डडेल्धुरा : प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डडेल्धुराले प्रदर्शन गरेको छ।
नेकपाले प्रतिनिधिसभा विघटनको विरुद्धमा जिल्ला सदरमुकाम डडेल्धुरामामा शक्ति प्रदर्शन गरेको हो। तुफान डाँडाबाट सुरु भएको जुलुस बस पार्क बागबजार हुँदै भीमदत्त चोकमा पुगि कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई नेकपा केन्द्रीय सदस्य तथा डडेल्धुरा इञ्चार्ज निरा जैरु, प्रदेश कमिटी सदस्य डा.तारा जोशी, उमेशप्रसाद भट्ट (विकास), जिल्ला अध्यक्ष मानसिंह माल, परशुराम नगर कमिटि अध्यक्ष शेरसिंह माललगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
केन्द्रीय सदस्य जैरुले जनताले लोकतन्त्रको रक्षा गर्दै देशको विकास र समृद्धिका लागि दिएको भोट प्रधानमन्त्री ओलीले दूरुपयोग गरेको आरोप लगाइन्। उनले प्रतिनिधिसभालाई प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा असंवैधानिक तवरले प्रतिनिधिसभा विघटन गरेको बताइन्।
प्रदेश कमिटी सदस्य जोशीले ओली निरंकुश तानाशाह रहेको र उनले देशलाई भड्खालो हाल्न चाहेको बताए। उनले संसद् विघटन गर्नु संविधानविपरीत भएको बताए। उनले लोकतान्त्रिक प्रणालीविरुद्ध गरिएको प्रहारकाविरुद्ध सडकमा आफूहरु आएको बताए।
नेकपा जिल्ला अध्यक्ष मालले प्रधानमन्त्री केपी शर्मा ओलीको सिद्धान्त माक्सवाद, लेलिनवाद नभई बयलगाडा रहेको बताए। उनले ओली लोकतन्त्रवादी नभई निरंकुश तानाशाहवादी भएको आरोप समेत लगाए।
अध्यक्ष मालले प्रतिगमन नसच्चिँदासम्म सडक नछाड्ने र ओलीको कदमविरुद्ध निरन्तर आन्दोलन गरिराख्ने बताए। उनले डडेल्धुरा नेकपा एक ढिक्का भएर अघि बढ्नेसमेत उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।