवेकको प्रयोग गर्न सकिन्छ।

भोगा न भुक्ता वयमेव भुक्ताः

तपो न तप्तं वयमेव तप्ताः।

कालो न यातो वयमेव याताः

तृष्णा न जीर्णा वयमेव जीर्णाः॥

मानिसले प्राप्त भौतिक साधनलाई भोग्न सकेको पनि छैनI बरू ती चिजले भोगले मानिसलाई भोगेका छन्, प्रयोग गरेका छन्I मानिस तपस्याबाट तातेका छैनन्, तपस्याको ऊर्जाबाट माथि उठेका छैनन, बरू दु:खको तापले ग्रस्त छन्I समय बितेको होइन बरू समयसँगै आफैँ व्यतित भैरहेका छन्I

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.